
दुःख कष्ट तनमा जति भोगुँ
छैन शान्ति मनमा कति खोजुँ ?
स्वावलम्बन कता छ इमान ?
राख्न दिन्नँ अब बन्धक शान ।
जिन्दगी कति चलोस् भर छैन ?
किन्न न्याय, नसके धर छैन
छैन लोभ मनमा किन झुक्नु
स्वाभिमान धन हो किन चुक्नु ?
बन्द ओठ नखुले अझ हेप्छन्
सास फेर्न नदिई अझ चेप्छन् ।
देख्छु दुख्छु सपना म नजाती
थप्छ चोट सरकार ममाथि ।
खेल्छ छर्छ भ्रम नाटक आज
उड्छ चालकविना कि जहाज ?
चल्छ घट्ट नहुँदा कि मदानी ?
हुन्छ दाइँ कि मियो नहुँदा नि ?
हात पाउ रहँदा बल टम्म
देशभित्र नसकी अझ जम्न ।
पोख्न बाध्य पसिना परदेश
बालवृद्ध जन छन् घरदेश ।
रोग शोक तनमा बल छैन
उठ्छ देश कसरी गल छैन ।
रुन्छ रात निदरी पर भाग्छ
देख्छु जीर्ण धरती भय जाग्छ ।
गर्न क्रान्ति म हिँडें अब साथी
चन्द्रसूर्य छ ध्वजा शिरमाथि ।
बोक्छु देश शिरमा म सजाई
आँट आज भरिदे तँ मलाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4