Comments Add Comment

सुदूरपश्चिममा गम्भीर खालका संक्रमितले उपचारै नपाउने चिन्ता

२९ असोज कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा अहिले १० भेन्टिलेटर र १३ आईसीयू छन् । तीमध्ये अस्थायी कोरोना अस्पतालमा ८ आईसीयू र ५ भेन्टिलेटर कोरोना संक्रमितकै लागि तयार गरिएको छ । बिहीबार साँझसम्म आईसीयू कक्ष भरिएको छ । ५ भेन्टिलेटरमध्ये दुईवटा मात्र खाली छ ।

अब जटिल प्रकारका बिरामी आएमा कहाँ राख्ने भन्ने चिन्ता अस्पताललाई छ । पछिल्लो एक सातामा आईसीयू र भेन्टिलेटरमा ११ जना भर्ना हुनुले सुदूरपश्चिम प्रदेशमा गम्भीर खालका संक्रमित बढेको संकेत गरेको छ ।

‘केही दिनयता संक्रमित बिरामीहरूको संख्या बढिरहेको छ’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने, ‘जटिल प्रकारका बिरामी बढ्न थालेका छन् । अब बिरामीलाई राख्ने ठाउँ अभाव हुन सक्छ ।’

सुदूरपश्चिम प्रदेशका ९ मध्ये ६ जिल्लामा भेन्टिलेटर र आईसीयूको सुविधा छैन । डडेल्धुरामा आईसीयू छ तर भेन्टिलेटर छैन । कञ्चनपुरको महाकाली अस्पतालमा ८ आईसीयू र ३ भेन्टिलेटर छ ।

पहाडी जिल्लामा भेन्टिलेटर र आईसीयू नहुँदा त्यहाँका जटिल प्रकारका संक्रमितलाई पनि कैलाली र कञ्चनपुर ल्याउनुपर्ने बाध्यता छ ।

सूचना अधिकारी श्रेष्ठले अहिलेजस्तै संक्रमितको चाप बढेमा जटिल खालका बिरामीले पनि उपचार पाउन समस्या हुन सक्ने बताए ।

सेती अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर यही गतिले संक्रमित बढ्न थाले अस्पतालमा राख्न नसक्ने अवस्था आउने बताए । उनले तत्कालका लागि सेती प्रादेशिक अस्पतालमा मात्रै ५० शय्याको भेन्टिलेटर र आईसीयू आवश्यक पर्ने बताए । ‘कोरोना नहुँदा पनि पुग्ने गरी भेन्टिलेटर र आईसीयू थिएन’ उनी भन्छन् ‘अहिले त झन् पुग्ने कुरै भएन ।’

प्रदेशमा भेन्टिलेटर र आईसीयूका लागि आवश्यक पर्ने एनेस्थेसिया र फिजिसियन चिकित्सक अभाव रहेको डा. कमरले बताए।

के गर्दैछ प्रदेश सरकार ?

सुदूरपश्चिम प्रदेश सरकारले गत बर्ष १० भेन्टिलेटर र १० आईसीयू खरिद गरेको थियो । प्रदेश सरकारले यस बर्ष पनि थप भेन्टिलेटर र आईसीयू खरिदका लागि बजेट विनियोजन गरेको जनाएको छ ।

कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर र आईसीयूका लागि संघीय सरकारले २ करोड रुपैयाँ उपलब्ध गराइसकेको तथा डडेल्धुरा अस्पतालमा ३ करोड रुपैयाँ दिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी नरेन्द्र कार्कीले जानकारी दिए ।

प्रदेशमा अहिल्यै भेन्टिलेटर र आईसीयू अभाव नभए पनि संक्रमित बढ्न थालेपछि अपुग हुन सक्ने उनले बताए ।

‘अहिले त्यस्तो कमी भयो भन्न सकिँदैन तर, संक्रमित बढिरहेका छन् । यसले पक्कै पनि पुग्ने अवस्था छैन’ उनले भने, ‘हामीले भेन्टिलेटर र आईसीयू थप गरिरहेका छौं ।’

उनले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि संघीय सरकारसँग ३ जना एनेस्थेसिया र ३ जना फिजिसियन चिकित्सक माग गरेको बताए ।

कोरोनाका जटिल प्रकारका बिरामी बढ्न थालेपछि प्रत्येक जिल्ला अस्पतालमा २ बेडको आईसीयू र २ भेन्टिलेटर राख्ने तयारी भइरहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment