Comments Add Comment

कारागारमा एक सातामा दुई संक्रमितको मृत्यु, १६ जनाको मात्रै पीसीआर जाँच

३० असोज, विराटनगर । जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका इटहरी- ४ सुनसरीका २० वर्षीय युवकको २३ असोज बिहान मृत्यु भयो ।

उनलाई अघिल्लो दिन बिहान कोशी अस्पताल भर्ना गरिएको थियो । कोरोना पोजेटिभ देखिए पनि उनले समयमा नै उपचार पाएनन् ।

१४ असोज बेलुका लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका इटहरी कै २७ वर्षीय युवकको मृत्यु भयो । बेलुका श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

तर अस्पताल ल्याएको करिब एक घण्टापछि चिकित्सकले मृत घोषित गरे । चिकित्सका अनुसार अस्पताल आइनपुग्दै उनको मृत्यु भइसकेको थियो ।

एक साताको अन्तरमा ज्यान गुमाएका दुई संक्रमितलाई अन्य कुनै शारीरिक समस्या थिएन् । एक्कासी कोरोना संक्रमण देखिएपछि उनीहरुको मृत्यु भयो ।

दुई संक्रमितको मृत्यु भए पनि कारागारभित्र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भएन् । कन्ट्याक ट्रेसिङ नहुँदा क्षमताभन्दा तीन गुणा बढी संक्रमित रहेको कारागारमा संक्रमणको जोखिम उच्च छ । कारागार प्रशासन भने बिरामी भएमात्र कोरोना जाँच गर्ने भन्दै बसेको छ ।

मोरङ कारागारका जेलर सुवास लामिछानेका अनुसार कारगारमा रहेकाहरु मध्ये हालसम्म १६ जनाको पीसीआर गरिएको छ । तीमध्ये ६ जनाको पोजेटिभ आएको छ । दुई जनाको मृत्यु भएको छ ।

लक्षण नदेखिए नगर्ने

जेलर लामिछानेका अनुसार मोरङ कारागारमा कैदी बन्दीको संख्या ९२२ छन् । तर महिला पुरुष गरी कारगारको क्षमता भने ३०० मात्र हो । क्षमताभन्दा तीन गुणा बढी संक्रमित रहेकाले कारागार प्रशासनले अस्पताल भर्ना गर्नु पर्ने बाहेक अन्यको कोरोना जाँच गरेको छैन् ।

जेलर लामिछाने कारागारभित्र सतर्क रहन सबैलाई आग्रह गरिएको बताए । धेरैलाई संक्रमण देखिए व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रशासनले स्वास्थ्यमा समस्या देखिए तुरुन्तै अस्पताल पुर्‍याउँदै आएको छ । ‘अस्पताल भर्ना गर्नु परेका १६ जनाको पीसीआर गरिएको छ,’ उनले भने, ‘६ जनाको पोजेटिभ आएको थियो, चारजना उपचाररत छन् ।’

कारागार प्रशासन स्रोतका अनुसार १४ असोजमा मृत्यु भएका पुरुष रहेको ब्लकमा ३० जना बस्थे, २३ गते मृत्यु भएका युवकको ब्लकमा पनि सोही मात्रामा कैदी बन्दी बसेका थिए । तर उनीहरुको क्लोज कन्ट्याकमा रहेकाहरुको पनि पीसीआर जाँच भएन् ।

‘संक्रमितलाई राख्नका लागि कारागारभित्र आइसोलेसन बनाएको छ,’ उनले भने, ‘सबैको पीसीआर गर्ने भन्दा पनि लक्षण देखिएकालाई तुरुन्त अस्पताल लगिरहेका छौं ।’

सर्वाेच्च अदालतले कैदी बन्दीको पीसीआर जाँच गरी संक्रमितका लागि सरकारका नाममा छुट्टै आइसोलेसन बनाउन परमादेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आइसोलेसनको व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

परमादेश जारी भएपनि पोजेटिभ देखिएकालाई राख्ने छुट्टै आइसोलेसन नहुँदा मोरङ कारागारमा पीसीआर जाँच भएको छैन ।
मानव अधिकार आयोग प्रदेश १ का प्रमुख मोहनदेव जोशी कारागारले व्यवस्थापन गरेको आइसोलेसन र सतर्कताका विषयमा आयोगले अनुगमन गरेको बताए ।

आयोगको केन्द्रीय टोलीले देशभरका १८ वटा कारागारको अनुगमन गरेको बताउँदै उनले अनुगमनको प्रतिवेदन केही दिनभित्र सार्वजनिक हुने बताए । उनले सबैको मानव अधिकारको रक्षा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment