Comments Add Comment

दसैंमा सुस्ताएको पुस्तक बजार : के के छापिए ?

३ कात्तिक, काठमाडौं । लकडाउनका बेला साहित्यिक पुस्तकहरुको प्रकाशन र विक्री पूर्णतः बन्द भए । एकाध प्रकाशक र बिक्रेताले अनलाइनमार्फत पुस्तक बिक्री गरे पनि आम व्यवसाय ठप्प भयो । भारतबाट पुस्तकहरु आउने क्रम त करसम्बन्धी विवादले लगडाउनअघि नै रोकिइसकेको थियो ।

लकडाउन खुलेपछि भदौको सुरुमा पुनः निषेधाज्ञाका रुपमा लागू भएपछि पुस्तक बजार शुन्य बन्न पुग्यो । तर, असोज लागेसँगै बजारमा नयाँ पुस्तक प्रकाशनको सामान्य लहर चल्यो । अहिले अधिकांश प्रकाशन गृहले दसैंलाई लक्षित गरेर साहित्य र गैरसाहित्य दुवै विधाका केही नयाँ पुस्तकहरु प्रकाशन गरेका छन् । तर, विगतमा जस्तो यसपालिको दशैंमा पुस्तक मेलाहरु भएनन् । र, पुस्तकको विक्री पनि नगन्य रह्यो ।

दसैं आसपास नयाँ पुस्तक प्रकाशन गर्ने चलन पुरानै रहेको प्रकाशकहरू पनि बताउँछन् । यो वर्ष लामो समयको बन्दाबन्दीपछि दसैं अगाडि नै बजार खुलेका कारण प्रकाशकहरूले नयाँ पुस्तकमा नै जोड दिइरहेका छन् ।

दसैंताका फाइन प्रिन्ट, बुकहिल, नेपालय, सांग्रिला, मञ्जरी तथा शिखालगायत प्रकाशन गृहका दुई दर्जन नयाँ पुस्तक बजारमा आएको छ । यस्तै चर्चामा रहेका पुराना पुस्तकको पुनःमुद्रण पनि भइरहेको छ ।

दसैं सेरोफेरोमा नै पुस्तक व्यापारमा बढ्नुमा ठूला पुरस्कार घोषणाको पनि प्रभाव रहेको प्रकाशकहरू बताउँछन् । मदन पुरस्कार, पद्मश्री पुरस्कारलगायत अन्य स्थानीय साहित्यिक पुरस्कार दसैं आसपास नै घोषणा गरिने हुँदा पाठकको रोजाइमा पुरस्कारप्राप्त कृति बढी पर्ने गर्छ

फाइन प्रिन्टका निरज भारीका अनुसार लामो समयको बन्दाबन्दीपछि बजार खुल्दा चहल–पहल बढेको हो । निरज भन्छन्, ‘नयाँ पुस्तकको संख्या बढ्दा बिक्री बढेको देखिए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष पुस्तक बजार ठप्प छ ।’

क्रमवद्ध रुपमा नयाँ पुस्तक आउँदासमेत बजारमा उत्साह नआएको अनुभव  निरजको छ । यसैले फाइन प्रिन्टले दसैं भनेर अघिल्लो वर्षको जस्तो जोडबल गरेको छैन ।

फाइन प्रिन्टले दसैं सेरोफेरोमा विजयकुमारको निबन्ध ‘सम्बन्धहरू’, अर्थशास्त्री विश्वम्भर प्याकुरेलको आत्मसंस्मण, ददि सापकोटाको ‘वनको वैभव’, असीम सागरको कविता ‘क’लगायत आधा दर्जन नयाँ पुस्तक सार्वजनिक गरेको छ ।

बुहहिल प्रकाशनले पनि दसैंको सेरोफेरोमा तीन थान अनुवाद कृतिसहित आधा दर्जन नयाँ पुस्तक सार्वजनिक गरेको छ ।

बुकहिलका भूपेन्द्र खड्काका अनुसार अघिल्लो वर्षभन्दा निकै कममात्र पुस्तक बिक्री भइरहेको छ । खड्का भन्छन्, ‘अघिल्लो वर्षको दसैंको तुलनामा यसपल्ट एकतिहाइ मात्र पुस्तक बिक्री भएको छ । यसैले बजारले गति लिन अझै केही महिना लाग्छ ।’

पाठकलाई नयाँ खुराक दिन लकडाउनकै अवधिमा पनि बुकहिलले नयाँ पुस्तक प्रकाशन तथा पुनमुद्रण गरेको खड्काले बताए । प्रकाशकहरूको आफ्नो अस्तित्व र पाठनको संस्कार निरन्तरता दिनमात्र नयाँ पुस्तक प्रकाशन गरिरहेको उनको मत छ ।

डेढ दशकदेखि पुस्तक व्यवसाय र प्रकाशन गर्दै आएका शिखा बुक्सका पुष्पराज पौडेलको पनि यो वर्ष पुस्तक बजार ओरालो लागेको अनुभव छ । उनी भन्छन्, ‘अघिल्लो वर्षको दसैंसम्म कायम रहेको बजार अहिले ठप्पप्रायः छ । यद्यपि, पुरस्कार घोषणा र अनलाइन विमर्शहरूले गर्दा केही स्थापित लेखकको पुस्तक बिकिरहेकै छ ।’

कोरोनाको भयले पाठकको मनोविज्ञानमा समेत प्रभाव परेको पौडेल बताउँछन् । ‘साहित्यिक गतिविधि, पुस्तक मेला र खुला बजार भएमा पुस्तक बिक्री बढ्छ’ पौडेलले भने, ‘यो वर्ष सार्वजनिक कार्यक्रम नै नभएपछि बजारमा प्रभावित हुनु स्वभाविक हो ।’

दसैं सेरोफेरोमा नै पुस्तक व्यापारमा बढ्नुमा ठूला पुरस्कार घोषणाको पनि प्रभाव रहेको प्रकाशकहरू बताउँछन् । मदन पुरस्कार, पद्मश्री पुरस्कारलगायत अन्य स्थानीय साहित्यिक पुरस्कार दसैं आसपास नै घोषणा गरिने हुँदा पाठकको रोजाइमा पुरस्कारप्राप्त कृति बढी पर्ने गर्छ । पुस्तकालय तथा क्याम्पसहरूमा समेत दसैंका अवसरमा पुस्तक खरिद गर्ने चलन रहेको छ ।

फिनिक्स बुक्सका गणेश सुवेदी नयाँ पुस्तकको मागसँगै पुराना पुस्तकको माग पनि उत्तिकै भएको सुनाउँछन् । फिनिक्सले पुनःप्रकाशन गरेका ‘पारिजातका सम्पूर्ण कृतिहरू’,  सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ (चार भाग), बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ निरन्तर बिक्री भइरहेको उनले बताए ।

संख्यात्मकरुपमा नयाँ पुस्तक प्रकाशन गर्ने तथ्यांकमा सांग्रीला बुक्स अगाडि छ । सांग्रिलाले लकडाउनको समयमा पनि आन्तरिक काम गरिरहेको थियो । अहिले सांग्रिलाले रमेशनाथ पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’, पूर्वप्रधानन्यायाधिस मीनबहादुर रायमाझीको संस्मरण, गोविन्द टण्डनको ‘इतिहासका थप पृष्ठहरू’ सार्वजनिक गरेको छ ।

सांग्रीलाका मणि शर्माका अनुसार लकडाउनमा नयाँ लेख्ने र सम्पादन गर्ने काममा झन् बढी समय मिलेकाले दसैंछेका प्रकाशन संख्या वृद्धि भएको हो ।

अहिले संख्यात्मक रुपमा गैरआख्यानको प्रकाशन बढी देखिएको छ भने त्यसपछि आख्यान र कविता बढी छापिनेमा पर्छ । सदाझैं चर्चित व्यक्तिहरूको आत्मकथा प्रकाशनको क्रम टुटेको छैन ।

खगेन्द्र संग्रौलाको अनुवादमा ‘सत्ता र सत्य’, सुजित मैनालीको अनुवादमा ‘युगान्तः महाभारतको महामृत्यु’, गनेस पौडेलको अनुवादमा ‘मुसा मानुष’ यसै महिना सार्वजनिक भएका छन् । समकालीन २० युवाहरूको कथा समेटिएको ‘छकालै’, कोरोनाकालमा लेखिएका कथाहरू समेटिएको ‘कोभिड कथा’ र सात कविका ‘यतै कतै’ पनि प्रकाशित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment