Comments Add Comment

तस्करी रोक्दा घरेलु हतियारले हानेर असई र जवानको हत्या, ७ जना पक्राउ

फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भएको खुलेको छ ।

घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको उल्लेख गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता देखिएको छैन । अन्यले भने अभियोग स्वीकारेका छन् ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।

सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीका अधिकारीहरुले खोज्दा पनि शव नभेटिइरहेका वेला पक्राउ परेका अभियुक्तले दुवैको हत्या स्वीकारेपछि खोजीलाई थप साँघुरो बनाइएको थियो । यसक्रममा विकको शव भेटिएको स्थानबाट २ सय मिटर उत्तर–पूर्वतर्फ मंगलबार साउदको शव भेटिएको थियो ।

यो पनि पढ्नुहोस तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

जमिनबाट करिब आधा फिट बालुवामा गाडिएको अवस्थामा उनको शव भेटिएको एसएसपी सिंह बताउँछन् । उनका अनुसार खाल्डोमा शवलाई फ्याँकिएको थियो भने त्यसक्रममा नदीले बालुवा बगाउँदा पुरिएको पनि हुनसक्छ ।

जवान साउदको टाउकोमा लाठी र गर्धनमा फरुवाको जस्तो चोट देखिएको छ । असई विकको हराएको पेस्तोल र मोबाइल पनि नजिकै भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले पत्रकार सम्मेलन गरेर मंगलबार घटनाबारे सार्वजनिक गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment