 
																			७ असोज, काठमाडौं । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएपछि रोकिएको नेपाल चीन रसुवागढी नाका बुधबारबाट सञ्चालनमा आएको छ ।
चिनियाँ पक्षले बुधबार एक कन्टेनर स्वास्थ्य सामाग्री मितेरी पुलसम्म ल्याइदिएका हुन् । रसुवा भन्सार कार्यालका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले भने, ‘विहान सवा नौ बजेतिर स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर मितेरी पुलमा ल्याएर उहाँहरुले सामान हस्तान्तरण गर्नुभयो ।’
बुधबार बिहान चिनियाँ पक्षले ल्याइदिएको कन्टेनरमा बालबालिकालाई लगाइने खोपको सिरिन्ज छन् ।
भोलि बिहीबारदेखि दैनिक ५ कन्टेनर सामान पठाउने जानकारी पनि चिनियाँ पक्षले नेपाली अधिकारीहरुलाई दिएको छ । ढलान गरिएको तर प्रयोग नभएको एउटा सडकमा चीनतर्फबाट आएका सामान खसाउन चिनियाँ पक्षको तयारी छ ।
एक साताभित्र रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आउने सरकारले बताएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले भनेका छन्, ‘निरन्तर कूटनीतिक सम्वादमार्फत यो समस्या समाधान गरेका छौं । एक हप्ताभित्र सबै सहज हुने गरी दुई देशबीच सहमति भएको छ ।’
अवरुद्ध नाका सञ्चालन गर्ने विषयमा के कस्तो समझदारी भएको हो भन्ने चाहिँ उनले खुलाएनन् ।
असार तेस्रो सातादेखि कोटा प्रणालीमा चीनबाट वस्तु आयात भइरहेपनि नेपाली श्रमिकमा कोरोना देखिएपछि भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने आयात चिनियाँ पक्षले रोकेको थियो ।
यस्तै हिमताल फुट्ने डरले असार २४ पछि तातोपानी नाका बन्द हुँदा मुख्य चाडपर्वको मुखैमा नपाली बजारमा लत्ता कपडाको अभाव देखिएको थियो । अब दुबै नाका सुचारु हुने बताइएको छ ।
नाका खोल्न सरकारले सबै प्रयास गरेको र सोही अनुसार व्यापार सहजीकरणका आधार बनेको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले बताए ।
पहिलो व्यापार वार्ताको एजेण्डा स्वीकृत
सरकारले नेपाल चीन पहिलो केन्द्रीय तहको व्यापार बैठकको एजेण्डा पनि स्वीकृत गरेको छ । सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकास तथा थप व्यापारिक नाका खोल्नेसहितको दर्जन विषय बैठकमा प्रस्तुत हुने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
असोज १३ गते बस्ने भर्चुअल वार्ताको नेतृत्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालले गर्नेछन् । परराष्ट्र, अर्थ, गृह, भौतिक, कृषि विकास मन्त्रालय तथा भन्सार र खाद्य विभागका अधिकारीहरु बैठकमा सहभागी हुने हुनेछन् ।
यसअघि तिब्बतसँग मात्रै व्यापार वार्ता हुने गरेकोमा वाणिज्य व्यापार मन्त्रालयको सह-सचिवस्तरीय वार्ता पहिलोपटक हुन लागेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको व्यापारिक सम्बन्धको समीक्षा, नाकाको पूर्वाधार तथा सहजीकरण, व्यापार तथा पारवहन सन्धि कार्यान्वयनको अवस्था र व्यापार वृद्धि बैठकको मुख्य एजेण्डा भएको बार्ता टोलीका संयोजक सहसचिव प्रकाश दाहालले अनलाइनखबरसँग बताए ।
‘नेपाल-चीन व्यापार अवस्था, व्यापारका अवरोध र सुविधा, विगतमा भएका सहमतिको कार्यान्वयन तथा आपसी सहयोग लगायतका विषय ऐजेण्डामा समेटिएका छन्,’ सहसचिव दाहालले भने ।
दुई देश बीचको ब्यापार बढाउन सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, थप व्यपारिक नाका सञ्चालनको सम्भाव्यता तथा नेपाली वस्तु निर्यातको सहजीकरण लगायतका विषय पनि बैठकका प्रमुख विषय भएको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4