Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु, ५ जना घाइते

२० असोज, काठमाडौं । सुनसरी, सिराहा र धादिङमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सडकमा ट्याक्टर र स्कुटी एकआपसमा ठोक्किँदा स्कुटी चालक धरान उपमहानगरपालिका-१४ बस्ने २५ वर्षीय गोकुल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । को.१ त ८८०१ नम्बरको ट्याक्टर र को.३० प १२९६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा तामाङ गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै सिराहाको सखुवा नान्कारकट्टी गाउँपालिका-५ महेशवारीस्थित सडकमा स.१ ह ३३२० नम्बरको अटो रिक्सा र अनटेस्ट लखिएको अटो रिक्सा एकआपसमा ठोक्किँदा मंगलबार दिउँसो परिचय नखुलेका २५ वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि राउ अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते तीनै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ । अन टेस्ट अटो रिक्सा चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । स.१ ह ३३२० नम्बरको अटो रिक्सा चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धादिङको नेत्रावती गाउँपालिका-५ चरङ्गेन बेतीनीस्थित सडकमा बा.५ ख ५७२८नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा गाडी चालक गंगाजमुना गाउँपालिका-३ गुम्दी बस्ने ३५ वर्षीय बेगबहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल धादिङवेसीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment