
५ असोज, बाँके । कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् ।
कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् ।
बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट २० लाख रुपैयाँ ऋण निकालेर होमस्टेमा लगानी गरेका थिए । उनको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा उनको परिवार व्यस्त हुने गर्दथ्यो । त्यतिबेला उनलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो ।
आम्दानी भएपछि ऋण चुक्ता गर्न उनलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उनलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
उनले भने, ‘कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।’ गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताए ।
कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । यतिबेला जैसीको पाहुना घर खाली छ । यो समयमा उनी पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा पहिलेकै झैं कृषि पेशा अँगालेका छन् । यसै महिना उनले ३० वटा बाख्रा खरिद गरेर बाख्रापालन गर्न शुरु गरेका छन् । बाख्रासँगै भैंसी, कुखुरा पनि पाल्ने योजना रहेको उनी बताउँछन् । जैसीले भाडामा लिएको तीन बिघा जग्गामा गोलभेंडा खेती गर्न थालेका छन् ।
उनको नौ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । ‘पाहुनासँग डराउनु पर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै पर्यो’ उनले भने, ‘होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दैछु ।’
गाभर भ्याली होमस्टेका प्रायः सबैजसो सञ्चालकहरु अहिले कृषि र पशुपालनतिर मोडिएका छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे सात वर्षदेखि सञ्चालनमा छ । खासगरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । यहाँका १७ घर होमस्टेमा अहिले पाहुना आउँदा स्वागत त के डराएर कसैले राख्न खोज्दैनन् । ऋण गरेर लगानी गरेको व्यवसायमा यसरी एक्कासि घाटा खेप्नुपरेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।
होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी गरेका थिए । यसमा उनले सोचेभन्दा राम्रो आम्दानी पनि भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाएका थिए । वन डिभिजनमा करारको जागिर छोडेर उनले व्यवसायमा हात हालेका थिए । अहिले भने लगानी डुब्ने चिन्तामा छन् । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । रोकाया भन्छन्, ‘आम्दानी सुको छैन । बैंकको ऋण तिर्न र परिवार पाल्नका लागि अब तरकारी खेती गर्ने सोचमा छु ।’
राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँ गाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् । दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताइन् । ‘पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले कोरोनाको डरले होमस्टे सञ्चालन नभएपछि तरकारी बेचेर भए पनि घर खर्च चलाउन थालेकी छु ।’
प्रतिक्रिया 4