Comments Add Comment

नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली पठाउन दलहरूको आग्रह

११ असोज, सुर्खेत । हुम्लाका राजनीतिक दलहरूले नेपाल–चीन सीमा क्षेत्रमा विज्ञ टोली पठाउन संघीय सरकारसँग आग्रह गरेका छन् । शनिबार बसेको सर्वपक्षीय बैठकले प्राविधिक सहितको विज्ञ टोली हुम्ला पठाएर लाप्चा क्षेत्रमा देखिएको सीमा विवादलाई समाधान गर्न आग्रह गरेको कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए ।

संघीय सांसद छक्कबहादुर लामा नाम्खाका स्थानीय नागरिकले गरेको प्रयोगका आधारमा उक्त भूमि नेपाली क्षेत्रमै हुने भएपनि नक्साका आधारमा चीनको देखिएको बताउँछन् । उनी विज्ञ टोली खटाएर सीमा यकिन गर्नुपर्नेमा जोड दिन्छन् ।

गत बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको हल्ला निराधार रहेको बताएका थिए ।

पछिल्लो समय चीनले नाम्खा गाउँपालिका–६, ललुङजोङ क्षेत्रमा नौ वटा भवन निर्माण गरेको विषयमा चर्चामा आएपछि उक्त क्षेत्र कहाँ पर्छ भन्नेबारे विज्ञ टोलीले अध्ययन गर्नुपर्ने उनको भनाइ छ । सीमा विवादका विषयमा बाहिर आएका कुरालाई वैज्ञानिक ढंगले यकिन गर्न आवश्यक देखिन्छ,’ नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी भने, ‘सरकारले आफनो प्रष्ट धारण राखेपनि सीमा क्षेत्रका नागरिकहरू अझै प्रष्ट हुन सकेका छैन्न ।’

संघीय सरकारले विज्ञ टोली पठाएर सधैंका लागि समस्या समाधान गर्नुपर्ने नेता भण्डारीको भनाइ छ । ललुङजोङमा भवन बनाएको स्थान १२ नम्बर सीमा स्तम्भ नजिक रहेकोले उक्त कुरा स्पष्ट गर्न सीमा हेर्ने विज्ञ टोली पठाएर विवादलाई दिर्घकालीन समधान गर्नुपर्ने बैठकको निश्कर्ष छ ।

‘२०६६ सालमा हाल चीनले भवन बनाएको क्षेत्रभन्दा डेढ किलो मिटर परबाट नेपाली पक्षले सडक निर्माण गर्दा चिनियाँ पक्षे मौन थियो,’ नेता शाहीले भने, ‘उतिबेला चिनियाँ पक्षले नै नक्सा हेरेर त्यहाँसम्म सड्क खन्ने सहमति दिएको थियो ।’

भोगचलनको आधारमा लोलुङजोङमा चीनले भवन निर्माण गरेको भू–भाग नेपालकै जस्तो देखिने र स्थानीयले पनि नेपालको भन्दै आएको नेता शाहीले बताए ।

२०५८ सालदेखि साविक लिमी गाविसले आफ्नो गाउँ आफै बनाउँ कार्यक्रमको एक लाख रकम खर्च गरेर लोलुङजोङभन्दा साढे २ किलोमिटर उत्तरबाट बाटो निर्माण गरेको जिल्ला विकास समिति पूर्व सभापति बीरजङ्ग शाहीले बताए ।

‘नेपाली भूभाग नभएको भए चीनले त्यसरी सड्क खन्न दिने त थिएन’ शाही भन्छन् ।

सिमाना विवादा आएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष, नाम्खा गाउँपालिका र जिल्ला समन्वय समिति हुम्लामार्फत जिल्लाकै तर्फबाट सरकारलाई आधिकारीक रुपमा विज्ञ टोली पठाउन आग्रह गर्ने निर्णय गरेको हो ।

बोल्दैनन् सीमा क्षेत्रबाट फर्किएका प्रजिअ

नेपाली भूमि लाप्चामा चीनले भवन बनाएको विषयमा स्थलगत अनुगमन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली गत बिहीबार सदरमुकाम सिमकोट फर्किएको छ । तर स्थलगत अनुगमनबाट फर्किएका गिरी गृह मन्त्रालयको आदेश भन्दै मौन बसेका छन ।

उनीसँग जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायत सरोकारवालहरूले स्थलगत अवस्था बारे पटक–पटक बुझ्ने गरेपनि उनले कुनैपनि जवाफ दिएका छैनन् ।

प्रजिअ गिरीले स्थलगत अवस्थाबारे जिल्लामा कुनै जानकारी नदिएपछि जिल्लाका राजनीतिक दल र अगुवाहरु आफैंले सर्वपक्षीय बैठक गर्नु परेको नेता शाहीले बताए ।

प्रजिअ गिरीले स्थलगत अनुगमनबारे तयार पारिएको प्रतिवेदन मन्त्रालयमा पेश गरेपनि स्थानीय जनतालाई समेत त्यहाँको अवस्थाबारे जानकारी दिनुपर्ने स्थानीय बताउँछन ।

उक्त टोलीले अनुगमन प्रतिवेदन नबुझाउँदै सरकारले भने हुम्लामा चीनबाट नेपाली भूभाग अतिक्रमण नभएको बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment