
सम्माननीय प्रधानमन्त्री ज्यू,
तपाईंको नेतृत्वको सरकारले ‘कोरोना संक्रमितले आफैं उपचार खर्च ब्यहोर्नू’ भनेर जनताका नाममा आदेश गरेकै दिन झापा जिल्लाको दमक निवासी कोरोना संक्रमित ६७ बर्षीया प्रेमकुमारी खड्काको निधन भयो ।
त्यसो त उक्त दिनमात्र देशभरका कोरोना संक्रमितहरु मध्ये १८ जनाले ज्यान गुमाए । तर, प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्रकी प्रेमकुमारी खड्काको ब्यथा वयान गरेर तपाईंलाई सुनाउन उपयुक्त लागेर सुनाउँदैछु । तपाईंलाई भेट्न पाएको भए भेटेर सुनाउँथें, तर म भित्रिया परिनँ । केही पहिले भेट्न कोसिस गरेको थिएँ । तर, तपाईका आसेपासेले महत्व दिएनन् । त्यसकारण लेखमार्फत यो पत्र लेख्दै छु ।
प्रेमकुमारी खड्का केही दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा उपचार गरी निको भएर घर फर्किनुभएको थियो । तर, घर फर्किएपछि उहाँलाई थप गार्हो भएकाले पुन : अस्पताल गएर उपचार गरिरहनुभएको थियो । एक्कासी उहाँको अक्सिजनको मात्रा घट्यो र डाक्टरले आइसीयुमा राखेर उपचार गर्नु जरुरी रहेको बताए । तर, तपाईं निर्वाचित हुनुभएको क्षेत्रको दमकका कुनै अस्पतालमा आईसीयू पाइएन । थोरै संख्यामा रहेका आईसीयू पनि खाली थिएनन् ।
उहाँको स्वास्थ्य अवस्था झन जटिल बन्दै थियो । डाक्टरले भेन्टिलेटर जरुरी भएको बताए । कुनै उपाए नलागेपछि मलाई सम्पर्क गरेर उहाँका छोराले दशैंका मुखमा आमाको जीवन बचाइदिन याचना गरे । मैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्षलाई सम्पर्क गरें । त्यहाँ आईसीयु र भेन्टिलेटर केही पनि खाली थिएन । उहाँले संक्रमित भएका त्यहीँ कार्यरत डाक्टर र नर्सहरुका लागि समेत पर्याप्त ब्यवस्थापन हुन नसकेको बताउनुभयो ।

त्यसपछि मैले बिराटनगरमा रहेको नोवल मेडिकल कलेजका अध्यक्ष सुनील शर्मालाई सम्पर्क गरें । उहाँ आफैं संक्रमित भई भर्खरै कोरोना जितेर काममा फर्किनुभएको थियो । मैले उहाँलाई सबै विवरण सुनाएर आईसीयू/भेन्टिलेटर जुटाएर एउटी आमाको जीवन बचाइदिन अनुरोध गरें । उहाँले पनि आईसियु र भेन्टिलेटर खाली नभएकाले सहयोग गर्न नसक्ने भन्दै अन्यत्र बुझ्न सुझाउनुभयो ।
त्यसपछि मैले बिराटनगरमै रहेको बिराट मेडिकल अस्पतालका फाउण्डर अध्यक्ष डा.ज्ञानेन्द्र कार्कीलाई सम्पर्क गरें । कोरोना महामारीबाट उहाँ आफैं पनि गम्भीर परिस्थितिको सामना गरेर निको हुनुभएकाले यस्तो समयमा बिरामीको अवस्था र परिवारको अपेक्षा कस्तो रहन्छ, उहाँलाई हेक्का थियो ।
मैले उहाँलाई पनि आईसीयू र भेन्टिलेटर मिलाइदिन अनुरोध गरें । मेरो अनुरोधलाई गम्भीरतापूर्वक लिँदै उहाँले अस्पताल प्रशासनमा बुझ्नुभयो । तर, त्यहाँ पनि खाली रहेनछ ।
यद्यपि उहाँले मलाई निराश नबनाउन बिरामीको विवरण म्यासेज गर्न भन्नुभयो । खाली भएलगत्तै तपाईको बिरामीलाई प्राथमिकता दिन्छु भनेर सहानुभुति देखाउनुभयो ।
मलाई साथी प्रेम खड्काले बारम्बार फोन गरेर आज आईसियू र भेन्टिलेटर मिले आमालाई बचाउन सकिन्थ्यो कि भनेर भनिरहनुभएको थियो । डा.ज्ञानेन्द्र कार्कीले एक दिनपछि भए सघन बेड मिलाउँछु भन्नुभएको थियो । आमाले सघन उपचार कक्षमा बाँच्ने आशामा रोगसँग लडिरहनुभयो ।
यो सन्दर्भ यही गत कात्तिक २ गते आइतबारको हो । त्यस दिन आईसीयु र भेन्टिलेटर खोज्दा बुझ्दा नै रात बित्यो । सायद धनाढ्य भएको भए प्रेमजीले हेलिकप्टरबाट काठमाडौंको सुविधायुक्त अस्पतालमा आमाको उपचार गरेर बचाउनुहुन्थ्यो होला । तर, सबै जनतासँग त्यो सामर्थ्य कहाँ हुन्छ र ?
भोलिपल्ट सोमबार बिहानै प्रेमजीले मलाई फेरि बिराट मेडिकल अस्पतालसँग कुरा गरिदिन भन्नुभएको थियो । डा.कार्कीले मलाई सायद ११ बजेतिर ‘बिरामीलाई पठाइदिनू, आईसियु खाली गरेको छु’ भनेर फोन गर्नुभयो । मैले प्रेमजीलाई तत्काल खबर गरें । आमालाई बचाउन सकिने भयो भनेर उहाँले खुसी हुुँदै फोन राख्नुभयो ।
तर, अपशोच १.३० तिर प्रेमजीको फोन आयो, ‘दाइ धेरै ढिला भएछ, आमालाई बचाउन सकेनौं, बिराटनगर लैजाँदै गर्दा पथरी (मोरङ) मा आमा बित्नुभयो ।’
प्रेमजीको कुरा सुनेर म अवाक् र किंमकर्तव्यविमूढ भएँ ।
प्रधानमन्त्री ज्यू !
सरकार सांसदलाई दशैं भत्ता दिनतिर, ओम्नी, यतिलाई देश ठेक्का दिनतिर, मन्त्रिमण्डल हेरफेरमा चलखेल गर्नतिर र राजदूत नियुक्तिमा समय वर्वाद गर्नतिर नलागेर तपाईंको उपचारमा जत्तिकै जनताको उपचारमा पनि सजकता अपनाउनतिर लागेको भए परिस्थिति यस्तो भयावह नहुन पनि सक्थ्यो ।
आखिर जीवन त सबैको उही नै हो नि ! एउटा मात्र आईसीयु र भेन्टिलेटर थप्न ध्यान दिएको भए आज प्रेमकुमारी आमाले ज्यान त गुमाउनुपर्ने थिएन । यसरी नै अरु आईसीयु र भेन्टिलेटर थपेको भए उहाँजस्तै अरु आमा-बुवाहरुले जीवन गुमाउनुपर्ने थिएन । आज उहाँका छोराछोरी टुहुरा हुने थिएनन् । अरु कैयौं छोराछोरी दशैंको मुखमा टुहुरा हुने थिएनन् । नजिकिएको दशैंमा नयाँ नाना लाएर चिची खाने नानीहरुको रहर अपूरो हुने थिएन ।
प्रधानमन्त्रीज्यू ! त्यो ठाउँमा आफूलाई राखेर एकपटक हेर्नुस त ! तपाईं राजनीतिमा नलागेर उहाँको ठाउँमा र प्रेमकुमारी तपाईंका ठाउँमा भएको भए अनि तपाईंलाई यो समस्या परेको भए के सोच्नुहुन्थ्यो होला ? एकपटक सोच्नुस त !
जनताले निर्वाचित गरेका जनप्रतिनिधिहरु पाँचतारे होटलको आइसोलेसनमा बसिरहेका बेला हाम्रो सरकार जनतालाई भने सःशुल्क उपचारको असंवैधानिक उर्दी लगाउन तल्लीन छ । जनताको जीवन रक्षा गर्ने आˆनो पहिलो र आधारभूत दायित्वबाट राज्य च्युत भएको यहाँ भन्दा भद्दा उदाहरण अरु के हुन सक्छ र ?
यस प्रकारको गैरजिम्मेवार शैली बदलेर यदि जनताको संकटको सारथी बन्न सक्दैन भने जनताले सरकार नामको सेतो हात्ती किन पाल्ने भन्ने यक्ष प्रश्न खडा भएको छ ।
कोरोना महामारीका कारण उत्पन्न बिषम परिस्थितिले गर्दा विश्व नै भयावह भएको बेला विकसित देशहरुका सरकारले अनेकन् प्रयास गरेर जनता बचाएका समाचारहरु हामीले सुनिरहेका छौं । जनता बचाउन आˆनो सबै शक्ति र सामर्थ्य प्रयोग गर्दागर्दै पनि जनताको जीवन बचाउन नसकिएका ठाउँमा राष्ट्रप्रमुखले भावबिहृवल भई जनतासँग माफी मागेका घटना र तस्वीरहरु पनि सार्वजनिक भएकै छन् ।
तर, नेपालको सरकार भने दैनिक संक्रमितको संख्या गन्न र राष्ट्रिय मिडियाबाट कर्कस ध्वनीमा संक्रमित ब्यक्ति र मृतकको संख्या भट्याउनमा नै तल्लीन छ ।
सरकार केवल आदेश र फर्मान् जारी गर्छ । हरेक दिन सरकार अनेक अर्ति र उपदेश मात्र हैन, जनतालाई धम्क्याउने र तर्साउने भाषासमेत बोल्छ । सरकारी अधिकारीहरुको प्रस्तुतिमा देश र जनताप्रति एकरत्ति चिन्ताभाव भेटिँदैन ।
आज देशभरि कहँ कतै अस्पतालका बेड खाली छैनन् । कतै पनि आईसीयु र भेन्टिलेटर खाली छैनन् । यो पत्र लेख्दासम्म उपत्यकामा कहीँ कतै अस्पतालमा बेड छैन भन्ने जानकारी पाएको छु । यस्तो बेला राज्यले जनतालाई साथ सहयोग गर्नुको सट्टा निराश बनाउनु हुँदैनथ्यो ।
सम्माननीय प्रधानमन्त्रीज्यू !
आजभन्दा अढाई बर्ष अगाडि झापाको निर्वाचन क्षेत्र नं. ५ मा तपाईकै सामुन्नेमा तपाईंलाई समग्र निर्वाचनकै ‘म्यान अफ द इलेक्सन’ बनाउन अपिल गर्दै मैले पनि जनतासँग भोट मागेको थिएँ । त्यतिबेला मैले जनता समक्ष नेकपाको सरकारलाई दुईतिहाई मत दिनुहोस् ,आफ्नै आँखा अगाडि, आˆनै पालामा समृद्ध नेपाल, सुखी नेपाली बन्नेछ भनेर भनेको थिएँ ।
यदि केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने त्यसले संविधानको कार्यान्वयन गर्नेछ, मुलुकमा विकास, समृद्धि र सुशासन युग आउनेछ अनि देशले जिम्मेवार र जनउत्तरदायी लोककल्याणकारी राज्य पाउनेछ भनेर भनेको थिएँ ।
प्रधानमन्त्री ज्यू ! अरु त यस्तै-त्यस्तै भयो, कहालीलाग्दो महामारीको यो अत्यन्तै अत्यासलाग्दो घडीमा समेत जनताले सरकारलाई आफ्नो साथमा पाउन सकेनन् । यस्तो बेलामा यो सरकारको के सन्देश बोकेर यसपालि दशैंमा म घर (झापा) जाऔं ? बुढा बा-आमा र त्यहाँका जनतालाई के भनेर भेटौं ?
– उही तपाईंको कार्यकर्ता/मतदाता रञ्जित तामाङ, काठमाडौं
(प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका बासिन्दा रञ्जित तामाङ नेकपाको भातृ संगठन अनेरास्ववियूका सहसंयोजक हुन्)
प्रतिक्रिया 4