+
+

प्रतिबन्धित पुस्तक सप्ताह : नेपालमा पुस्तकमाथि प्रहार

किशोर पौडेल किशोर पौडेल
२०७७ असोज ११ गते १८:३८

पुस्तकलाई विकसित देशमा ‘ज्ञानको महासागर’को रुपमा चिनाइएको पाइन्छ । व्यक्ति, समाज र राष्ट्र अनुसार पुस्तक, अक्षर र पुस्तकालयलाई चिन्ने धेरै आधार हुन सक्छन् । नेपाली समाजमा केही पहिलासम्म ‘काला अक्षर भैंसी बराबर’ भनेर भनिन्थ्यो । जसले दोहोरो अर्थ जनाउँछ एक अक्षरसँगको परिचय नहुनु र दोस्रो स्कुल जाने उमेरमा गाई, भैंसीको स्याहारसुसार गर्नुपर्नाले परिचय गर्ने फुर्सद नहुनु । तर, अक्षरसँग परिचित केहीले पुस्तकलाई सरस्वतिको प्रसादका रुपमा र पुस्तकालय वा विद्यालयलाई मन्दिरको रुपमा बुझेको पाइन्छ भने निरंकुश शासक वर्गले वर्गदुश्मन र आफनो सत्ताको यमराजका रुपमा ।

नेपालमा पुस्तक तथा पुस्तकालयको इतिहास धेरै लामो भएको पाइँदैन । पृथ्वीनारायण शाहले एकीकरण गर्दा विजय प्राप्त गरेका राज्यबाट हस्तलिखित पाण्डुलिपि संकलन गरी वसन्तपुरको हनुमानढोका दरबारमा राखेपछि बल्ल नेपालमा पुस्तकालयको अवधारणा आएको देखिन्छ भने गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा ‘पुस्तक चिताई तहबिल’ मा लालमोहर प्रदान गरी पहिलो औपचारिक पुस्तकालयको स्थापना गराएको देखिन्छ ।

त्यस्तै १९५८ मा जयपृथ्वीबहादुर सिंहद्धारा लेखिएको ‘अक्षराङ्क शिक्षा’ नामक पुस्तकलाई नेपालकै पशुपत छापाखानामा छपाएर प्रकाशित भएको नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।

इतिहास सधैं जित्नेको मात्र लेखिन्छ । पुस्तकसँग सम्बन्धित भई घटेका घटनाले नेपाली समाज र साहित्यले कति ऐतिहासिक दस्तावेजको क्षति व्यहोर्नु पर्‍यो र कति सिजर्नशील दिमागमा बिर्को लगाउनुपर्‍यो भनेर लेखाजोखा नै गरेको पाइँदैन या भनौं हारेकाको इतिहास लेखिएको पाइँदैन ।

लेखकलाई जेल

वि.सं. १९७७ (सन् १९२०) मा सुब्बा कृष्णलाल अधिकारी (१९४४-१९८०) ले ‘मकैको खेती’ नामक पुस्तक प्रकाशन गरेका थिए । केही व्यक्तिले चन्द्रसमशेरलाई पोल लगाएपछि राजद्रोहको आरोपमा अधिकारीलाई पक्राउ गरी पुस्तकसमेत जफत गरियो । एक हजार प्रति छापिएको उक्त पुस्तकको ९९९ प्रति जफत हुँदा १ प्रतिको भने पत्ता लाग्न सकेन ।

पुस्तक प्रकाशन गरेबापत ६ वर्ष र १ प्रति पुस्तक लुकाएको आरोपमा थप ३ वर्ष गरी उनलाई जम्मा नौ वर्षको जेल सजाय तोकियो । र्दुभाग्यवस केहि समयअगाडि मात्र श्रीमती गुमाएका उनले ३६ वर्षको युवास्थामा जेलमै मृत्युवरण गर्नुपर्‍यो । राणा शासनलाई किन निरंकुश शासन भनिन्छ भनेर प्रमाणित गर्ने यस घटनालाई ‘मकै पर्व’को रुपमा चिनिन्छ भने लेखक कृष्णलाल अधिकारीलाई ‘प्रथम साहित्यिक सहिद’का रुपमा चिनिने गरिन्छ ।

पुस्तकालयमाथि प्रतिबन्ध

सार्वजनिक पुस्तकालयको रुपमा पाल्पामा १९८३ मा ‘पुस्तक पढ्ने दलान’ को स्थापना भएको थियो । शिक्षाविद गोपिनाथ शर्माका अनुसार ‘पुस्तकालयको वाषिर्कोत्सवमा भाषण गरेबापत् सञ्चालकलाई कारबाही गरी पुस्तक पढ्ने दलान तुरुन्त बन्द गर्न भनी भीमसमशेरले आदेश पठाएका थिए ।’ २००२ साल पछितिरबाट यो धवल पुस्तकालयको रुपमा पुन: सञ्चालनमा रहेको छ ।

‘लाइब्रेरी पर्व’को रुपमा चिनिने वि.सं. १९८६ -सन् १९३०) को घटनामा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ लगायतका ४५/४६ युवाले ‘सरस्वती सदन -गुठी)’ नामक पुस्तकालयको स्थापना गर्ने योजना बनाएकोमा उनीहरू मध्येकै एक रामचन्द्र अधिकारीले भीमसमशेरकोमा पोल लगाएपश्चात अधिकारीबाहेक अन्यलाई प्रतिव्यक्ति रु १०० का दरले जरिवाना गराई १२ वर्षसम्म जनहित कुनै काम नगर्ने कागज गराई छाडियो ।

त्यस्तै, सर्लाहीको मलंगवामा वि.सं. २००४ (सन् १९४७) मा स्थापित ‘मनोहर मोहन पुस्तकालय’ लाई वि.सं. २००६ -सन् १९४९) मा बन्द गराई पुस्तकालयका अध्यक्ष डा. सत्य ब. जोशीलाई पुस्तकालय गतिविधि गरेको आरोपमा १४ दिन हिरासतमा राखी सम्पूर्ण पुस्तकादी सामग्रीहरूको जफत गरियो ।

राणाशासनको अन्त्य भई प्रजातन्त्रको प्राप्तिपश्चात पनि पुस्तकालय माथिका प्रहार भने रोकिएनन् । लोकरञ्जन पराजुली लेख्छन्, ‘वि.स. २००७ सालमा पोखराका स्थानीय सक्रिय युवाहरूद्वारा स्थापना गरिएको आदर्श पुस्तकालयलाई २०१७ सालको राजनीतिक परिवर्तन पश्चात तत्कालीन बडाहाकिम तेजबहादुर प्रसाईंले सो पुस्तकालय बन्द गर्न आदेश दिएछन् ।’

काभ्रेको अमरकोटमा साहित्यकार कृष्णप्रसाद पराजुली लगायतले २०१३ सालमा स्थापना गरेको जागृति पुस्तकालय २०१७ सालमा सरकारी दर्ता पाई २०१८ सालदेखि आर्थिक सहायता पाउने चरणमा पुग्दापुग्दै २०१७ सालको राजनीतिक परिवर्तनको शिकार भएको पाइन्छ । त्यस्तै, पूर्णप्रसाद अधिकारीलाई उल्लेख गर्दै पराजुली थप्छन्, ‘वि.सं. २०१६ सालमा चितवनको नारायणगढ बजारमा नारायणी पुस्तकालय स्थापना गरिएको थियो त्यसका संचालक नेपाली कांग्रेससम्बद्ध भएको भनी २०२६ सालतिर पञ्चायतीबाट आक्रमण गरी पुस्तकालय तोडफोड गरिनुका साथै पुस्तकहरूलाई नारायणी नदीमा बगाइदिए ।’

यसरी स्थापना भएका र स्थापनाको तरखरमा रहेका पुस्तकालयलाई प्रतिबन्ध लगाइनुले शासकको पुस्तकप्रतिको धारणा संकुचित रहेको प्रष्ट देखिन्छ ।

पुस्तकमाथि प्रतिबन्ध

नछापिएरै प्रसिद्ध उपन्यास ‘वीर चरित्र’ शिर्षकमा कमलमणि दीक्षित लेख्छन्, ‘तत्कालिन राजवैद्य गिरिशवल्लभ जोशीद्धारा लेखिएको वीर चरित्र नामक धारबाहिक उपन्यास वि.सं. १९६० मा पहिलो भाग छापिएपछि अघोषित रुपमा रोक लगाएका कारण बाँकी भाग छापिन सकेन । पाँचौं भागसम्म लेखिँदै गरेको वीर चरित्र त्यसपछि लेखिन पनि रोकियो तर यो अमुदि्रत रुपमा पाठककोमा पुगी लोकपि्रय हुन पुगेकोले उनले आफ्ना लेखनदासहरूबाट दशौंप्रतिसम्म बनाउनु परेको थियो ।’

२०२२ सालमा बल्ल यसका पुरै भाग पहिलो पटक जगदम्बा प्रकाशनले प्रकाशन गरेको थियो । त्यस्तै प्रजु पन्त लेख्छिन्, ‘प्रजातन्त्र आएपछि पनि वि.सं. २०१२ सालमा पोखराका मुक्तिनाथ तिमिल्सिनाले लेखेको ‘को अछुत’ नामक पुस्तकमा प्रतिबन्ध लागेको थियो ।’

प्राकृतिक तथा राजनीतिक प्रहार

वि.सं. १८९७ को आषाढ १० मा माथवर सिंहको हत्याकाण्डको समयमा मुख्तियार पण्डितराज रंगनाथ पौड्यालको इन्द्रचोकको घरमा आगलागी हुँदा उनको ‘वैभवशाली पुस्तकालय’को नाश भयो । शिक्षाविद शर्माका अनुसार ‘अमूल्य ग्रन्थ नाशिने क्रम यस पुस्तकालयको नाशबाट सुरु हुन्छ भने पनि हुन्छ ।’ आगलागी प्राकृतिक विपत्ति भएपनि यो राजनीतिक प्रयोजनको लागि जानिजानि गरिएको आगलागी थियो जसबाट ऐतिहासिक तथा धार्मिक महत्त्वका अमूल्य पुस्तकहरूको नाश भएको थियो ।

२०७२ को महाभूकम्पलेे नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी स्मृती पुस्तकालय, त्रिवि पुस्तकालयलगायत अन्य पुस्तकालयमा क्षति पुर्‍याई त्यहाँ रहेको पुस्तकादी सामग्रीहरूको नासले नेपाली इतिहासमै सबैभन्दा ठुलो क्षति व्यहोर्नु परेको छ । पुल्चोक हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयमा भुकम्पले क्षति पुर्‍याए पश्चात त्यहाँका सामग्रीहरूलाई ५ हजार वटा बोराहरूमा कोचेर सानो गौचरस्थित महेन्द्र भवन स्कुलका दुईवटा कोठामा थन्क्याइएको छ ।

व्यवस्थापीय कमजोरी

सन् १८३३ देखि १८४३ सम्म नेपालमा इस्ट इन्डिया कम्पनीको रेसिडेन्ट भएर बसेका सर ब्रायन हगटन हड्ग्सोले धेरै मूल्यवान ग्रन्थहरू बेलायत पुर्‍याएको र सन् १९२१ (वि.सं. १९७८) तिर नेपाल आएका फ्रान्सेलीविद्धान सिल्भा लेभीले हस्तलिखित पुरातात्विक महत्वका ग्रन्थहरू लगेको बुढापाकाहरूले सुनाएका थिए भनेर शिक्षाविद शर्माले उल्लेख गर्नुभएको छ ।

त्यस्तै पुरुषोत्तम शमशेर जबराका अनुसार ‘जंगबहादुर राणा सन् १९१७ मा पुस्तकखाना हेर्न जाँदा त्यहाँका हाकिमले पुस्तकखानाबाट विदेशीहरूले दुर्लभ ३६ वटा पुस्तकहरू हेर्न भनी लगेर फिर्ता नगरेको भनी सूची पेश गरेको राणाले लेखेको पाइन्छ ।’ जंगबहादुर जस्ता निडर व्यक्तिले समेत ती पुस्तकहरू फिर्ता माग्न नसकेको हुँदा उनको हंुकार पनि निमुखा जनतामाथि मात्र रहेको देखिन्छ ।

स्थायी संरचना (पुस्तकालय) को अभाव

पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा विभिन्न राज्यबाट ल्याएर हनुमानढोका दरबारमा राखेका सामग्रीलाई जंगबहादुरले थापाथली स्कुलमा स्थानान्तरण गरे भने वीरसमशेरले थापाथली स्कुलबाट दरबार स्कुलमा स्थानान्तरण गरे । स्थानान्तरणको क्रममा पुस्तक नाश भएको देखेर पुस्तप्रेमीको माग अनुसार वीर लाइब्रेरीको स्थापना गरी सम्पूर्ण सामग्री त्यहाँ संग्रह गरियो । यसरी स्थायी संरचनाको अभावमा पटक-पटक स्थानान्तरण गर्दा कति महत्त्वपूर्ण सामग्रीको नष्ट भयो भन्ने तथ्यांक कहीँकतै भेटिदैन । वर्तमानमा समेत नेपाल राष्ट्रिय पुस्तकालयको आˆनै स्थायी भवन नुहँदा करिब डेढलाख पुस्तकलाई बोरामा थन्काएर राख्नुपरेको छ ।

‘शंका लागेमा/द्विविधा भएमा पुस्तकालय जानु’ भन्ने जेके रोलिङको भनाइ सम्झेर पुस्तकालय जाने हो भने सोचेर गएको कुरा पनि बिर्सिने अवस्थामा छन् अहिलेका पुस्तकालय । दराजमा सजाउनुपर्ने पुस्तकलाई बोरामा कोचेर राखिएको छ । भवनहरू जीर्ण हुनाले धुलाम्मे रुपमा पुस्तक संग्रह गर्नु परेको छ । घरमै बसीबसी पुस्तक मगाएर पढेर फिर्ता गर्न मिल्ने आधुनिक समयमा पुस्तकालयमा पुग्दासमेत बसेर अध्ययन गर्ने स्थानको अभाव छ । सही व्यवस्थापन नुहँदा खोजेका पुस्तक समयमा नभेटिने समस्याका साथै ठूलाठूला राजनीतिज्ञदेखि सर्वसाधारणले समेत पुस्तक लगेर फिर्ता नगर्ने सम्मको चलन विद्यमान छ । समग्रमा भन्ने हो भने विकसित देशको तुलनामा नेपालमा पुस्तकालय संस्कारको नै अभाव छ ।

पुस्तकमाथिका प्रहार नेपालमा मात्र सीमित छैन । तर, विदेशको उदाहरण लिँदा उनिहरूको जत्तिको विकास पनि त गर्न सकिएको छैन ! सन् १९३० मा जर्मनका तानाशाह हिटलरले नाजिवाद विरुद्धका पुस्तक जलाएका थिए । सन् १९८१ मा श्रीलंकाको जाफ्ना सार्वजनिक पुस्तकालय सिंहाली आक्रमणकारीहरूले र १९८४ मा भारतको सिख सन्दर्भ पुस्तकालय अपरेसन ब्लुस्टारको नाममा भारतीय आर्मीले ध्वस्त बनाएका थिए ।

तसलिमा नसरिनले पुस्तक लेखेकै बापत भोग्नु परेको पीडाका बारेमा हामी धेरथोर जानकार नै छौं । मित्रराष्ट्र चीनमा सन् २००५ मा ‘वाइल्ड पिजन’ का लेखक नुरमुहेमेट यासिनलाई दश वर्षको कैद र सोको प्रकाशकलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो भने इजिप्टका अहमेद नाजिलाई ‘युजिङ लाइफ’ पुस्तक लेखेबापत् सन् २०१६ मा दश महिना कैद गरिएको थियो ।

यस्तै परिघटनाका कारणले होला अमेरिकामा सन् १९८२ देखि पढ्न पाउने स्वतन्त्रताको लागि भनेर वार्षिकरुपमा प्रतिबन्धित पुस्तक सप्ताह मनाउँदै आइएको पाइन्छ । यस वर्ष सेप्टेम्बर २७ देखि अक्टुबर ३ सम्म ‘Dd ‘Censorship is dead end, find your freedom to read’ को नारा सहित मनाइँदैछ । यसले महाशक्ति राष्ट्रमा समेत पुस्तकालयहरू र स्कुलहरूमा पुस्तकहरू सेन्सर गर्ने वर्तमान र ऐतिहासिक प्रयासहरूलाई प्रष्ट पार्छ । अमेरिकन पुस्तकालय संघ, एमनेष्टि इन्टरनेसनल लगायत दर्जन संस्थाको सक्रिय सहभागितामा आयोजित यस सप्ताहले सम्पूर्ण पुस्तकप्रेमी, प्रकाशक, विक्रेता, शिक्षक, विद्यार्थी, पत्रकार र पाठकहरूलाई विचारको खोजी गर्ने र स्वतन्त्रताको अभिव्यक्त गर्ने साझा समर्थनमा एकजुट बनाएको पाइन्छ ।

नबदलिएको सोच

पटक-पटकका प्रहारमार्फत हुने क्षति कुनै एउटा व्यक्तिको मात्र क्षति होइन । यो समग्र राष्ट्रको क्षति हो जसको हिसाब भोलिका पुस्ताले समेत व्यहोर्नु पर्ने हुन्छ । पुस्तक लेख्न नदिइनु, लेखेका पुस्तलाई संरक्षणको सट्टा क्षति गरिनुले फगत पुस्तक अथवा कागजको मात्र नास हुने होइन यो एउटा सामाजिक, साँस्कृतिक तथा ऐतिहासिक दस्तावेजको नास हो । भोलिका पुस्ताले इतिहासबाट सिक्नको लागि लगाइएको बन्देज हो । ‘बन्देज डरको बच्चा र अज्ञानताको बाबु हो’ भन्ने अमेरिकन लेखिका एन्डरसनका बिचारले तानाशाही शासक र प्रजातान्त्रिक शासक दुबैको धारणा बोल्दछ । तानाशाही शासक जनता सचेत भए सत्ताच्युत हुनुपर्छ कि -?) भन्ने डरले पुस्तक माथि प्रहार गर्थे भने प्रजातान्त्रिक शासकले ज्ञानको कमिले पुस्तक माथिका प्रहार जारि राखेका छन् ।

विभिन्न कालखण्डमा घटेका विभिन्न घटनाले के कति पुस्तकादि सामग्री तथा दस्तावेजको बिलय भयो भन्ने लेखाजोखा नै छैन । जुन अहिले पनि निरन्तर छ । फरक छ त केवल प्रकृतिमा वा शब्दमा । राणाकालमा पुस्तक लेख्न, प्रकाशन गर्न र पुस्तकालय खोल्न नदिएर जनतालाई अन्धकारमा राखिन्थ्यो भने वर्तमानमा संरचना (राष्ट्रिय पुस्तकालय निर्माण स्थगित), संरक्षण -दराजमा सजाउनु पर्ने पुस्तकलाई बोरामा कोचेर राखेर) र सोचमा (पुस्तकमा कर) संर्किणताका कारण जनतालाई अन्धकारमा राखिँदैछ ।

अन्त्यमा

नालापानीमा लडेका भक्ति थापाहरूका खुकुरी बोकेका चित्र भएका पुस्तक भएतापनि आफ्नो जन्मदाता (लेखक) माथि प्रहार हुँदा उही शैलीमा पुस्तकका पानाबाट बाहिर निस्केर सफाया गर्न सकेका पनि छैनन् । आगोले पोलेर जल्दा वा क्षति हुँदा, आफ्नो वासस्थान (पुस्तकालय) माथि धावा बोलिदा त्यत्रा मोटा र बाक्ला पुस्तकले प्रतिवाद गर्न सकेका पनि त छैनन्, विदेशीका साथमा गएका र उच्च पदस्थको घरमा पुगेका त मख्ख होलान् राम्रो र सफा दराजमा बस्न पाएर तर ५ हजार बोरामा थन्किएर बसेका पुस्तकले न जुलुस निकालेका छन्, न ऐया ! आत्था ! भनेका छन्, न माग राखेका छन्, न नेपाल बन्दको घोषणा गरेका छन् । त्यसैले ती केही गर्न नसक्ने पानीमरुवाले बोराभित्रै कुहीएर, सडेर, निस्सासिएर, धमिलिएर हार्नै/मर्नै पर्छ । हारेनन् भने हामी सबै मिलि चौतर्फी प्रहार गरी हराउनै पर्छ, नत्र हामी चेतनशील र शक्तिशाली भएको कसरी प्रमाणित हुन्छ !

लेखकको बारेमा
किशोर पौडेल

डेढ दशकदेखि प्रकाशन क्षेत्रमा आबद्ध लेखक त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?