Comments Add Comment

एकल नायक बन्ने होडबाजी

एउटा मान्छेले संसार बदल्न सक्छ तर संसार बदल्नु भन्दा पहिले उसले आफूलाई बदल्नु पर्छ- अज्ञात ।

‘एउटा मान्छेले संसार बदल्न सक्छ’ भन्ने हामीले सुन्दै आएको कुरो हो । इतिहासका घटनाहरू हेर्दा त्यो कथन धेरैपटक सत्य सावित पनि भएको छ । तर, दुःखको कुरा, अहिलेसम्म कोही पनि त्यो ‘एउटा मान्छे’ बन्न सफल भएको छैन । बरू त्यही एकल नायक बन्ने लालचको होडमा सयौं खलनायकहरु जन्मिएर लुछाचुँडी गर्दा देश झनपछि झन् जर्जर भैरहेको छ ।

हरेक मान्छे प्रशंसा, आदर र सम्मानको भोको हुन्छ । बालक होस् कि वृद्ध, धनी होस् कि गरिब सबै मान्छेलाई आदर र सम्मानले खुशी बनाउँछ । त्यसैले ऊ टीभीको पर्दामा देखिन चाहन्छ, अखबारको पहिलो पृष्ठमा भँगेरा टाउके अक्षरमा लेखिन चाहन्छ । अनि रेडियोमा, प्रमुख समाचारमा सुनिन चाहन्छ । यो मानवीय स्वभाव नै हो । यसैलाई बुझेर नै सायद आइन्सटाइनले भनेका थिए- हरेक मान्छेलाई आदर गरिनुपर्छ तर, देवत्वकरण गर्नुहुँदैन ।

तर, हाम्रो समाज ठ्याक्कै त्यसको उल्टो बाटोमा हिँडेको प्रतीत हुन्छ । हामी अरुलाई आदर गर्ने कुरामा निकै पछाडि छौं । तर, कसैले अलिकति राम्रो काम गर्‍यो भने देवत्वकरण गर्ने काम गरिहाल्छौं । यही बानीले गर्दा हामी सबै नायक बन्न चाहन्छौं ।

हुन त हाम्रो संस्कृतिले हामीलाई सानालाई माया गर्न र ठूलालाई आदर गर्न सिकाएता पनि हामीले सानालाई हेप्ने र ठूलालाई अत्यधिक आदर गर्ने गर्छौं । त्यसैले आफू नहेपिन, आफूले आदर पाउन, लोकप्रिय हुन हामी नायक बन्नका लागि मरिमेटी गर्छौं ।

त्यसका अतिरिक्त हाम्रो समाजमा भएको जातीय विभेदले पनि हाम्रो नायक बन्ने होडको मानिसिकतामा ठूलो भूमिका खेलेको छ । यदि बच्चादेखि नै आदर र समानताको वातावरणमा बच्चाहरू हुर्किए भने उनीहरूमा त्यो लघुताभाष निकै कम हुन्छ र उनीहरूमा आफू मात्र ठूलो मान्छे बन्ने चाहना र अर्काको खुट्टा तान्ने बानीमा कमी आउन सक्छ । तर, कथित तल्लो जातिका मान्छेहरू जन्मेदेखि जीवनभर नै हेपिएर बस्नुपर्ने हुनाले उनीहरूमा नायक बन्ने आकांक्षा सानैदेखि स्वाभाविकरुपमा विकास हुन्छ ।

विगतका दुई पुस्ताका नेपालीहरुलाई हेर्ने हो भने उनीहरु न त कुनै निर्मम तानाशाहीको क्रुर बुटमुनि शासित भए, न त पुरै प्रजातान्त्रिक नै हुन पाए ।

विकास र सुशाशनका लागि खासै ठूलो चुनौती पनि छैन, एकल नायक बन्ने लालच छोडेर समुहगतरुपमा सबैले आ-आफ्नो क्षेत्रबाट आफ्नो काम फत्ते गरेमा विकास र सुशासन देख्न हामीलाई एक दशक पनि कुर्नुपर्दैन ।

थोरै ज्ञान घातक हुन्छ भने झैं हाम्रो सीमित स्वतन्त्रता र सीमित ज्ञान पनि सम्भवतः हामीलाई घातक बनेको छ । त्यसैका कारण हामी न त शासक बन्न सक्यौं, न त शासित भएर बस्न सक्ने भयौं । अर्थात् न त आफूले नेतृत्व गर्न सक्यौं, न पूर्णरुपमा अरुको नेतृत्व नै स्वीकार गर्न सक्यौं । हाम्रा यिनै अन्तरनिहीत बानीहरूले गर्दा हामी एकल नायक बन्न खोज्छौं र एकल नायक बनाउन खोज्छौं । सामूहिक प्रयासबाट काममा पनि हामीले एकल नायक खोजेर देवत्वकरण गर्ने गर्छौं ।

नेपालको इतिहास हेर्दा थाहा हुन्छ- पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दादेखि नै यही प्रयोग भैरहेको छ । शाहवंशीय र राणावंशीय शासन त एक्लो नायकको परिचायक नै बन्यो । त्यसपछि प्रजातन्त्रको समयमा पनि र लोकतन्त्र प्राप्तिपछि पनि राजनैतिक दलका नेताहरू एकसे एक आफू नै सर्वेसर्वा बन्न खोजेर देशलाई अस्थिरता, अविकास र कुशासनको भुमरीमा वर्षौंसम्म धकेलिरहेका छन् ।

एकल नायक हुन नखोजेर सामूहिकरुपमा सबै मिलेर गएको भए आज नेपालको राजनीति र सामाजिक यथार्थता अर्कै हुने थियो होला । तिनै एक्ला नायक हुन खोज्ने महत्वाकांक्षाले गर्दा नेपालका दलहरू जुट्ने भन्दा फुट्ने गर्छन् ।

नेपाली कांग्रेस होस् या नेकपा होस् सबैले त्यही भोगेका छन् । त्यो कुरा राजावादी र मधेसवादी दलमा पनि उत्तिकै हावी छ । अनि साझा र विवेकशीलको पनि त्यही हालत भयो । यो सबै हुनुमा नेपालीहरूको मन मष्तिस्कमा रहेको ‘एकल नायक’ बन्ने महत्वाकांक्षा हो ।

त्यसैले, समुहगतरुपमा भन्दा एकल प्रयासमा सबै काम आफै गर्न तम्सिने र सफल नहुने परम्परा दोहिरिँदै आएको छ । त्यसैको परिणाम- देश स्थिर राजनीतिमा गैसक्दा पनि देश विकासमा भन्दा नेताहरु एकल नायक बन्ने होडमा आफूलाई मात्र हैन, देश र जनतालाई समेत बन्धक बनाइरहेका छन् ।

‘म मात्र गर्न सक्छु, अरुले गर्न सक्दैनन्’ या ‘मैले मात्र गर्नुपर्छ अरुले गर्नुहुँदैन’ भन्ने भावना हावी हुँदा न हामीले आफूले गर्न सक्यौं, न अरुलाई गर्न दियौं। त्यही एकल नायक हुने लालचमा हामीले कहिले पनि देश र जनताका लागि सोचेनौं, खालि आफूमात्र नायक बन्ने, इतिहासमा नाम लेखाउने होडमा प्रतिस्पर्धा गर्दै दौडिरह्यौं ।

अन्य देशहरूमा हेर्दा थाहा हुन्छ कि नेता बन्नु भनेको एउटा जागिर खानु जस्तै हो । आफूले जागिर खायो, आफ्नो काम मेहनतपूर्वक निष्ठावान बनेर निभायो अनि बिदा भयो । अमेरिकाको राष्ट्रपति होस् या बेलायत या जापानको प्रधान मन्त्री होस् या जर्मनीको चान्सलर नै किन नहोस् सबैले मपाई गर्न छोडेर आफू एक्लो नायाक हुने लालचा छोडेर काम गरेका हुन्छन् । तर, हामीमा अझै पनि त्यो गुण विकसित भएको छैन। झन् डरलाग्दो कुरो त नायक हुन राजनीति नै गर्नुपर्छ भन्ने भ्रम हाम्रो समाजमा छ । मुख्यतया राजनीति गर्न कुनै योग्यता नचाहिने, जे गरे पनि हुने अनि अकुत सम्पत्ती कमाउन पाइने र कुनै दण्ड नहुने परिपाटीले त्यो भ्रममा मलजल गरेको छ ।

धेरैजसो नेपालीहरूमा खुट्टा तान्ने अनि ‘मैले त्यसले भनेको किन मान्ने’, ‘किन त्यसको अधीनमा बस्ने’ भन्ने भावना निकै प्रवल छ । विशेष गरी पछिल्लो दुई पुस्ता (विक्रम सम्वत् २००० पछिका दुई पुस्ता) मा त्यो भावना निकै बढी छ । पछि नयाँ पुस्तामा सायद सामूहिक योगदानले केही प्रभाव परेको भए पनि समाजमा अझै पनि प्रचलित संस्कृति र जातिय विभेदले गर्दा त्यो भावना पूरै मरिसकेको छैन ।

त्यही दुषित मनोविज्ञानको शिकार भएर हामीहरू धेरैजसो आफूले राम्रो काम गरेर ठूलो मान्छे बन्ने हैन कि अरुलाई नराम्रो बनाएर आफू ठूलो बन्ने दुषित विचारले परिचालित छौं । त्यो एउटा सभ्य समाजका लागि निकै घातक कुरो हो । सबैले आफू मात्र अग्लो हुन खोज्ने होडमा अरुको खुट्टा काट्दा हामी सबै झनपछि झन् होचा हुँदै गइरहेका छौं ।

एक्लो नायकत्वले कुशाशन जन्माउँछ। एक्लो नायकत्वमा बसिरहन चाहनेहरूले आफना मिथ्या समर्थकहरूलाई पालिरहनुपर्छ । ती समर्थकहरूलाई पाल्न पैसाको जोहो गर्नै पर्‍यो, जस्ले गर्दा भ्रष्ट्राचार मौलाउँछ । त्यस्तै आफ्ना समर्थकहरूलाई केही न केही पद दिनुपर्‍यो । कुनै क्षमता र योग्यता नभएका हरूलाई पद दिंदा कुशासन हुने नै भयो किनभने वास्तविक दक्षता र योग्यता भएकाहरू मिथ्या समर्थक हुने संभावना कमै हुन्छ । अनि आफ्ना समर्थकहरूले गरेको भ्रष्ट्राचार र अन्य अपराधहरूलाई पनि दण्डित गर्नुभएन, जसले दण्डहीनतालाई बढावा दिन्छ ।

यस्तो समाज र देशमा विकास हुने कुरा भएन । हामीले अवलोकन गर्‍यौं भने देख्न सक्छौं कि संसारमा अहिले जति पनि विकसित देशहरू छन्, केही अपवादहरूबाहेक सबै देशहरूमा एकल नायकभन्दा पनि सामूहिक प्रयासबाट विकास भएका छन् । अमेरिका, जापान, जर्मनी, कोरिया जस्ता विकसित देशहरूमा विकासको लागि एक्लो नायक आवश्यक परेन ।

एकातिर अधिकांश सामान्य जनता एकल नायक आएर उसको जादुले एकै रातमा नेपाललाई विश्वकै धनी र विकसित देश बनाओस् भन्ने सपना देख्दै उसको तिलस्मी छडीको प्रतिक्षामा छ भने केही क्षमता र देशको लागि केही गरौं भन्ने अनि महत्वाकांक्षा भएकाहरूमा अरुको खुट्टा काटेर आफू अग्लो हुने गुण छ । खेदका साथ भन्नुपर्छ कि अरुको खुट्टा काटेर आफू एक्लो नायक बन्ने गुण सामान्य र अशिक्षित जनताहरू भन्दा पढेलेखेका, देश विदेश घुमेका, देशले लगानी गरेका र आफूलाई शिक्षित भनाउने जमातसँग छ ।

त्यो जमात कामभन्दा बढी कुरा गर्छ, आफूलाई संसारकै सबभन्दा ज्ञानी ठान्छ अनि साम दाम दण्ड भेद जे पनि अपनाउनुपरोस् आफूलाई सर्वेसर्वा बनाउन मरिहत्ते गर्छ । त्यो समुह ‘अरुले मलाई मानून्, मेरो कुरा सुनुन्, विरोध नगरुन्, मेरो अगाडि झुकुन्, मेरै वरिपरि लुटपुट गरिरहुन् अनि मेरो देवत्वकरण गरुन्’ भन्ने चाहन्छ ।

तर अब समय फेरिएको छ । यो लेखको पहिलो पङ्क्तिमा भनिए जस्तै अब हामीले संसार बदल्ने सपना देख्नुभन्दा आफूलाई बदल्ने काममा लाग्नु नै अहिलेको आवश्यकता हो । हामीलाई अहिले नायक भन्दा पनि समुहमा मिलेर काम गर्न सक्ने नेता चाहिएको छ । समुहमा काम गर्दा एकल प्रयासमा काम गरेको भन्दा अवश्य पनि सजिलो हुन्छ अनि सबैलाई मान्य पनि हुन्छ ।

त्यसैले अब हामीले समाजको रुपान्तरण गर्नु छ, देशको मुहार फेर्नु छ भने एकल नायक बन्ने लालच हटाएर हामी सामूहिकरुपमा आफ्नो कर्तव्य सम्झेर काम गर्नुपर्छ । अधिकार चाहिँ खोज्ने तर कर्तव्यमा ध्यान नदिने बानीले गर्दा हामी धेरै पछि परेका छौं र अझै पनि बानी नसुधार्ने हो भने झन् पछि पर्ने निश्चित छ ।

सायद सूचनाको सहज पहुँच र नयाँ शिक्षाले गर्दा होला, तुलनात्मक रुपमा पुराना पुस्तामा भन्दा नयाँ पुस्ता ९विक्रम सम्वत् २०५० भन्दा पछि जन्मेको पुस्ता०मा एकल नायक बन्ने भावना अलि कम भएको देखिन्छ ।

राजनीति भनेको एउटा देशको दिशा निर्देशित गर्ने विषय हो, एकल नायकको होडमा लाग्नेहरु नेतृत्वमा गए भने पुरै देश नै गलत दिशातर्फ लाग्न सक्छ । त्यसैले त्यो दूषित सोचाइ भएका पुराना पुस्ताका राजनीतिज्ञहरुले अब विदा लिएर स्वच्छ राजनैतिक प्रणालीको विकास नगर्दासम्म नेपालमा विकास र सुशाशन हुन मुस्किल छ ।

अहिलेको समयमा देशको दिशा प्रष्ट छ, विकास र सुशाशनका लागि खासै ठूलो चुनौती पनि छैन, एकल नायक बन्ने लालच छोडेर समुहगतरुपमा सबैले आ-आफ्नो क्षेत्रबाट आफ्नो काम फत्ते गरेमा विकास र सुशासन देख्न हामीलाई एक दशक पनि कुर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment