Comments Add Comment

आन्तरिक सुन्दरताको खोजी

हामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो ।

हामी चाहन्छौं, सबैले आफुलाई रुचाएको । सबैजना आफुबाट प्रभावित भएको । यही कारण हामी मेकअप गर्न, राम्रो लुगा लगाउन, गरगहना लगाउन प्रेरित हुन्छौं । यी बाहिरी आकर्षणका कुरा भए । जसरी बाहिरी रुपरंगबाट हामी अरुलाई आकर्षित गर्न सक्छौं, उसैगरी हाम्रो भित्री सुन्दरताको पनि उत्खनन हुन जरुरी छ । हाम्रो बोलीव्यवहार, हाम्रो कार्य–कुशलता, हाम्रो सोंच–चिन्तन, हाम्रो भावना आदिले पनि अरुलाई लोभ्याउन सक्नुपर्छ । एउटा सत्य के हो भने, बाहिरी रुपरंग समयक्रमसँगै फिका हुँदै जान्छ । वैंशालु उमेरमा मात्र त्यसको चमक रहन्छ । त्यसपछि क्रमस बाहिरी सुन्दरता निख्रिदै जान्छ । जबकी भित्री सौन्दर्य भने जति–जति समय बित्दै जान्छ, उत्तिनै निखारिदै आउँछ । भित्री सुन्दरता दिगो एवं चिरस्थायी हुन्छ । सर्वकालिन हुन्छ ।

यसका लागि हाम्रो ज्ञान, विवेकको दायरा बढाउनुपर्छ । सुसंस्कृत बन्नुपर्छ । असल व्यवहार गर्नुपर्छ । संयमित हुनुपर्छ ।

उदार बनौं

अरुको समस्या, अरुको दुःखमा हार्दिकतापूर्वक सहयोगको हात बढाऔं । भौतिक रुपले हुन्छ वा भावनात्मक रुपले, आफुले सकेको सहयोग गरौं । राम्रो काम गर्नेहरुलाई प्रोत्साहित गरौं । असल बन्न प्रेरित गरौं । अरुको हितमा केही न केही गरौं । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र समाज वा समुदायकै खातिर काम गरौं ।

नराम्रो भावनाहरुलाई त्यागौं

अरुप्रति राखिने खराब भावनाहरु यस्तो विकार हो, जसले हामीलाई कहिल्यै खुसी हुन दिदैन । यस्ता नकारात्मक भावले हामीमा वेचैनी पैदा गर्छ, औडहा जगाउँछ । त्यसैले आफुलाई सकारात्मक राख्ने अभ्यास गरौं । मनमा आउने नराम्रा भावनाहरुलाई त्यागौं ।  अरुप्रति रिस, इष्र्या नगरौं । अरुलाई अपहेलना नगरौं । सम्यक दृष्टि, सोंच र भावना राखेर संसारलाई हेरौं  ।

स्विकारौं अरुलाई

हामी प्राय गुनासो गरिरहेका हुन्छौं । हरेक कुरामा यो भएन, त्यो भएन भनिरहेका हुन्छौं । संसारमा हरेक आ–आफ्नै लागि संघर्ष गरिरहेका छन् । अरुपनि तपाईं जस्तै हो, जो आफ्नो सपनाका खातिर दौडिरहेका छन् । त्यसैले अरुको व्यवहार, अरुको विचार तपाईंलाई मन पर्नुपर्छ भन्ने छैन । अरु जस्ता छन्, त्यही रुपमा स्विकारौं । अरुप्रति गुनासो नगरौं ।

आभार व्यक्त गरौं

आभारी रहन, कृतज्ञ रहन पनि सिकौं । हरेक विहान हामी आफैसँग आभार व्यक्त गरौं । आफ्नो स्वास्थ्यसँग आभार व्यक्त गरौं । प्रकृतिसँग आभार व्यक्त गरौं । आफ्नो परिवार, समाजसँग आभार व्यक्त गरौं ।

हामी आफु बाँच्नका लागि आफ्नो सपना पुरा गर्नका लागि सबैले प्रत्यक्ष–परोक्ष रुपमा सहयोग गरिरहेकै हुन्छन् । उनीहरुबाट कुनै साथ, सहयोग, हौसला प्राप्त भइरहेकै हुन्छ । सबैप्रति कृतज्ञ रहौं ।

सुन्दर वातावरण बनाऔं

आफु बसेको स्थान वा आफु आसपासको माहौललाई सधै खुसी र सुन्दर राख्न प्रयास गरौं । आफ्नो सामुन्ने उभिने हरेक व्यक्तिलाई खुसी भएको हेर्ने इच्छा राखौं । ख्याल ठ्टट गरौं, राम्रा राम्रा कुरा गरौं, उत्साहको कुरा गरौं, संभावनाका कुरा गरौं । आफ्नो वातावरणलाई सुन्दर बनाऔं ।

आध्यात्मिक सत्यतालाई बुझौं

अध्यात्म भनेको कुनै साम्प्रदायिक धर्म होइन । धेरैले आध्यात्मिक हुनु भनेको साम्प्रदायिक धर्म अंगाल्नु भन्ने बुझ्छन् । तर, अध्यात्म भनेको आफ्नो चेतन तत्वलाई अनुभूत गर्नु हो । यसले मान्छेलाई जीवन र जगतको सत्यतासँग साक्षतकार गराउँछ । म को हुँ ? के गर्नुपर्छ ? भन्ने कुराको बोध गराउँछ । यसले मन्छेलाई मान्छे जस्तै बन्न प्रेरित गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment