Comments Add Comment

डोटीमा एक महिने बालकमा कोरोना संक्रमण

२९ असोज, डोटी । डोटीको बोगटान फुडसिल गाउँपालिका–५ का एक महिने बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा एक महिने बालकमा संक्रमण पुष्टि भएको बोगटान फुडसिल गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम बोगटीले जानकारी दिए । उनका अनुसार संक्रमित शिशुको आमा र बुवालाई पनि कोरोना संक्रमण देखिएको छ ।

रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेका उनीहरु दसैँ मनाउनका लागि घर आएका थिए । असोज २१ गते गाउँ आई गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनीहरुको मंगलबार स्वाब संकलन गरिएको थियो ।

संक्रमण पुष्टि भएका शिशु आमाबुवासँगै पालिकाको आइसोलेसनमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बोगटीले बताए । उक्त वडामा बिहीबार पाँच जनामा संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ९ जना संक्रमित

डोटीको दिपायल सिलगढी नगरपालिका–६ मा कन्ट्याक्ट ट्रेसिङ्गमा परेका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंबाट आएका एक जनामा असोज २५ गते कोरोना संक्रमण देखिएपछि उनीसंगै आएका र उनको सम्पर्कमा आएका गरी नौ जनामा कोरोना संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका नौ र भारतबाट आएका तीन गरी उक्त वडामा बिहीबार मात्रै १२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढ्दै गएपछि वडा कार्यालयले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

बिहीबार माइकिङ गर्दै वडा कार्यालयले अत्यावश्यक कामका लागिबाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । साथै वाहिरबाट वडाभित्र प्रवेश गर्नेहरुले अनिवार्य रुपमा पीसीआर परीक्षण गरेर आउन वडा कार्यालयले सूचना जारी गरेको छ ।

डोटी जिल्लामा बिहीबार देखिएका २६ जनासंगै कुल संक्रमितको संख्या एक हजार एक सय ७२ पुगेको छ । जिल्लामा ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय, डोटीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment