Comments Add Comment

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

२१ असोज, काठमाडौं । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।

स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर वार्ता समिति बनाएका हुन् । समितिलाई डा. केसीसँग वार्ता गरेर सहमति जुटाउने म्याण्डेट दिइएको मन्त्रालय स्रोतले बताएको छ ।

सचिव मैनाली नेतृृत्वको टोलीले सोमबार डा. केसीलाई भेटेको थियो, तर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन तोड्न आग्रह गरेर फर्किएको थियो । तर मंगलबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरुले डा. केसीको जीवन रक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

साथै नेपाल चिकित्सक संघले शुक्रबार आकस्मिक र कोभिड उपचार बाहेक सबै सेवा बन्द गर्ने गरी बुधबार नै दबाबमुलक आन्दोलन घोषणा गरेको छ ।

संघले १८ गते नै वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । तर सरकारले सुनुवाई गरेको भन्दै चिकित्सक संघले भोलि दुई घण्टा र पर्सि दिनभर सेवा बन्द गर्ने घोषणा गरेपछि सरकार दबावमा परेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा उनको १९ औं सत्याग्रह सुरु गरेका थिए ।

८औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment