Comments Add Comment

अल्सरको पीडा 

धेरै नेपाली पेट सम्बन्धित रोगबाट पीडित छन् । ग्याष्ट्रिक, कब्जियतदेखि पेटको अल्सरसम्मले पिरोलेको छ । यसको एउटै कारण हो, हाम्रो खानपान र जीवनशैली ।

ग्याष्ट्रिकबाट नै पेटको अल्सर हुने चिकित्सकहरु बताउने गर्छन् । पेटको अल्सरलाई चिकित्सकिय भाषामा पेप्टिक अल्सर भनिन्छ । जब हाम्रो पेटलाई खाना पाचन गराउने एसिडबाट बचाउने बाक्लो पत्र म्युकस पातलो हुन्छ त्यसपछि अल्सरको संक्रमण हुन्छ । पाचन गराउने एसिडले आन्द्रामा घाउँ बनाउँछ जसलाई अल्सर भनिन्छ ।

अल्सरका लक्षण

सुरुवाती चरणमा अल्सर पत्ता लगाउन थोरै मुस्किल हुनसक्छ । यद्यपि यस्तो लक्षण देखिएमा सचेत हुन जरुरी छ ।

–बारम्बार डकार आउने

–पेटमा जलन पैदा हुनु

–पेटमा घाउ भएको महसुस हुनु

–पेट फुल्नु, सुन्निनु

–छाती पोल्नु, ग्यास्ट्रिकको समस्या

–शरीरको माथिल्लो भाग दुख्नु वा पोल्नु

–तातो खानेकुरा खाएपछि असहज महसुुस हुनु

–मलमा रगत देखिनु वा मलको रङ्ग गाढा हुनु

–रगत बान्ता हुनु, खोकीमा रगत देखिनु

–वजन कम हुनु

–खान मन नलाग्नु

अल्सरका प्रकार 

अल्सर तीन प्रकारका हुन्छन् ।

–पेटमा हुने ग्यास्ट्रिक अल्सर

–भोजन नलीमा हुने एसोफेगस अल्सर

–सानो आन्द्रामा हुने डूआडनल अल्सर

उपचार

पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ । यस बाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ ।

सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मदत मिल्छ । बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन ग्रिन टि, बेसार मिसाएको दुध आदि खानु उपयुक्त हुन्छ ।

हेलियोब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको कारण भएको पेटको फोरालाई ठिक गर्नको लागि यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन् ।

यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नको लागि सक्रिय बनाउँछ । यसको मद्धतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ ।

केही सोधबाट ओलिभ आयल पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ ।

अल्सरको उपचार

जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर उछालिएर आउने समस्या हुन्छ । उनीहरुलाई अमिला खानेकुरा खान र पिउनबाट निषेध गर्नुपर्छ ।

खासगरि कफी, चकलेट, पिरो र मसालादार खाना, मदिरा, टमाटर र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन । त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम अन्तर राख्ने गर्न हुँदैन ।

हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन भने यो खतरनाक हुन्छ । अवस्था बिग्रँदै गएर पछि पेटको क्यान्सर समेत हुन सक्छ

अल्सरको जोखिमबाट बच्न

अल्सर भएर उपचार गराउनुभन्दा अल्सर हुनै नदिनु उचित हो । यसका लागि सबैभन्दा पहिले त हामीले खानपानमै ध्यान दिनुपर्छ । जथाभावी खाने प्रवृत्ति त्याग्नुपर्छ । तारेको, भुटेको, मसलेदार वा सजिलै नपच्ने खालका खानेकुराहरु, धेरै अमिलो, पिरो खानेकुराहरु वा प्रशोधित र प्याकेटबन्द खानेकुराहरु नियन्त्रण गर्नुपर्छ । सुपाच्य र पोषिलो खानेकुरामा जोड दिनुपर्छ । खानामा फलफूल, सलाद, फाइबरयुक्त सागसब्जी सामेल गर्नुपर्छ ।

यसका साथै दिनचर्या सक्रिय हुन जरुरी छ । नियमित व्यायाम गर्ने, सक्रिय रहने, सकारात्मक रहने अभ्यास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment