
१८ असोज कैलाली । गोदावरी नगरपालिका–११ कि नन्दा सार्कीकी छोरीलाई विषालु सर्पले डस्दा समयमै अस्पताल पुर्याउन नसक्दा बाटैमा मृत्यु भयो ।
ठूलो बस्ती रहेको गोदावरी नगरपालिका– ११ र १२ का वासिन्दालाई अस्पताल, विद्यालय र बजारसम्म आउन चाक्ले खोला तर्नुपर्छ । हिउँदमा खोला हिँडेरै तर्न सके पनि वर्षायाममा पुल नहुँदा तर्न सक्दैनन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले त्यही खोलामा पुल शिलान्यास गर्दा स्थानीय वासिन्दा खुशी भए । यद्यपि उनीहरु समयमै पुल बन्ने अपेक्षामाछन् । ‘शिलान्यास गरेर मात्रै हुँदैन समयमै पुल बन्नुपर्छ’ स्थानीय तेजप्रसाद भट्टले भने ‘यहाँ पुल नहुँदा प्रत्येक बर्ष खोलामा बगेर कयौँले ज्यान गुमाएका छन् ।’
उनले खोलाले बगाएर हालसम्म ८–१० जनाको मृत्यु भइसकेको बताए । सर्पले डस्दा, सुत्केरी हुँदा पनि समयमा अस्पताल नपुराएका कारण केहीको मृत्यु भएको उनले बताए ।
‘एक दुईपल्ट त खोलाले बस नै बगाएको छ’ उनले भने ‘यहाँ पुल बने ती दिन कहिल्यै आउने थिएनन् ।’
२०४७ सालदेखि चर्चाको बिषय बने पनि हालसम्म चाक्ले खोलामा पुल बन्न सकेको छैन । ‘सबै नेताले पुल बनाउँछु भने । तर कसैले बनाएनन्’ स्थानीय बिर्केस सुनारले भने ‘यस पटक शिलान्यास भएको छ हामीलाई ठुलो आशा छ ।’
उनले चाडै पक्की पुलमा हिँड्ने रहर भएको बताए ।
२ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने उक्त पुल बनेपछि गोदावारी नगरपालिका– १०, ११र १२ का स्थानीय प्रत्यक्ष लाभान्वित हुने छन् ।
२५ मिटर लम्बाई र ८ दशमलव ४ मिटर चौडाइ रहने उक्त पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय कैलालीले बर्दियाको जय धनन्जय÷रोहित जेबीसँग सम्झौता गरेको छ ।
पुलको शिलान्यास गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति भट्टले निर्धारित समय भन्दा अघि नै पुल तयार हुने दाबी गरे । ‘१८ महिनाको सम्झौता हो मैले १ बर्षभित्रै सम्पन्न गर्न आग्रह गरेको छु’ उनले भने ‘पुल बनेपछि यहाँको जीवनस्तर पनि माथि उठ्ने छ ।’
प्रतिक्रिया 4