 
																			२५ असोज, काठमाडौ. । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारसँग माग गरेको छ ।
नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
नगर प्रमुख प्रजापतिले अनलाइनखबरसँग भने, ‘उपत्यकामा दैनिक संक्रमण दर बढ्दो छ । यसले उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै गएको संकेत गरेको छ । त्यसैले कोरोनाको हट स्पट हुनबाट बचाउन पुनः लकडाउन वा निषेधाज्ञा लगाउनुको विकल्प छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं । तसर्थ सरकारलाई पुनः निषेधाज्ञा लगाउनका लागि आग्रह गर्ने निर्णय भएको छ ।’
दसैंको समयमा भीडभाड बढेर कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई विगतमा जस्तै अतिआवश्यक सेवाबाहेकका अन्य सेवाहरु बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय भएको उनको भनाइ छ ।
उनले भने, ‘उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लगाउन हामीले सरकारसँग माग गरेका छौं । निषेधाज्ञा प्रभावकारी बनाउन तीनै जिल्लामा एकैपटक निषेधाज्ञा लगाउन सकेमात्रै संक्रमणको जोखिमलाई कम गर्न सकिने हाम्रो विश्वास हो । तर काठमाडौं र ललितपुरमा निषेधाज्ञा जारी नगरिए पनि भक्तपुरमा मात्रै भएपनि निषेधाज्ञा जारी गर्नुपर्ने पक्षमा हामी छौं ।’
नगरप्रमुख प्रजापतिले तीनै जिल्लामा निषेधाज्ञा लगाउनका लागि समन्वय गरिने बताए ।
दसैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा–वडामा स्वयम्सेवक परिचालन गरी कोभिड १९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गरिरहेको उनले बताउ ।
बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गरेकी थिइन् । नजिकिँदै गएको दसैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारुकताका साथ अगाडि बढिरहेको उनको भनाइ थियो । ।
बैठकले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको दसैंमा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरुलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरवासीहरुमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरुबाट मिलाउने निर्णय भएको प्रजापतिले बताए ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी निरीक्षक मुकुन्द चापागाइँ, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका अनुसन्धान अधिकृत पवनराज पाण्डे, भक्तपुर अस्पतालका तर्फबाट राजेन्द्रप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4