Comments Add Comment

चक्रपथ विस्तारको लागि साइट क्लियर गर्न नयाँ कार्यतालिका

२५ असोज, काठमाडौं । सरकारले काठमाडौं चक्रपथको कलंकी-महाराजगञ्ज धोबीखोला खण्डको विस्तारका लागि एक महिनाभित्र घर भत्काउने र प्र्रसारणलाइनको टावर सार्नेबाहेेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरेको छ ।

चक्रपथ विस्तारको दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा भएको भएको सरोकारवालाको बैठकले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर सार्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन सुरु गर्ने लगायत निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले कार्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभर्‍याङस्थित हाई भोल्टेज टावर सार्ने तालिका बनेको छ ।

स्वयम्भूस्थित चैत्य कार्तिक मसान्तभित्र हटाइने भएको छ । काठमाडौँ महानगरपालिकासँग समन्वय गर्दै काठमाडौँ चक्रपथ सुधार योजनाले कार्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल पनि भत्काउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सक्ने भएको छ ।
सडक सीमा सम्बन्धी रहेको अन्यौलबारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय पनि भएको भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्त नेम्वाङको निजी सचिवालयले जानकारी दिएको छ ।

चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ । चीनले साइट क्लियर नगरी काम सुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न जुटेको हो । यसअघि नै रुख कटानको काम सकिएको छ ।

यो खण्डको चीनले डिजाइन तयार गर्दैछ । सो डिजाइन सरकारले स्वीकृत गर्नुपर्छ । पहिलो खण्डका रुपमा विस्तार भएको कलंकी-सातदोबाटो-कलंकी चक्रपथ खण्डमा मेडिन नराखिएको भन्दै आलोचना भएकाले यसपटक मेडियनसहित चक्रपथ बनाउन सरकारमाथि दबाव छ ।

तर, चीनले कस्तो डिजाइन तयार गरेर दिन्छ भन्ने अन्योल छ । सरकारले भन वैज्ञानिक तवरले चक्रपथ विकास गर्ने बताएको छ । विज्ञहरुले यसलाई राजमार्गका रुपमा नभएर सहरी सडकका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।

यो खण्ड विस्तारको ठेक्का चीनले नै लगाएर सबै खर्च पनि आफैंले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment