Comments Add Comment

‘म्याद गुज्रिएका सामान दुई वर्षदेखि बजारमा पठाइरहेको थिएँ’

भारतीय नागरिक रोनक बोथरा

२६ असोज, काठमाडौं । खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् ।

उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बिभागका अनुसार, बोथराले ‘डेढ–दुई वर्षदेखि यो काममा म मात्र संलग्न छु’ भनेका छन् ।

उनले आफू आयान डिष्ट्रिब्यूटरको म्यानेजरको रुपमा नियुक्त भएको र कम्पनीले खरिद–बिक्री भएका सामानहरुको बजारबाट भुक्तानी लिने, सेल्स एकाउण्ट रेखदेखको जिम्मेवारी दिएको बयान दिएका छन् ।

आयान डिष्ट्रिब्यूटरकी सञ्चालिका पुष्पादेवी अग्रवालले कम्पनी आफ्नो नाममा भए पनि कारोबार नगरेको बताएको बिभागले जनाएको छ । बिभागका अनुसार, प्रहरीले पक्राउ गरेपछि मात्र कम्पनीमा त्यस्तो काम हुने गरेको थाहा पाएको अग्रवालको बयान छ ।

नयाँ म्याद राखेर सामान बजारमा पठाइँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका कामदार मुन्ना ठाकुरले भने आफू आयान डिष्ट्रिब्यूटरमा तीन वर्षदेखि काम गर्दै आएको र पहिलो पटक कलंकी गोदाममा पुगेकै दिन समातिएको बताएका छन् ।

यो पनि पढ्नुहोस उपभोक्ताले यी उत्पादनमाथि कसरी विश्वास गर्ने ?

अर्का कामदार विक्रम कुमार गुप्ताले आफूलाई कम्पनीमा रिलेबलिङ हुने कुरा थाहा नभएको बयान दिएको बिभागले जनाएको छ । त्यस्तै, कामदार पुष्पकुमार ठाकुरले नयाँ मिति राख्ने मेशिन चलाउन सिकाउने गरेको बताएका छन् ।

अर्का कामदार रामबहादुर बयलकोटीले म्याद सकिएको वस्तुमा नयाँ मिति राखेर बिक्री गर्न बजार लैजाने गरेको स्वीकार गरेका छन् । उनले थाहा पाएरै त्यस्तो बस्तु बिक्रीे गरेको बताएको बिभागको भनाइ छ ।

पुष्पादेवीलाई धरौटी, बोथरालाई थुनामा पठाउन आदेश

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजलाशले आयान डिष्ट्रिब्यूटरकी मुख्य सञ्चालिका पुष्पादेवी अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ बमोजिम धरौटीमा छोडेको छ भने अपराध स्वीकार गरेका बोथरालाई थुनामा पठाएको छ ।

आदेशमा भनिएको छ, ‘पुष्पादेवी अग्रवाललाई एक करोड रुपैयाँ जमानत वा बैंक ग्यारेन्टीमा छोड्नू र बोथरालाई थुनामा पठाउनू ।’ भाग्नसक्ने भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोथरालाई थुनामा पठाउने आदेश भएको विभागले जनाएको छ ।

नयाँ मिति राखेर सामान बजार लैजान सघाउने कामदारहरुबाट जनही पाँच लाख धरौटी लिन र धरौटी बुझाउन नसके थुनामा पठाउन विभागले आदेश गरेको छ ।

विभागले आयान डिष्ट्रिब्यूटरको गोदाममा भेटिएका नयाँ मिति राखिएका वस्तुहरुको प्रारम्भिक सूची पनि सार्वजनिक गरेको छ । त्यसमा ५ हजार ७ सय कार्टुन ट्याङ्ग पाउडर जुस, ५९१ कार्टुन स्नीकर्स चकलेट, ७ सय वटा प्रिङ्गल्स चिप्स, ७९ कार्टुन ओरियो बिस्कुट, ५ कार्टुन हर्लिक्स र बर्नभिटा छन् ।

गोदामको रुपमा प्रयोग गरिएका तीन वटा घरबाट थुप्रै सामान बरामद भएकाले विस्तृत विवरण पछि आउने विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस म्याद गुज्रेका वस्तु बजार पठाउनेहरु सुटुक्क रिहा, महानिर्देशक भन्छन्- धुरुधुरु रोएपछि छाड्यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment