Comments Add Comment

ठप्पै भयो ओली–प्रचण्ड भेटवार्ता

२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता पाँच दिनदेखि रोकिएको छ । गएको २८ असोजमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि रोकिएको ओली–प्रचण्ड भेटवार्ता कहिले हुने भन्ने अन्योल नै छ ।

असोज ६ को सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने गरी मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । उक्त म्याद गुज्रिसकेको छ । अझ एकताको बाँकी काम टुंग्याउने गरी छलफल सघन हुनुपर्ने बेला राम्रोसँग टेलिफोन सम्वादसमेत हुन सकेको छैन ।

यो पाँच दिनमा हिजो (शनिबार) एक पटक टेलिफोन वार्ता भएको छ । त्यो पनि कर्णालीको विवाद टुंग्याउन भन्दै ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । तर, प्रचण्डले आफूले छुट्टै कुरा गरिसकेको भन्दै प्रधानमन्त्रीको निवास बालुवाटार नआउने जानकारी दिए ।

विभाजनकै नजिक पुगेर सहमति कायम भएको नेकपाले आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्नेगरी पार्टी गतिविधि बढाउने निर्णय गरेको छ ।

त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठनलाई प्राथमिकतामा राखेर ओली–प्रचण्ड बीच छलफल बाक्लिएको थियो । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्दा ओलीले प्रचण्डको सहमति नलिएपछि भेटवार्ता ठप्पै भएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट तीन जना (विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ) लाई नयाँ मन्त्री नियुक्त गरेका छन् भने दुई मन्त्री (ईश्वर पोखरेल र पार्वत गुरुङ) को जिम्मेवारी हेरफेर गरेका छन् । भदौ २६ को स्थायी कमिटी बैठकले कार्यसम्पादनका आधारमा मन्त्रिपरिषद् पुनर्गठन निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठनबाटै दुई अध्यक्षबीच देखिएको चिसोपनाले एकताका बाँकी कामहरु टुंग्याउँदै एकताको महाधिवेशनसम्म पुग्ने कार्यतालिका भने प्रभावित हुने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment