Comments Add Comment

आफूलाई आफ्नो विचार नै सर्वोपरी

सबै विचार सबै ठाउँ प्रस्तुत गर्नु लाभदायक हुँदैन । सत्य नै भएपनि कैयौं विचारहरू सबै ठाउँ व्यक्त गरिनु आफैंलाई हानीकारक हुन्छ । सत्य वचन र व्यवहारलाई तोडमोड गरी स्वार्थपूर्ति गर्ने समूह पनि हाम्रो साथमा सधैं सँगै रहेको कुरा हामीले बिर्सनु हुँदैन । जहिले पनि त्यस्ता व्यक्तिहरूले आफ्नो निहित स्वार्थसिद्धिका निम्ति अरूलाई प्रयोग गरिरहेका हुन्छन् ।

आफूले केही सिर्जना गर्न नसक्ने तर अरूले ल्याएको सोचमा खेल्न जानेकाहरूले आफूलाई फन्दामा पारेर दुरुपयोग गर्न सक्ने कुरा कहिल्यै नजरअन्दाज गरिनु हुँदैन । व्यक्तिको मनमा आएको सोचले संसारलाई अर्कै दिशातर्फ मोडिदिन सक्ने हुनाले आफ्नो विचारलाई कहिल्यै कमजोर सम्झेर अरूको विचारको पछि लागि हिँड्नु हुँदैन । सुरुसुरुमा कुनै पनि विचारकले प्रशंसा पाएका हुदैनन् । गौतम बुद्ध होउन् या जिसस क्राइस्ट उनीहरूले व्यक्त गरेका विचारकै कारण उनीहरू सजायका भागिदार बनेको कुरा हामीले बिर्सेका छैनौं । तर पनि उनीहरूले आफ्नो विचारलाई सधैं सर्वोपरि राखेर व्यक्त गर्दै अभियानलाई निरन्तरता दिइनै रहे । उनीहरूका पनि समर्थक र विरोधी दुवैथरी मानिसहरू थिए । तर पनि उनीहरुले आफ्ना सोचलाई साकार बनाउन निरन्तरता दिई नै रहेको हुनाले भविष्यमा उनीहरू आफ्नो विचारका प्रवर्तकको रूपमा स्थापित हुन पुगे । त्यसैले हामीले पनि हाम्रो विचारलाई कसैले विरोध वा समर्थन गरेकै भरमा परिवर्तन गरिहाल्नु पर्दैन ।

हाम्रो समाजमा ठूलाहरूको विचार चाहे जस्तोसुकै होस् राम्रो मानिने प्रचलन रहेको छ । ‘ठूलाले गर्छ जो काम हुन्छ त्यो सर्वसम्मत’ भन्ने कथन पनि हामीले सधैं सम्झिरहनु पर्छ । समाज जहिले पनि ठालूहरूको नियन्त्रणमा रहेको हुन्छ । जतिसुकै तीक्ष्ण बुद्धि भएको मानिस भएपनि गरिब घरानाको रहेछ भने ऊ सधैं सानोतिनो काममै अल्झिरहेको हुन्छ । उसको विचार समाजले सामान्य रूपमा लिन्छ र उसलाई आदर्शको रूपमा स्विकार्न समुदाय खासै तयार रहेको हुँदैन । त्यसैले नेतृत्वमा सम्भ्रान्तहरूकै बोलवाला रहेको हुन्छ । दुखीगरिबको बीचमा यदि कोही उच्च सोचको व्यक्ति जन्मियो भने पनि उसको विचार सामान्य रकममै ठालूहरूले आफ्नो बनाएर प्रयोग गरिरहेका हुन्छन् । त्यसैले संसारमा सबैभन्दा ठूलो आफूलाई सम्झनु पर्छ । आफ्नो विचार आफ्नो लागि सबैभन्दा लाभदायक हुन्छ ।

कामको शिलशिलामा विभिन्न समयमा हामीले विभिन्न जिम्मेवारीहरू बहन गर्दै आएका हुन्छौं । जिम्मेवारी वहन गरेर आफूलाई अब्बल सावित नगरी गरिबगुरुवाका सन्तानले समाजमा प्रतिष्ठा पाउन सकेका हुँदैनन् । उनीहरूको सोच र विचार गहन तथा महत्त्वपूर्ण भएपनि समाजले त्यसलाई सजिलै अङ्गिकार गर्न सकेको हुँदैन । त्यसैले हामीले आफ्नो अनुभवको आधारमा राखिने कैयौं विचारहरू सजिलै हावामा उडाइदिने समूह हाम्रै समाजमा रहेको हुन्छ । तलतिर गइरहेको ‘एलिवेटर’मा आफू जबरजस्ती माथितिर उक्लेर उपल्लो तलामा पुग्न जति कठीन हुन्छ त्यति नै गैरसम्भ्रान्तहरूको विचारले समाजमा स्थान पाउन उत्तिकै कठीन हुन्छ । समाजको विकासमा त्यस्तै कुराहरूले ब्रेक लगाउने र स्पिडलाई स्लो गराउने गरेको हुन्छ ।

आफूलाई राम्रो लागेको कुरा अरूलाई पनि राम्रो लाग्न सक्छ तर अरूले उक्त कुरालाई बङ्ग्याएर अनावश्यक थपथाप गरी हाम्रो विरुद्धमा दुरुयोग गर्न सक्ने खतराबाट जोगिनु पनि ठूलो सफलता हुन्छ । कामको जिम्मेवारीको शिलशिलामा अभिव्यक्त विचारहरूलाई आफ्नै कथित हितैषीहरूले दुरुपयोग गरेर आफूलाई धोका दिन सक्ने हुनाले चित्त नबुझेका कैयौं कुराहरूलाई औपचारिक रूपमा स्विकार्न बाध्य हुनुपर्छ । आफ्नो मनसाय ठीक छ तर अन्य व्यक्तिहरूले त्यसमा आशंका गरेर अनावश्यक आलोचना गरेको सुन्दा कसैलाई पनि चित्त बुझेको हुदैन । तर चित्त नबुझे पनि कैयौं कुराहरू औपचारिकतामा सीमित राखिनुपर्छ । कसैले पनि आफूले अभिव्यक्त गरेका कुराहरूलाई दुरुपयोग गरेर नाजायज फाइदा लिन र आफूलाई हानी-नोक्सानी पुर्‍याउन नसकोस् भनेर हामी सधैं सचेत र चनाखो हुनुपर्छ ।

समूह कार्यमा सबैको सोच सकारात्मक नहुन पनि सक्छ तर हामीले नेतृत्वको भुमिकामा रहदासम्म उनीहरूलाई पनि प्रशंसा गरेरै आफ्नो वशमा राखिरहनु पर्छ । कसैलाई पनि उसको कमजोरी बताइदिने मानिस राम्रो लाग्दैन । यो नै मानवको सबैभन्दा ठूलो कमजोरी हो । सबैलाई आफ्नो प्रशंसा गरेकै मन पर्छ । यो सामान्य मानवीय स्वभाव हो । तर हामीले आफ्नाविरूद्ध अभिव्यक्त विचारहरूलाई गम्भिरतासाथ सुन्ने र मनन गरेर आफूलाई सोही बमोजिम परिवर्तन समेत गराउन सक्नु पर्छ । केही मानवीय कमजोरी रहेछन भने सजिलै महसुस गरी सच्याउनु पर्छ । तर कसैले पूर्वाग्रही बनेर आफ्नो आलोचना गरेको रहेछ भने उसको मनसाय बुझ्नुबाहेक थप केही गरिरहनु पर्दैन । कसैले आफूलाई सच्याउने मनसायले व्यक्त गरेका आलोचनात्मक कुरा छन् भने पनि तिनीहरूको सहर्ष स्विकार्नु पर्छ । तर आफूले असल मनसायबाट व्यक्त गरेका कुरालाई तोडमोड गरी दुरुपयोग गरिएको रहेछ भने त्यसको प्रतिवादसमेत गर्न पछि पर्नु हुँदैन ।

कैयौं मानिसहरू हाम्रा कमीकमजोरीहरू खोजी त्यसलाई तिलको पहाड बनाएर समाजमा बदनाम समेत गराउने प्रवृत्तिका हुन्छन् । त्यस्तो प्रवृत्तिका व्यक्तिसँग पनि हामीले सहकार्य गर्नुपर्छ । समाज हरेक किसिमका मानिसहरूको साझा थलो हो । समाजसेवी, परोपकारी, दानी, धर्मात्मा, अपराधी आदिको संयुक्त रूप नै समाज हो । सबै प्रकारका विचार व्यवहारलाई समाजले विभिन्न किसिमले स्थान दिएको हुन्छ । कसैलाई पुरस्कृत गरेको हुन्छ भने कसैलाई समाजले सजाय दिएको हुन्छ । साझा थलोको रूपमा रहेको समाजलाई हरेक व्यक्तिले आफ्नै किसिमले प्रयोग र उपयोग गरिरहेका हुन्छन् । हामी पनि त्यही समाजका अभिन्न अङ्गको रूपमा स्थापित छौं । त्यसैले समाजले स्विकृति प्रदान नगरेका कुरा गर्न हामी तयार हुँदैनौं । राम्रो वा नराम्रो लाग्ने जुनसुकै कुरा पनि समाजले स्विकार गरेमा मान्य हुन्छ । व्यक्तिको विचारलाई पनि समाजले अङ्गीकार गरेमात्र सार्वजनिक गर्न सकिन्छ । सबै राम्रा विचारहरू सबैलाई ग्राह्य हुदैनन् । ठालूहरूको हितमा छैन र बहुसंख्यक नागरिकको लाभदायक कुरा छ भने पनि समाजमा त्यसले मान्यता पाउन धेरै संघर्ष गर्नुपर्छ । तर सीमित व्यक्तिको अनुकूल भए पनि ठूलाबडाहरूको हितमा हुने कुरा सजिलै लागू गराइन्छ ।

ठालूवादी चिन्तन भनेको आफूलाई एक फाइदा हुँदा समाजलाई ९९ घाटा भएपनि आफ्नै हितमा काम गर्ने प्रवृत्ति हो । यस्तो प्रवृत्ति सानाठूला सामाजिक सबै काममा देखा परेका हुन्छन् । आफूलाई समाजको अगुवा ठान्ने तर निहित स्वार्थबाहेक कुनै काम नगर्ने व्यक्तिहरूले समाजलाई सधैं पछौटे अवस्थामा अनिर्णयको बन्दी बनाएर राख्न खोजिरहन्छन् तर समाजमा केही विद्रोही स्वभावका मानिसहरूले त्यस्ता अराजकहरूको कुविचारको भण्डाफोर र चिरफार गर्ने हिम्मत गरेका हुन्छन । समाजमा द्वैध चरित्रका व्यक्तिहरूको पनि कमी हुँदैन । जुन कुराको पक्षमा जनमत धेरै देखिन्छ त्यसैको पक्षमा आफूलाई उभ्याएर जताबाट पनि फाइदा लिन खोज्ने व्यक्तिहरूले समाजका यथास्थितिवादीलाई सहयोग पुर्याइरहेका हुन्छन् । त्यस्ता व्यक्तिहरूको पहिचान गरी उनीहरूको चरित्रको पर्दाफास नगरी समाज सुध्रँदैन । आफूलाई समाजसेवीको रूपमा देखाएर सिधासाधा जनताको शोषण गरिरहेका नेताहरू चिन्न जनतालाई कहिलेकाहिँ कठीन पनि हुन्छ । उनीहरूको देखिने स्वरूप र वास्तविक रूप फरक हुन्छ । जबसम्म वास्तविक स्वरूपको पहिचान हुँदैन सबै मानिस समाजसेवी, परोपकारी र सद्गुणी भइरहन्छन् । उनीहरूको स्वार्थलिप्त स्वरूपको चिनारी पर्दाफास भएपछि भने समुदायका नागरिकले नाङ्गेझार पार्छन् । देखिँदा राम्रो र व्यवहार खराब हुनेहरूको चुरीफुरी धेरै दिन टिक्न भने सक्दैन ।

हामीले समाजलाई नजिकबाट चिन्ने प्रयास गर्नुपर्छ । समाज सबै प्रकारका मानिसहरूको समिश्रणबाट निर्माण हुने र उनीहरूले आ-आफ्नो क्रियाकलाप गरिनै रहने हुनाले उनीहरूसँग जस्तालाई त्यस्तै स्वरूपमा बुझेर आफ्नो विचार संप्रेषण गरिनुपर्छ । आफूलाई थाहा भएको र सत्य कुरा हुदाहुँदै पनि कतिपय अवस्थामा आत्मीय सबै कुरा सबैसामू खोलिनु आवश्यक छैन । त्यसले आफूलाई राम्रो त गर्दैन नै बरू आफ्नो विचारलाई बंग्याएर अरूले दुरुपयोग गर्न सक्छन् । त्यसैले आफ्नै नजिकका साथीहरूसँग पनि परिस्थितिको वास्तविकता र गम्भिरताको अवस्थाको आकलन गरी प्रस्तुत हुनु लाभदायक छ । साँच्चिकै साथ दिने र देखावटी साथ दिने मित्रहरू बीचको भिन्नता नछुट्याइ गरिने व्यवहारले पनि आफूलाई फाइदा हुँदैन । ऐनमौकामा व्यक्त गरेका कुराहरूले प्रमाणको रूप लिने हुनाले सार्वजनिक र औपचारिक स्थानमा बोल्दा निकै सजग हुनुपर्छ । त्यस्तै मौकामा बोलिएका कुराले महत्त्व राख्ने हुनाले औपचारिक समयमा औपचारिक कुरामात्र गरिनु राम्रो हुन्छ । यसले आफूलाई सधैं सफलतातर्फ उन्मुख गराइरहन्छ । प्रथम चिन्तनमा उत्पन्न विचार आफ्नो निम्ति विशेष महत्त्वको हुने भएपनि परिस्थितिअनुसार कहिलेकाहिँ संशोधन गर्नुपर्ने पनि हुन सक्छ । व्यक्तिले आफ्नो विचारलाई समाज हितका निम्ति सिर्जना गरेको हुन्छ तर समाजका यथास्थितिवादी चिन्तनका व्यक्तिहरूले त्यसलाई सहजै स्विकार गर्दैनन् । तर पनि आफ्नो विचारलाई कहिल्यै छोड्नु हुँदैन चाहे कुनै व्यक्ति, समुदाय, समाज वा सिङ्गो मुलुक वा संसारले त्यसलाई सहजै मानोस् वा नमानोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment