Comments Add Comment

गिरफ्तारीबाट बच्न साइबर ठगको अनेक तिकडम !

गुण्डा नाइकेदेखि नेतासम्मका फेकआईडी बनाएर असुली धन्दा

हाल प्रहरी हिरासतमा रहेका पसल रोकाया ।

१९ असोज, काठमाडौं । पहिलो पटक भेट हुनेका लागि जुम्लाका पसल रोकाया सूचना प्रविधिमा दख्खल राख्ने एक ‘इमान्दार’, ‘मेहनती’ र ‘सफल’ व्यक्ति हुन् । शुभलक्ष्मी अस्पताल र नर्सिङ अध्यापन हुने संविधान कलेज समेतको सञ्चालकका रुपमा परिचय दिएपछि उनीसँग सम्बन्ध बनाउन अप्ठ्यारो मान्नु पनि परेन ।

सामान्य चिनजान भएकाहरु उनलाई राम्रो मान्छे भन्छन् । रोकायालाई पक्राउ परेको खबर सार्वजनिक भएपछि उनी राम्रो व्यक्ति हुन् भन्दै प्रहरीलाई आएका फोनहरुले पनि यसको पुष्टि गर्छ ।

तर, केही वर्ष संगत गरिसकेकाहरुका लागि भने रोकायाको परिचय एक ‘बहुरुपी साइबर ठग’ भएको प्रहरीको दाबी छ ।

लामो समयको अनुसन्धान र निरन्तरको फलोअपपछि उनी पक्राउ परेको काठमाडौं प्रहरी परिसर, टेकुका अधिकृतहरु बताउँछन् ।

काठमाडौंका प्रहरीका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘यदि उनले आफूसँग भएको ज्ञानलाई सही सदुपयोग गरेको भए रोकाया राम्रो व्यक्ति नै हुने थिए । तर, दुर्भाग्य उनले सीपको दुरुपयोग गरे ।’

प्रहरीकै सूचना लिएर अधिकृतलाई फनफनी घुमाए

बहालवाला मन्त्री पत्नी र सांसददेखि सामान्य नागरिकसम्मले रोकायाबाट ठगिएको भन्दै काठमाडौं प्रहरी प्रमुख ज्ञवालीलाई गुहारेका थिए । त्यसपछि उमेरले २६ वर्ष पुगेका रोकायालाई खोज्न ज्ञवालीले काठमाडौं प्रहरीको विशेष टोली परिचालित गरे ।

तर, रोकायाले यस्तो तिकडम गरे कि अनुसन्धान अधिकृतलाई नै फनफनी घुमाइदिए ।

एसएसपी ज्ञवालीका अनुसार उनी सामाजिक सञ्जाल फेसबुकमा पोखरामा रहेको भन्दै उडान नम्बरसहितका टिकट सार्वजनिक गर्थें । सोही आधारमा प्रहरी टोली परिचालित हुन्थ्यो, अन्तिम समयमा भेटघाट लम्बिएका कारण उड्न नसकेको सामाजिक सञ्जालमै सार्वजनिक गर्थे ।

केही घण्टामा अर्को उडानबाट काठमाडौं आइपुगेको बताउँथे । त्यति मात्र होइन, उनले विमानस्थलका दृश्य देखिने गरी फेसबुक लाइभ पनि गरेका छन् । तर सधैँ भनेको ठाउँमा उनी नभेटिएपछि अधिकृतहरुले उनको स्टाटसलाई महत्व दिन छाडेका थिए, बरु प्राविधिक पाटोबाट अनुसन्धान थालेका थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली

भारतको बैंलोर विश्वविद्यालयको जनभारती क्याम्पसबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका रोकायालाई प्राविधिक पक्षबाट भेट्न पनि प्रहरीका लागि पनि सहज कुरा थिएन । त्यसैले प्रहरीले ‘म्यानुअल’ अनुसन्धानलाई पनि सँगै अघि बढाइरहेको थियो ।

रोकाया निकट एक व्यक्तिमार्फत प्रहरीले उनीसम्म पुग्ने प्रयास गर्‍यो, यो उपाय भने ठाउँमै लाग्यो ।

उनैले दिएको सूचनाको आधारमा प्रहरी रोकायाको कटेरोसम्म पुग्न सफल भएको अधिकृतहरु बताउँछन् । जब प्रहरीले उनलाई पक्राउ गर्‍यो, तब उनले सुरक्षा संगठनकै एक पूर्वहवल्दारको सूचनामा अधिकृतलाई छक्काइरहेको रहस्य खुल्यो ।

काठमाडौं प्रहरीमा लामो समय काम गरेका पूर्वहवल्दार रमन बुढाले उनलाई प्रहरीले खोजिरहेको खबर दिएका थिए । पहिले पनि ठगी अभियोगमा हिरासतसम्म पुगिसकेका उनी भारतमा लुकेर बसेको पाइएको एसएसपी ज्ञवाली बताउँछन् ।

ज्ञवालीका अनुसार भारतमा गएर भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर उनले इन्टरनेट चलाइरहेको थिए ।

अनुसन्धान अधिकृतले उनी बसेको ठाउँमा जब घेरा हाल्यो, त्यसपछि रोकायाले विन लादेनलाई झैँ आफूलाई पक्राउ गरेको बताएको एसएसपी ज्ञवाली सुनाउँछन् ।

गुण्डा नाइकेदेखि नेतासम्मका फेक एकाउन्ट

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार रोकायाले गुण्डा नाइके चक्रे मिलनको नाममा फेक एकाउन्ट बनाएका थिए, जसबाट उनले विभिन्न व्यक्तिसँग रकम मागेका छन् ।

खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरेर ठेक्कापट्टा गरिरहेका उनले त्यस काममा विभिन्न व्यक्तिलाई धम्क्याउन पनि मिलनको नाम प्रयोग गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

रोकायाले विभिन्न प्रतिष्ठित व्यक्तिको नाममा पनि फेक आईडी बनाएर आफैं कुरा गरी चरित्र हत्या गर्न कर्णाली एचडी नामक युट्युब च्यानलमा प्रकाशन गर्ने गरेको पाइएको ज्ञवाली बताउँछन् ।

उनका अनुसार रोकायाले पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराई पत्नी विन्दा घिमिरेलाई पनि विवादमा तान्न फेक एकाउन्टको सहारा लिएका थिए ।

यो पनि पढ्नुहोस ठगीका १० शैलीः ओहोदाको कमाउ धन्दादेखि रियालिटी शोसम्म

आफूले भनेअनुसारको काम नभएपछि नर्सिङ काउन्सिलमा कार्यरत जिता बराल र काउन्सिलकी रजिस्टार घिमिरेको म्यासेन्जर कुराकानी भन्दै उनले आफैंले बनाएको फेक एकाउन्टको कुराकानी सार्वजनिक गरेको पाइएको प्रहरी बताउँछ ।

रोकायाले नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भन्दै ७० हजार रुपैयाँ माग गरेको तर, नदिएपछि फेक आईडी बनाएको भन्दै काठमाडौं प्रहरीमा विद्युतीय अपराध ऐन अनुसार कारबाहीका लागि किटानी जाहेरी समेत परेको प्रहरीको भनाइ छ । उनले रकम नदिएपछि पीडितको फोटो प्रयोग गरी फेक आईडी बनाएको पाइएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौर बताउँछन् ।

रोकायाबाट अन्य व्यक्ति पनि पीडित हुनसक्ने बताउँदै एसएसपी ज्ञवालीले प्रहरी कहाँ खबर गरिदिन भनेका छन्

रोकायाले रकम उठाएपछि विभिन्न पदाधिकारीको प्रोफाइलबाट आफैं बार्गेनिङ गर्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीका अनुसार रोकायाको कर्तुत यतिमा मात्र सीमित छैन, उनले सामाजिक सञ्जाल फेसबुकमा ‘सीटीईभीटी डट अनलाइन डट खबर’ नामक समूह बनाएका छन् ।

एक लाख साढे ४ हजार सदस्य रहेको समूहमार्फत उनले सीटीईभीटीमा जागिर खान खोज्ने व्यक्तिलाई प्रलोभनमा पारेका छन् । त्यसरी उनले एक जनाबाट ७० हजार रुपैयाँ असुलेको भन्दै काठमाडौं प्रहरीमा जाहेरी परेको छ । ‘सीटीईभीटीको चाहिँ परीक्षामा पास गराइदिन्छु भनेर रकम लिएको पाइएको छ’, राठौर भन्छन् ।

एक जना पीडितको श्रीमातीसँग विवाह हुनुअघि शारीरिक सम्बन्ध रहेको भनेर समेत उनले श्रीमानलाई ब्ल्याकमेल गरेको पाइएको उनी बताउँछन् । उनका अनुसार रोकायाले अपशब्द लेखी फोटो समेत राखेर महिलाको चरित्र हत्या गरेका थिए ।

उनले विभिन्न सुरक्षा निकायमा जागिर खान खोज्ने व्यक्तिलाई पनि प्रलोभनमा पारेका छन् । उनले राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनेर चार लाख रुपैयाँ लिएको पनि प्रहरीमा उजुरी छ । अर्का व्यक्तिलाई पनि सोही पदका लागि दुई लाख रुपैयाँ उनले लिएका छन् । आफूले भने बमोजिमको काम नगर्नेका लागि चरित्र हत्या गर्न उनले युट्युब च्यानललाई प्रयोग गर्ने गरेको पनि पाइएको एसएसपी ज्ञवाली बताउँछन् ।

उनकाअनुसार जिल्ला विकास समिति, कालिकोटमा इञ्जिनियरको रुपमा कार्यरत व्यक्तिले करोडौं रुपैयाँ खाएर भ्रष्टाचार गरेको भन्दै रोकायाले झुठो समाचार सम्प्रेषण गरेका थिए, जसमा उनले कालोमोसो दलिएको भन्दै फोटो समेत राखेका थिए ।

‘अनुसन्धानका क्रममा उक्त फोटो फोटोसपबाट तयार गरिएको देखिएको छ’, राठौर भन्छन्, ‘यसैगरी, कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीले सरुवाका लागि ब्ल्याकमेल गरेको प्रमाण हरौं, निज व्यक्ति बलात्कारी हो भन्ने शीर्षकमा पनि चरित्र हत्या गर्ने अभिप्रायले सामग्री हालेको पाइएको छ ।’

उनलाई कारबाही गर्न भन्दै नेपाल मेडिकल काउन्सिल, काठमाडौंले पनि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा किटानी जाहेरी दिएको थियो । त्यसमा उनी हालसम्म फरार सूचीमा थिए ।

रोकायाबाट अन्य व्यक्ति पनि पीडित हुनसक्ने बताउँदै एसएसपी ज्ञवालीले प्रहरी कहाँ खबर गरिदिन भनेका छन् । थप अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment