+
+
Shares

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा

निगमको आम्दानी घट्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते २२:१७

८ असोज, काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ ।

हालसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गर्दै आएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको छ । हाल एयर इन्डिया र थाई एयरवेजबाहेक अरु एयरलाइन्सलाई यस्तो सुविधा छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अब हिमालय एयरलाइन्सले आफूलाई आवश्यक पर्ने उपकरण र जनशक्ति ल्याएर आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न सक्नेछ ।

अब आफ्ना विमान रोकिएपछि विमानबाट यात्रु ओराल्ने भर्‍याङ हाल्ने, बस लिएर जाने, यात्रुलाई टर्मिनलसम्म ल्याएर छोड्ने, उड्ने यात्रुलाई विमानसम्म पुर्‍याउने, विमानबाट ब्यागेज झार्ने, ब्यागेज बेल्टमा व्यवस्थापन गर्ने, टिकेटिङ गर्ने लगायतका काम हिमालय एयरलाइन्स आफैंले गर्नेछ ।

हप्तामा ३५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिन सकिने महानिर्देशक पोखरेलले बताए ।

कोरोना भाइरसको संक्रमण रोक्न अन्तर्राष्ट्रिय उडान बन्द गरेको बेला सरकारले नेपाल एयरलाइन्स र हिमालयलाई चार्टर उडान अनुमति दिएको थियो । गत साता चार्टरसहित ४२ वटासम्म उडान गरेको भन्दै हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स दिइएको हो ।

तर भोलि सामान्य अवस्थामा फर्किँदा पनि हिमालय एयरलाइन्सले सातामा ३५ वटासम्म उडान गर्छ भन्ने निश्चित छैन । हिमालय एयरलाइन्सले पाएको यस्तो लाइसेन्स अब हरेक वर्ष नवीकरण गर्न सक्ने महानिर्देशक पोखरेलले बताए ।

आफ्ना विमानको आफैं ह्यान्डलिङ गरेपछि ग्राउन्ड ह्यान्डलिङबापत तिर्नुपर्ने हिमालय एयरलाइन्सको खर्च जोगिनेछ भने भने नेपाल एयरलाइन्सको भने आय घट्नेछ ।

आर्थिक वर्ष २०७५/७६ मा ग्राउन्ड ह्यान्डलिङमार्फत निगमले ४ अर्ब ३८ करोड रुपैयाँ कमाएको थियो । बितेको आर्थिक वर्ष २०७६/७७मा कोभिड-१९को महामारीले चैतबाट नियमित उडान बन्द भएपछि ५ अर्ब १६ करोडको लक्ष्य भएपनि २ अर्ब ७८ करोड मात्रै आम्दानी गर्‍यो ।

यो वर्ष निगमले निगमले हिमालय एयरलाइन्सससहित २६ वटा विदेशी वायुसेवा कम्पनी, कार्गो र चार्टर उडानमा आउने विदेशी एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिएर ४ अर्ब ६ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । निगमलाई एक वर्षमा ग्राउन्ड ह्यान्डलिङबाट डेढदेखि २ खर्ब खुद नाफा हुने गरेको छ । जसले उडानबाट भएको घाटापूर्ति गर्न सघाउने गरेको छ ।

निगमका एक अधिकारी हिमालय एयरलाइन्सले सेल्फ ग्राउन्ड ह्याडलिङ थालेपछि आफ्नो आम्दानी खुम्चिने निश्चित भएको बताउँछन् । ‘यो वर्ष पर्यटकीय गतिविधि सुस्ताउँदा उडान कम हुन्छन्,’ उनले भने, ‘अब अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीहरुले सेल्फ ह्यान्डलिङ थाल्दा हाम्रो आम्दानी घट्छ ।’

हिमालय एयरलाइन्समा तिब्बतीयन कम्पनीसहित नेपालको यति ग्रुपको सेयर छ । यो कम्पनीलाई सरकारले स्वदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका रुपमा नेपाल एयरलाइन्सलाई जत्तिकै प्राथमिकता दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?