Comments Add Comment

कोरोना महामारी र विपदमा सेनाको भूमिका सह्रानीय : प्रधानमन्त्री ओली

२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढी, पहिरो र डुवानजस्ता विपदमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको सह्राहना गरेका छन् ।

आइतबार नेपाली सेनाको पृतनापतिहरुको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै काम उच्च राष्ट्रिय महत्वको हुने बताए । सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सेनाले गरेको गरेको ‘अपरेसन नाम्फा जोगाउ’ कार्यक्रमको पनि ओलीले उच्च मूल्याङ्कन गरेका छन् ।

विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट सेनाले गरेको जनचेतना अभिवृद्धिको काम पनि उल्लेखनीय रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि प्रशंसा गरेका छन् । ‘सायद समयमै सेनाले यस कार्यलाई सहर्ष कार्यान्वयन गर्ने कार्य सुरु नगरेको भए यसमा थुप्रै अप्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था सिर्जना हुन सक्थ्यो’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय रहेको पनि बताएका छन् । नेपाल सरकारले गत आर्थिक वर्षबाट थालनी गरेको कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनलाई हेर्दा नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको पनि उनले बताएका छन् ।

अहिले कोरोना महामारीको समयमा सेनाका केही कार्यक्रमहरु अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले परिस्थितिमा सुधार भई थप बजेट निकासा गर्न सकिने सम्भावना भएमा सेनाका प्रभावित कार्यक्रम प्राथमिकतामा राख्न विशेष पहल गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

अहिले विभिन्न आवरणमा जातीय, भाषिक, धार्मिक र क्षेत्रीय आधारमा साम्प्रदायिक भावना फैलाउन खोज्ने र जनतामा विभाजन ल्याउन उद्यत तत्वहरु सक्रिय भएको उनले टिप्पणी गरेका छन् ।

राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा चनाखो हुन नेपाली सेनालाई आग्रह गरेका छन् । ुविशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्दछ भन्ने सन्देश प्रवाह गर्न चाहन्छुु उनले भने।

प्रधानमन्त्री ओलीले काठमाडौं–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको लक्ष्यबमोजिम कार्य सम्पन्न गर्नेतर्फ नेपाली सेनाको थप ध्यानकेन्द्रित हुनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय कन्सल्टेन्ट छनोट भइसकेको भन्दै उने अब लक्ष्‍य अनुसार सेनाले ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

त्यस्तै नेपाली सेनाको जिम्मेवारीमा रहेको दार्चुला–टिङ्कर खण्ड तथा संखुवासभा–किमाथांका सडक निर्माण पनि सेनाले तदारुकताका साथ सम्पन्न गर्नुपर्ने प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment