Comments Add Comment

अमेरिकाको राष्ट्रपति निर्वाचन : नेपाल नीतिमा परिवर्तन आउला ?

५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपतिको निर्वाचन आउन अब दुई हप्ता पनि बाँकी छैन । रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीचमा नोभेम्बर ३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

अमेरिकामा आगामी राष्ट्रपतिको ? नेपालमा निकै चासो र कौतुहलता छ । वर्तमान राष्ट्रपति ट्रम्पले नै निरन्तरता पाउँदा नेपाल नीति कसरी अगाडि बढ्ला ? अनि बाइडेन निर्वाचित भए भने अमेरिकाको नेपाल नीतिमा कस्तो परिवर्तन आउला ? अमेरिकी निर्वाचनप्रति किन यति धेरै चासो ?

पहिलो, अमेरिका सुपरपावर हो । त्यहाँको नेतृत्वले लिने विदेश नीतिले विश्वका कुनै पनि मुलुकलाई धेरथोर प्रभाव पार्छ ।

दोस्रो, अमेरिका विगत ७० वर्षदेखि नेपालको विकास साझेदार हो र नेपालले अमेरिकासँग सहयोग र व्यापारको क्षेत्रमा अझै विस्तारित सम्बन्ध बनाउने नीति लिएको छ । ब्यापारका क्षेत्रमा नयाँ राष्ट्रपतिले लिने नीतिले पनि प्रभावित पार्छ । हरेक राष्ट्रपति निर्वाचनमा व्यापार नीति एक प्रमुख एजेण्डा बन्ने गर्छ ।

तेस्रो, नेपाल दुई छिमेकी मुलुक भारत र चीनको विचमा रहेको छ । अमेरिकाको भारतसँगको सम्बन्ध अहिलेलाई केही सेटल भएको जस्तो देखिन्छ । तर, चीनसँगको सम्बन्ध झन् चिसिँदै गएको छ । अमेरिका–चीन बढ्दो द्धन्द्धको बाछिटा काठमाडौँमा पर्न थालिसकेको छ ।

त्यसैले, नयाँ अमेरिकी राष्ट्रपतिले चीनको बारेमा लिने नीतिले केही हदसम्म नेपाल–चीन र नेपाल–भारत सम्बन्ध समेत प्रभावित हुनेछ । नेपाल नीतिमा धेरै परिवर्तन नआए पनि अमेरिकाको भारत र चीनसँगको सम्बन्ध र नयाँ प्रशासनले अपनाउने एसिया नीतिले नेपालसँगको सम्बन्ध धेर थोर प्रभावित हुन्छ ।

चौथो, अमेरिकमा धेरै नेपाली आप्रवासीहरु रहेका छन् तीमध्ये केही गैरकानुनी रुपमा पनि बसिरहेका छन् र नयाँ राष्ट्रपतिले लिने नीतिले नेपालीहरु प्रभावित हुनेछन् । यसबाहेक त्यहाँ रहेका केही नेपालीले आप्रवासनसम्बन्धी समस्या भोगिरहेका छन् ।

के–के छन् बाइडन र ट्रम्पका चुनावी एजेण्डा ?

वर्तमान राष्ट्रपति ट्रम्पले आफू निर्वाचित भएमा कर, रोजगारी सिर्जना र अर्थतन्त्रमा केन्द्रित हुने घोषणा गरेका छन् । उनले १० महिनामा एक करोड नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता गरेका छन् । त्यसैगरी, उनले नयाँ हेल्थ केयर कार्यक्रमसमेत ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले औषधी उपचारलाई अझ सुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उता बाइडनले भने आफू ५० वर्षदेखि राजनीतिमा रहेको भन्दै अहिले ट्रम्पले सिर्जना गरेको अराजकता अन्त गर्ने घोषणा गरेका छन् ।

उनले ट्रम्पले दोस्रो विश्वयुद्धपछि अमेरिकाले लिएको व्यापार नीतिमा परिवर्तन ल्याएको भन्दै त्यसलाई ट्र्याकमा ल्याउने घोषणा गरेका छन् । उनले जलवायु परिवर्तनको सम्बन्धमा ट्रम्पले लिएको नीतिमा पनि परिवर्तन ल्याउने बताएका छन् ।

मध्यमवर्गको अबस्थामा सुधार ल्याउने बाइडनको अर्काे महत्वपूर्ण एजेण्डा हो । वाइडेनले अमेरिकाको विदेश नीतिमा समेत महत्वपूर्ण परिवर्तन ल्याउने समेत अपेक्षा गरिएको छ । उनीसँग अमेरिकाको विदेश नीतिमा लामो समयदेखि काम गरेको अनुभव छ । उनले ओबामाको कार्यकालमा विदेश नीतिमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सुपरपावर र विदेश नीति

विश्लेषकहरुका अनुसार कुनै पनि सुपर पावरको विदेश नीतिमा कुनै राष्ट्रपतिको आगमन र निरन्तरताले आधारभूत नीतिमा त्यति परिवर्तन आउँदैन । कार्यनीति र प्राथमिकताहरुमा केही परिवर्तन आउन सक्छन्, तर वृहत रणनीति भने यथावत रहन्छ । दोस्रो विश्वयुद्धदेखि नै रिपब्लीकन र डेमोक्रेटिक पार्टी लिवरल इन्टरनेशनल अर्डर कायम राख्ने नीतिमा एकमत छन् ।

भूराजनीतिक विश्लेषक चन्ददेव भट्ट अमेरिका एक सुपरपावर भएकाले आन्तरिक नीतिमा केही परिवर्तन आए पनि बाहिरी नीतिमा खासै परिवर्तन नआउने बताउँछन् । उनका अनुसार अमेरिकाले विभिन्न क्षेत्र र मुलुकहरुसँग लामो रणनीतिक स्वार्थलाई लक्षित गरेर सम्बन्ध परिभाषित गरेको हुन्छ, जसले निरन्तरता पाउँछ ।

यद्यपि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अमेरिकाकेन्द्रित, संरक्षणवाद र अमेरिकाको ग्लोवल जिम्मेवारी कम लिने नीति अख्तियार गरे । उनी पुनः निर्वाचित भएमा यसले निरन्तरता पाउने सम्भावना रहेको छ र डेमोक्रेटिक उम्मेदवार विजयी भएमा यसमा परिवर्तन आउन सक्ने विश्लेषकहरु बताउँछन् । त्यसैले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ लगायतका संस्थालाई अहिले ट्रम्पले असहयोग मात्र गरेका छैनन् र तीब्र आलोचना पनि गरिरहेका छन् । ट्रम्प पुनः निर्वाचित भएमा के हुन्छ भन्न सकिँदैन । तर, बाइडेन आएमा त्यसमा केही परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ ।

अमेरिकी सहयोगमा कस्तो असर गर्ला ?

सन् सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि धेरैको विश्लेषण उनले अमेरिका केन्द्रित नीति लिने भएकाले अमेरिकाले नेपालाई दिने सहयोग प्रभावित हुने र अन्य आप्रवासीको समस्या झनै चर्कने आशंका व्यक्त गरेका थिए । यसवीचमा अमेरिकाले प्रजनन् स्थास्थ्यका लागि दिने सहयोगका केही सर्तहरु परिवर्तन गरेका कारण त्यसले नेपालमा केही असर गरेको विश्लेषण पनि गरियो । ट्रम्प प्रशासनले प्रजनन् स्वास्थ्यको क्षेत्रमा दिई आएको सहयोगमा केही कटौती गरेको थियो ।

तर, अवस्था यस्तो देखिएन, अमेरिकी सहयोगमा कुनै कमी आएको देखिएन् । बरु यसवीचमा केही क्षेत्रमा अमेरिकी सहयोगमा केही वृद्धि भएको देखियो । पहिलादेखि नै प्रक्रिया शुरु भए पनि ट्रम्पको समयमा एमसीसी अन्तर्गत नेपाललाई ५०० मिलियन अमेरिकी डलर सहयोग गर्ने सम्झैतामा सन् २०१८ को सेप्टेम्बर महिनामा सम्झौता भयो ।

यसबीचमा नेपाली सेनालाई दिने सहयोगमा भने अझ वृद्धि भएको छ । गत डिसेम्बर महिनामा मात्र अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक दिएको थियो र अन्य सहयोगहरु प्नि आउने क्रममा रहेका छन् ।

त्यसैगरी कोेभिड– १९ को संकट शुरु भएपछि अमेरिकाले नेपाल सरकारलाई आर्थिक र अन्य स्वास्थ्य सामाग्रीहरुको सहयोग गरेको छ । त्यसैले जो राष्ट्रपति निर्वाचित भए पनि नेपाललाई अमेरिकाले गर्ने सहयोगमा भने खासै खसर गर्ने देखिदैन् ।

प्रत्यक्ष हेर्ने कि भारतीय आँखाले ?

ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाल–अमेरिका सम्बन्धमा देखिएको अर्काे परिवर्तन भनेको दुई देशको विचमा उच्च तहमा राजनीतिक संवाद अगाडि बढ्यो । उदाहरणका लागि नेपाल–अमेरिका सम्बन्धको ७० वर्षमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीलाई सन् २०१८ को डिसेम्बर महिनामा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले औपचारिक भ्रमणमा बोलाएका थिए । फेरि यसै वर्ष ज्ञवाली र पम्पियोका वीचमा टेलिफोन वार्तासमेत भएको छ ।

यस अगाडि रिपब्लिकनका राष्ट्रपति जर्ज डब्लु बुसको समयमा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले सन् २००२ मा नेपालको भ्रमण गरेकी थिइन् । त्यस अगाडि ५० बर्षे दुई पक्षीय सम्बन्धमा अमेरिकाको तर्फबाट उच्च तहमा भ्रमण भएको थिएन । पाबेलको भ्रमणपछि दुबै देशको वीचमा उच्च तहमा भ्रमण भएको थिएन । त्यस पछाडि पुनः लामो समय उच्च अमेरिकी अधिकारीले नेपालको भ्रमण गरेनन् । हुन त अमेरिकामा भएको आतंककारी हमलाको विरुद्धमा संसारभरि सहयोग जुटाउने उद्देश्यले सो भ्रमण भएको थियो । यति मात्र होइन्, सन् २०१८ र २०१९ मा निकै उच्च अमेरिकी अधिकारीहरुले नेपाल भ्रमण गरे ।

वासिङटन डीसीस्थित थिंक ट्याङ नेपाल म्याटर्स फर अमेरिकाका संस्थापक डा. अनिल सिग्देल ट्रम्पले नेपालसँग लामो योजनासहित ‘इन्गेज’ हुने भन्दा पनि एमसीसीलाई पास गराउने र इन्डोप्यासेफिक रणनीतिलाई केन्द्रमा राखेर उच्च तहमा ‘इन्गेज’ गरेको हुनसक्ने बताए । उनका अनुसार ट्रम्पको विदेश नीति अलि अस्पष्ट भएका कारण स्टेट डिपार्टमेन्ट र बाहिर रहेका दूतावासहरुलाई पनि केही काम केही असजिलो भएको छ ।

यसबीचमा पूर्ववर्ती ओबामा प्रशासनको समयमा अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषणसमेत गरिएको थियो । तर, ट्रम्प प्रशासनले भने नेपालाई सिधै हेर्न खोजेको देखिन्छ । तर, केही निश्चित उद्देश्य प्राप्तिका लागि हो कि दीर्घकालीन भिजनका साथ भन्ने चाहिँ यकिन भएको छैन । तर, इतिहासलाई हेर्दा नेपालमा कुनै महत्वपूर्ण राजनीतिक परिवर्तन र घटनापछि अमेरिकी उच्च अधिकारीको भ्रमण हुने गर्छ ।

सन् २०१५ मा संविधान जारी गरेपछि अमेरिकी चासो बढेको छ । त्यसैले कुन पार्टीको सरकार बन्दा उच्च स्तरको भ्रमण हुन्छ र अर्काेमा हुन सक्दैन भने भन्न गार्‍हो हुने विश्लेषकहरु बताउँछन् ।

यद्यपि केही रणनीतिक विषयमा भारत र अमेरिकाको बीचमा संवाद हुने गरेको छ । पछिल्लो समयमा हेर्ने हो भने दक्षिण एसियाका साना मुलुकहरुसँग पनि अमेरिकाले सिधै डिल गर्न खोजेको देखिन्छ ।

पछिल्लो समयमा अमेरिकी अधिकारीहरुको एसिया भ्रमण यसैको उदाहरण हो । यद्यपि रिपब्लिकनकै पालामा नेपालमा सरकार र माओवादीको वीचमा भएको १२ बुँदे सम्झौताको समयमा भने भारत र अमेरिकाको विचमा नेपालप्रति कस्तो नीति अपनाउने भन्नेमा नजिकको परामर्श र सहकार्य भएको थियो ।

पछिल्लो दिनको घट्नाक्रमलाई हेर्ने हो भने दक्षिण एसियाका साना मुलुकहरुसँग अमेरिकाको इनगेजमेन्ट निकै बढीरहेको छ । डा. सिग्देलले अमेरिकाले जहिले पनि नेपालसँग सिधै डिल गर्न चाहने भएकाले नेपालले त्यहीअनुसारको म्यासेजिङ दिनुपर्ने बताए ।

उनले भने,‘अमेरिका भारत मार्फत होइन, नेपालसँग सिधै डिल तयार हुन्छ तर हाम्रो नेतृत्व चाइना चाइना भनेर बसेको र अमेरिकाले बढाएको सहकार्यको हातलाई राम्रोसँग रेस्पोन्स गरेको छैन ।’ अर्काेतर्फ उनले भारत र अमेरिकाको विचमा पार्टनरशीप अझै बढ्ने र त्यो अवस्थामा नेपालले कस्तो नीति अपनाउने हो, त्यो पनि स्पष्ट हुनुपर्ने बताए ।

उनले  भने, ‘आगामी दिनमा भारत र अमेरिकावीचको पार्टनरसीप झनै बढ्ने भएकाले त्यसबाट कसरी फाइदा लिने भन्ने सम्बन्धमा नीति बनाउने हो, न कि तर्सिने । नेपालले आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न, आर्थिक विकास गर्न कस्तो पोलिसी बनाउने, के गर्ने हो हामीले सोच्ने हो । तर, त्यो सोचाई नहुँदा इन्गेजमेन्ट एकदमै कम भयो ।’

भारत र अमेरिकाको विचमा सबै विषयमा होइन, केही विषयमा सहकार्य हुने हो त्यसैले नेपालले यसलाई अवसरको रुपमा लिने हो,’ सिग्देलले भने ।

चीन–अमेरिका द्वन्द्व र नेपाल

अर्काेतर्फ ट्रम्पको नै निरन्तरता भएमा अमेरिका–चीन द्वन्द्व अझ चर्कने त्यसको असर नेपालमा पनि पर्ने एकथरीको विश्लेषण छ । अमेरिका र चीनको विचमा द्वन्द्व बढ्दा नेपालको चीनसँगको सहकार्यमा समेत प्रत्यक्ष परोक्ष दवाव पर्ने विश्लेषण समेत गरिएको छ ।

त्यसैगरी डेमोक्रेटिक पार्टीका राष्ट्रपति बाराक ओबामा भन्दा ट्रम्पले चीनप्रति कडा नीति लिए । तर, पछिल्लो समयमा चीनको प्रभावलाई कम गर्ने सम्बन्धमा भने रिपब्लिकन र डेमोक्रेटिक पार्टीका विचमा पछिल्लो समयमा आधारभूत भिन्नता छैन् । खाली बाइडेन आएमा उनी अहिले जस्तो आक्रामक नभई उनले सहकार्य र प्रतिस्पर्धाको नीतिलाई अगाडि बढाउन सक्छन् ।

उनको ठाउँमा बाइडेन आउँदा अमेरिका र चीनसँग सहकार्य र प्रतिपस्र्धाको सम्बन्धलाई अगाडि बढाउने र त्यसले चीनसँगको सम्बन्ध अगाडि बढाउन नेपाललाई अलि सहज हुन सक्ने विश्लेषहरुको भनाइ छ ।

यद्यपि विश्वभर चीनको प्रभाव कम गर्ने सम्बन्धमा भने डेमोक्रेटिक र रिपब्लिकन पार्टी दुवैको लगभग एकै मत रहेको छ । नेपाल–अमेरिका सम्बन्धलाई नजिकबाट नियालिरहेका एक विश्लेषक भन्छन्, ‘नेपालमा चीनको बढ्दो प्रभावलाई कम गर्नुपर्छ भन्ने मूल विषयवस्तुमा जो आए पनि खासै फरक नपर्ला, काम गर्ने शैली र स्वरुपमा केही परिवर्तन आउन सक्छ ।’

त्यसैले दुईमध्ये जो निर्वाचित भए पनि यसमा खासै फरक नआउने विश्लेषकहरु बताउँछन् । पछिल्लो समयमा काठमाडौंमा इन्डोप्यासेफिक भर्सेज बेल्ट एण्ड रोडको अबस्था सिर्जना भएको छ ।

त्यससँगै नेपालमा बढ्दो चिनियाँ लगानीका सम्बन्धमा पनि अमेरिकहरुले चासो दिइरहेका छन् । त्यसैले अमेरिकामा ट्रम्प र बाइडेन जसले जितेपनि अमेरिका–चीन द्वन्द्वमा नेपालले अमेरिकासँग र चीनसँगको सम्बन्धलाई कसरी लैजाने भन्ने सम्बन्धमा तयारी गर्नुपर्ने विज्ञहरुको सुझाव छ । अहिले नै द्वन्द्वको मनोवैज्ञानिक असर देखिने र समयमा निर्णयहरु नहुने अवस्था छ ।

अमेरिकाको भारतसँगको नीति कसरी अगाडि जान्छ भन्ने विषयले पनि नेपाललाई धेरै प्रभाव पार्ने विश्लेषकहरुको धारणा छ । केही वर्ष अगाडिसम्म भारतसँगको सम्बन्धमा केही अन्योल र अस्पटता थियो, अहिले भारतसँगको सम्बन्ध सेटल भएको देखिन्छ ।

परराष्ट्र मामिलाका जानकार चन्द्रदेव भट्ट भन्छन्, ‘नयाँ राष्ट्रपतिले भारत र चीनप्रति कस्तो नीति लिन्छन् भन्ने विषयले नेपाल नीति पनि प्रभावित हुनेछ ।’

एसिया प्यासेफिक क्षेत्रमा अमेरिकाले विगतका केही दशकयता लिएको नीतिमा खासै परिवर्तन नआएको भट्ट बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘बाराक ओबामा प्रशासनले पिभोट एसिया नीतिलाई अगाडी सारे तर ट्रम्पले भने इन्डोप्यासेफिक रणनीति अगाडि बढाए । नाम फरक भएपनि कोर विषयवस्तुमा खासै फरक थिएन र फेरी ट्रम्प आएपनि र बाइडेन आए पनि खासै असर गर्दैन ।’

भट्टका अनुसार अमेरिकाको वृहत्तर एसिया नीति र त्यसमाथि पनि प्रत्येक मुलुकहरुसँग एक परिभाषित आधारभूत नीति रहेको छ, जसलाई नेतृत्व परिवर्तनले खासै असर गर्दैन ।

ट्रम्पजस्तै पछिल्लो समयमा बाइडन पनि चीनप्रति आक्रामक रुपमा आइरहेका छन् र चीनको प्रभाव कम गर्न प्रजातान्त्रिक मुलुकहरुको एलायन्समा जोड दिइरहेका छन् । विश्लेषक सिग्देल भन्छन्, ‘बाइडेनका सल्लाहकारले राष्ट्रपतिमा निर्वाचित भएमा एसिया प्यासेफिक क्षेत्रलाई विशेष प्राथमिकता दिने घोषणा गरिसकेका छन् । उनी पनि चीनप्रति कडा नै हुने छनक देखिन्छ । बाइडेन आएमा एसिया प्यासेफिक क्षेत्रमा पहिला भन्दा बढी चासो बढ्ने र सिधै यस क्षेत्रका मुलुकहरुसँग सम्बन्ध स्थापित गर्ने देखिन्छ ।’

ट्रम्पको अहिलेको चीनप्रतिको नीति बढी लेनदेनमा बढी केन्द्रित रहेको देखिन्छ, उनले जितेमा त्यसैले निरन्रता पाउने उनले बताए । तर, बाइडेनको भने अलि दुरदर्शी र लामो समयको भिजनसहितको चीन पोलिसी आउन सक्ने भन्दै नेपालले त्यही ढंगको तयारी गर्नुपर्ने बताए ।

नेपाली आप्रवासीका समस्या

ट्रम्प प्रशासनको समयमा नेपाली आप्रवासी तथा डीभी भरेकाहरुले भने केही समस्या भोग्नुपरेको देखिन्छ । उदाहरणका लागि यस अगाडि डीभी परेकाहरु धेरै नेपाली अमेरिका जान पाएनन् । अमेरिकाको श्रम बजारको संरक्षणका लागि अमेरिकी राष्ट्रपतीय घोषणासँगै केही आप्रवासीको प्रवेशमा रोक लगाइयो, जसमा डीभी परेकाहरु पनि परे । अन्तवार्ता केही समय रोकिएका कारण केही नेपाली जान पाएनन् ।

अमेरिका रहेका नेपालीहरु बाइडेन आप्रवासीमैत्री भएको बताउँछन् । न्यू जर्सी राज्य निवासी रेणु शर्माले केही पहिले बाइडेनको जीतले नेपालीलाई फाइदा मिल्ने बताएकी थिइन् । उनले भनेकी छन्, ‘बाइडेनको आप्रवासी नीतिलाई अझ उदार बनाउने योजना छ, टीपीएसको स्थायी समाधान उनले गर्नेमा म विश्वस्त छु ।’

विश्लेषकहरु बाइडेनले चुनाव जितेमा नेपालसँगको इन्गेजमेन्ट अझै बढ्ने बताउँछन् । ‘अहिले ट्रम्प प्रशासनका पोलिसीहरु अस्पष्ट देखिन्छन्, उनले जितेमा त्यसैको निरन्तरता हुने भइहाल्यो, बाइडेनले जितेमा नेपाल नीतिमा केही स्पष्ट परिवर्तनका संकेतहरु देखिन सक्छ,’ सिग्देलले भने ।

तर अमेरिकामा जो राष्ट्रपति भए पनि धेरै विषय नेपालमा नै निर्भर हुने उनले बताए । ‘हामीले सबैसँग सहकार्य गर्नुपर्छ, एउटा मुलुक भनेर बसेर हुँदैन । अमेरिकी अधिकारीहरु सम्बन्ध अगाडि बढाउने सन्दर्भमा नेपालबाट राम्रोसँग म्यासेजिङ नआएको बताउँछन्,’ सिग्देलले भने ।

नेपाल नीतिको सन्दर्भमा अमेरिकामा विदेशमन्त्री को भन्छ भन्ने विषयले पनि केही फरक पर्ने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment