Comments Add Comment

हाल्यान्ड भविष्यमा मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन् : पाउल स्कोल्स

२७ असोज, काठमाडौं । बेलायतका फुटबल लिजेन्ड पाउल स्कोल्सले युवा स्ट्राइकर इर्लिङ हाल्यान्ड विश्व फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डोको स्तरमा पुग्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

बोरुसिया डर्टमन्डका २० वर्षका स्टारले बुन्डेसलिगा क्लबका लागि १४ लिग म्याचमा सनसनीपूर्ण प्रदर्शन गर्दै १७ गोल गरेका थिए ।

हाल्यान्ड गत जनवरीमा मात्रै रेड बुल साल्जबर्ग छोडेर डर्टमन्डमा भित्रिएका हुन् । त्यसयताका १० महिनामा उनको प्रदर्शन लोभलाग्दो छ । हाल्यान्डले यसै साता नर्वेका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पनि पूरा गरे । नेसन्स लिगमा उनले रोमानियाविरुद्ध उक्त ह्याट्रिक गरेका थिए ।

हाल्यान्डले डर्टमन्डलाई छनोट गर्नुअघि उनीमाथि म्यान्चेस्टर युनाइटेडले पनि चाख देखाएको थियो । आफ्नो पुरानो क्लबले जाडोन सान्चोभन्दा हाल्यान्डलाई नै जसरी पनि तान्नुपर्ने बताउँछन् स्कोल्स ।

‘मलाई लाग्छ हाल्यान्ड एक सनसनी हुन्,’ उनले स्टेडियम एस्ट्रोसित भने, ‘अहिलेसम्म उनलाई नियालेको आधारमा भन्न सक्छु कि उनले भविष्यमा मेस्सी र रोनाल्डोको स्तरमा आफूलाई उभ्याउन सक्छन् ।’

हाल्यान्डलाई छोडेर सान्चोलाई रोज्नु म्यान्चेस्टरको गलत निर्णय भएको उनले बताए । सान्चोकै शैलीका अन्य तीन खेलाडीहरु पहिल्यै टिमसँग भएको उनको तर्क छ ।

‘१० करोड पाउन्ड खर्च गर्दा सही निर्णय लिइयो जस्तो मलाई लाग्दैन । उनी (सान्चो) कमजोर खेलाडी होइनन्, तर यो वर्ष चाहिँ म्यान्चेस्टरलाई उनको आवश्यकता थिएन ।’

हाल्यान्डले नर्वेको राष्ट्रिय टोलीमा मार्टिन ओडगार्डसँग बलियो आक्रामक जोडी बनाएका छन् । रियल मड्रिडका प्लेमेकरले उनलाई रोमानियाविरुद्ध ह्याट्रिक गर्दा दुईवटा गोलका लागि पास मिलाएका थिए । उक्त म्याचपछि हाल्यान्डले भविष्यमा ओडेगार्डसँग आफ्नो साझेदारी अझै बलियो बन्ने बताएका छन् ।

ठट्टा गर्दै उनले भनेका थिए, ‘म उनलाई बधाई पनि दिन चाहन्छु, अन्तत उनले बस पास गर्नका लागि सही मान्छे भेट्टाए ।’

आफ्नो देशका लागि हाल्यान्डले ६ खेलमा ६ गोल गरेका छन् । नर्वेले नेसन्स लिग आगामी खेलमा आयोजक नर्दन आयरल्यान्डविरुद्ध खेल्दा आफ्नो गोलसंख्या बढाउने उनको लक्ष्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment