Comments Add Comment

प्रदेश ५ मा चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने

प्रदेश ५ बाट भारत आवतजावत हुने प्रमुख सुनौली नाका ।

९ असोज, बुटवल । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ सरकारले चाडपर्वको समयमा नेपाल र भारतबीच हुने छोटो अवधिको आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।

प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको वैठकले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै भारत आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको केन्द्रको वैठकले नेपाल र भारत बीचका तोकिएका सीमा नाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल प्रवेशको व्यवस्था गर्ने निर्णय गरेको छ ।

भारतबाट आफ्नो घर जानका लागि आउने नेपाली र भारत जाने भारतीयलाई भने रोकावट हुने छैन  । भारतमा तीब्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणका कारण चाडबाडको समयमा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीहरुलाई रोक्नका लागि कोरोना संकट व्यवस्थापन केन्द्रले यस्तो निर्णय गरेको हो ।

लक्षण देखिएका र स्वास्थ्य समस्या भएका कोरोना संक्रमित बढेपछि उनीहरुको उपचारका लागि बुटवल र दाङमा अक्सिजन थेरापी तत्काल शुरु गर्ने निर्णय पनि वैठकले गरेको छ ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा २० वटा र दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा १७ वटा एचडीयू ( हाई डेफिसेन्सी युनिट) तत्काल शुरु गर्ने निर्णय भएको हो ।

ती अस्पतालमा हालको पूर्वाधार संक्रमितको उपचार गर्न अपुग र अपर्याप्त रहेकाले पहिलो चरणमा दुई वटा कोरोना अस्पतालबाट अक्सिजन थेरापी सुरु गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

एचडीयू सेवा विस्तार गर्नका लागि मन्त्रिपरिषद वैठकले भदौमै निर्णय गरेको थियो । सरकारले बुटवल र दाङसहित भीम अस्पताल भैरहवामा १३ वटा र भेरी अस्पताल बाँकेमा ३० वटा एचडीयू बेड राख्ने निर्णय गरेको थियो ।

कोरोना कोषलाई १० करोड

प्रदेश ५ सरकारले कोरोना नियन्त्रण तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गरेको छ । वैठकले लक्षण देखिएका शंकास्पद बिरामीको पीसीआर परीक्षणको व्यवस्था मिलाउन र जिल्ला–जिल्लामा पीसीआर परीक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वास्थ्य संस्था परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रयोगशाबाट छिटो रिपोर्ट दिने व्यवस्था गर्ने, सार्वजनिक स्थल र यातायातमा मास्क प्रयोग अनिवार्य गर्ने, संक्रमण उच्च हुने सम्भावना देखिए जुन क्षेत्रमा बढी प्रभाव देखिन्छ त्यहाँमात्र निश्चित समय सिल गर्ने निर्णय पनि गरेको छ ।

विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुलाई क्रमशः स्थानान्तरण गर्ने, आवश्यकता अनुसार शैक्षिक संस्था मर्जरको नीति लिएर संक्रमण कम भएको जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय पनि वैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment