Comments Add Comment

महामारीले रोक्दैन दशैंको रेमिट्यान्स

दशैंमा परिवारको खुसी घटेको देख्न कोहि चाहँदैनन्

२९ असोज, काठमाडौं । बहराइनको मानामास्थित एक सुपरमार्केटमा काम गर्ने चितवनका मधु पन्तले आइतबार दशैंका लागि घरमा खर्च पठाए । घरको दुःख हटाउने सपना बोकेर विदेशिएका उनलाई जसोतसो जोरजाम गरेर पैसा पठाउन सकेकोमा ठूलो सन्तोष मिलेको छ ।

‘कोरोना महामारी भएपनि गाउँघरमा दशैंको माहोल हुन्छ, खर्च हुन्छ, त्यही भएर खर्च त पठाउनै पर्छ,’ अनलाइनखबरसँग टेलिफोनमा पन्तले भने, ‘बालबच्चालाई नयाँ लुगा किनिदिनै पर्छ, घरमा मासु, मरमसला आदि चाहिहाल्छ ।’

उता साउदी अरेबियामा नारायण रिमाल कार्यरत कम्पनी महामारीपछि राम्रोसँग चलेको छैन । तर, सरसापटी गरेरै भएपनि उनले दशैं अघि नै घरमा खर्च पठाउनेवाला छन् ।

‘घरमा मिठोमसिनो जुटाउन र दानदक्षिणा गर्न यताबाट पैसा नहाली हुँदैन,’ उनी भन्छन्, ‘यो वर्ष कमाइ छैन, तर साथीभाइबाट समस्या टार्ने सुरमा छु ।’

हरेक साल दशैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवामा आर्थिक दबाब बढ्न थाल्छ । उनीहरुले नेपालमा परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने बेला हो, यो ।

यो वर्ष कोरोना महामारीले गर्दा स्वदेश, विदेश सबैतिर धेरै असहज अवस्था छ । विदेशमा धेरै नेपालीको कार्य अवधि (वर्किङ आवर) कटौती भएको छ । काम गरेर सयममै तलब नपाएका र पूरै कामविहीन बनेकाहरु पनि उत्तिकै छन् । महामारीका कारण धेरैको आम्दानी घटेको छ ।

अर्थविद तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्- कुनै बेला मासुभात खान दशैं नै पर्खिनुपर्थ्यो, नयाँ कपडा किन्न दशैं नै कुर्नुपर्थ्यो, यो अवस्था रेमिट्यान्सकै बलमा अन्त्य हुने चरणमा छ

महामारीका कारण असारयता एक लाख नेपाली रोजगारी गुमाएर फर्किएका छन् । यो वर्ष छुट्टी लिएर दशैं मनाउन नेपाल आउने नगन्य छन् ।

जे जति नेपाली युवा विदेशमा छन्, नेपालमा परिवारलाई दशैं खर्च पठाउने दबाबमा छन् । अधिकांश नेपाली श्रमिकले खुसी–खुसी यो दायीत्व पूरा गर्छन् पनि ।

दशैंमा बढ्ने रेमिट्यान्स

गत आर्थिक वर्ष २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स नेपाल भित्रियो । यसअनुसार महिनामा औसत ७२.९ अर्ब रेमिट्यान्स नेपाल आउने गरेको छ ।

गत वर्षको असोजमा करिब ७७ अर्ब र कात्तिकमा ७५ अर्ब रमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार सामान्यभन्दा चाडबाडका महिनामा बढी रेमिट्यान्स भित्रिने गरेको छ ।

चाडबाडको मुख्य सिजन असोज, कात्तिक र मंसिरमा करिब २६ प्रतिशत रेमिट्यान्स बढ्छ । गत वर्ष यी तीन महिनामा २२४ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो नियमित रेमिट्यान्स आप्रवाहभन्दा उच्च हो ।

नेपालमा सबभन्दा धेरै रेमिट्यान्स कारोबार गर्ने आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार महामारी भएपनि विगतमा जस्तै यो वर्ष पनि दशैंको मुखमा रेमिट्यान्स वृद्धिदर उच्च छ ।

‘अझै घटस्थापनापछि रेमिट्यान्स आउने क्रम उच्च विन्दुमा पुग्छ,’ उनले भने, ‘यो वर्ष दशैंमा धेरै नेपाली फर्किन पनि पाएनन्, त्यसले गर्दा बोकेर आउने पैसा पनि रेमिट्यान्सको च्यानलबाट आउँदैछ ।’

महामारीमा अवैध हुन्डी कारोबार घटेकाले औपचारिक रेमिट्यान्स आगमन दर बढ्ने उनको भनाइ छ ।

अहिले विदेशमा नेपाली श्रमिकसँग हुन्डी गर्ने गरी पैसा लिएर सुन, लागूऔषध लगायतका अवैध धन्दा गर्नेहरुको कारोबार प्रभावित छ । यसले गर्दा यो वर्षको दशैंमा औपचारिक रेमिट्यान्स आगमनले रेकर्ड ब्रेक गर्नसक्ने राष्ट्र बैंकका अधिकारीहरुको भनाइ छ ।

यो आर्थिक वर्षको सुरुकै महिनामा रेमिट्यान्स आप्रवाह २३ प्रतिशत बढेको थियो । साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आएको थियो । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स आप्रवाह २ प्रतिशत मात्र बढेको थियो ।

चाडबाडको समयमा रेमिट्यान्स बढ्ने भएकाले रेमिट कम्पनीहरुले पनि अफरहरु ल्याउने गर्छन् । दशैंमा आईएमई, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु मनी ट्रान्सफरलगायतले अफरहरु ल्याएका छन् । पैसा पठाउँदा विभिन्न उपहार अफर गरिएको छ ।

ऋण घटाउने रेमिट्यान्स

कुनै समय निम्न आयका नेपालीहरुले दशैं खर्चका लागि स्थानीय साहु महाजनकहाँ हात पसानुपर्थ्यो । अर्थविद दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार यसरी साहुसँग चर्को ब्याजमा लिएको ऋणले दशैं मनाउने चलन वैदेशिक रोजगारीले हटाइदिएको छ ।

दशैंमा गरिने रेमिट्यान्स उपभोगले अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेल्ने गरेको अर्थविदहरू बताउँछन्

विदेशबाट आउने रेमिट्यान्सले धेरै परिवारको दशैं उक्सिन्छ । त्यही भएर हरेक वर्ष दशैंमा रेमिट्यान्स आप्रवाह बढेको हुन्छ ।

गाउँघर र शहर बजारका धेरै घरधुरीका सदस्य काम या अध्ययनका लागि विदेश पुगेको सरकारी तथ्यांकहरुले देखाउँछन् । उनीहरुले जोगाएर होस् या साथीभाइसँग सापटी मागेर भए पनि दशैं खर्च पठाउँछन् ।

दशैं धेरै खर्च गराउने चाड हो । नयाँ कपडा किन्ने, अरु बेलाभन्दा निकै बढी माछामासुको जोहो गर्ने चलनले दशैं आर्थिक हिसाबले महँगो छ । उपभोगमा आधारित दशैं पर्वमा खानपिन र रमाइलो मात्र हैन, कोसेली किनमेल, यात्रा, दान–दक्षिणा तथा पूजा–आजामा पनि उत्तिकै खर्च हुन्छ । यस्तो महँगो पर्व सजिलो गरी मनाउन सकिने अवस्था विदेशमा कार्यरत नेपाली युवाले सिर्जना गरेका छन् ।

‘कुनै बेला मासुभात खान दशैं नै पर्खिनुपर्थ्यो, नयाँ कपडा किन्न दशैं नै कुर्नुपर्थ्यो, यो अवस्था रेमिट्यान्सकै बलमा अन्त्य हुने चरणमा छ,’ अर्थविद तथा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘दशैं हिजोभन्दा झन् महँगो हुन थालेको छ ।’

उनका अनुसार, अहिले गाउँघरका करेसामा खुर्सानी समेत फलाउन छाडिएको छ । सबै थोक बजारबाटै किन्ने चलन भित्रिएको छ । क्षेत्री भन्छन्, ‘सकेसम्म पाकिस्तानी बासमती चामल किनेर दशैं मनाउने चलन बस्न लागिसक्यो ।’

अर्का अर्थविद् नरबहादुर थापा रेमिट्यान्सबाट आउने रकमको ठूलो हिस्सा उपभोगमा सकिने गरेको बताउँछन् । रेमिट्यान्स मुख्य रुपमा दैनिक उपभोगमा खर्च हुने गरेकाले त्यसले नागरिकको जीवनस्तर सुधार्न भूमिका खेलेको उनको भनाइ छ ।

‘दैनिक उपभोगपछि शिक्षा, स्वास्थ्यमा खर्च भइरहेको छ । बाँकी पैसा बैंकमा बचत गर्ने गरेका छन्,’ उनी भन्छन्, ‘त्यसरी बचत गर्नुको प्रमुख उद्देश्य भनेको घडेरी खरिद, घर बनाउन र खेती गर्ने जग्गा किन्नका लागि हो । र, यो विल्कुल स्वभाविक हो ।’

दशैंमा गरिने रेमिट्यान्स उपभोगले अर्थतन्त्रलाई चलायमान गराउन ठूलो भूमिका खेल्ने गरेको अर्थविदहरू बताउँछन् ।

अर्थविद् क्षेत्रीका अनुसार हात मुख जोड्न धौ–धौ भएकाहरु नै बढीजसो कामका लागि विदेश पुगेका छन् । उनीहरुको ठूलो सपना भनेकै परिवारलाई खुसी राख्ने हुन्छ । त्यसैले विदेशमा बस्नेहरुले केही महिनाकै रकम जम्मा गरेर दशैंको सिजनमै घर पठाइदिन्छन् । यो वर्ष महामारीले आक्रान्त पारेको भएपनि उनीहरु परिवारको खुसी घटेको देख्न चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment