Comments Add Comment

विदेशमा छापिने नेपाली नोट : माटोदेखि प्लाष्टिकसम्म

केही दुर्लभ नोट : कसले ल्यायो, कसरी हरायो ?

८ कात्तिक, काठमाडौं । हिजोआज सार्वजनिक गाडी या पसलहरूमा एक–दुई रुपैयाँ फिर्ता माग्दा हाँसोको पात्र बन्नुपर्ने अवस्था छ । कन्डक्टर र पसलेहरूले पाँच रुपैयाँभन्दा कम फिर्ता दिनै छाडेका छन् । कसै–कसैले खुद्रा पैसाको सातो चक्लेट दिन्छन् ।

गाई पैसा (पाँच पैसा) मा पाथी चामल किनेर घर धानेका नेपाली अहिले पनि थुप्रै हुँदा हुन् । सुका (२५ पैसा) र मोहर (५० पैसा)मा गोजीभरि मिठाई–चकलेट किनेकाहरू त अझ धेरै छन् ।

तर, पैसाको मूल्य घट्दै गएपछि अहिले सुका–मोहर त के दुई रुपैयाँको नोट समेत बजार विनिमय चक्रबाट बाहिरिसकेको छ ।
कोभिड– १९ सुरु हुनुभन्दा अगाडि काठमाडौंमा तोकिएको १३ रुपैयाँ बस भाडा एकाएक १५ भयो । सरकारले तोकेको नभएर खुद्रा पैसा पाइँदैन भन्दै गाडीवालाले आफैं बढाएको भाडा थियो त्यो ।

प्राचीन र पूर्वप्राचीनकालसम्म ढुंगा, माटो या त्यस्तै वस्तुबाट मुद्रा बनाउने चलन थियो । उत्तरलिच्छवि र मध्यकालसम्ममा सुन, चाँदी, तामा आदि धातुको सिक्का बनाउन सुरु गरियो ।

आधिकारिक रूपमा कसैले घोषणा नगरे पनि नेपालमा अहिले प्रचलनमा रहेका कागजी नोटहरू विश्वका आकर्षक नोटहरूको सूची पर्छन् ।

नेपालमा २५०० वर्ष पहिलेदेखि मुद्रा प्रचलनमा रहेको डा. रमेश ढुंगेलको आलेख ‘मौद्रिक परम्परा र केही नेपाली माटोका मुद्राहरू’मा उल्लेख छ । उनले १५०० वर्ष पहिले नेपालीले कुँदेको मानांक र काठमाडौंको गौशालामा भेटिएको इसापूर्व ५०० वर्षअघिको भारतीय आहत मुद्रालाई त्यसको प्रमाणको रूपमा पेश गरेका छन् ।

शक्ति प्रदर्शनका लागि सिक्का

मानिसले सम्पत्तिमा स्वामित्व कायम गरेपछि मुद्रा वस्तु विनिमयको बलियो माध्यम बनेको विश्वास गरिन्छ । नेपालमा मुद्रा वा सिक्का विनिमयको माध्यम मात्र नभएर शक्ति प्रदर्शन गर्ने साधन पनि बनेको देखिन्छ ।

अंशुवर्मापछि ध्रुबदेव र भीमार्जुनदेवको समयमा जिष्णुगुप्त र विष्णुगुप्तले आफ्नो नाममा सिक्का जारी गरे । यी दुवै सामन्त शक्तिको हिसाबले राजाभन्दा शक्तिशाली थिए । पदीय हिसाबले राजामाथि भए पनि आफ्नो बोलवाला रहेको प्रमाण यी दुई सामन्तले सिक्कामार्फत् दिए ।

प्राचीन र पूर्वप्राचीनकालसम्म ढुंगा, माटो या त्यस्तै वस्तुबाट मुद्रा बनाउने चलन थियो । उत्तरलिच्छवि र मध्यकालसम्ममा सुन, चाँदी, तामा आदि धातुको सिक्का बनाउन सुरु गरियो ।

आजभन्दा ७०० वर्षअघिसम्म माटोको सिक्का चलेको विभिन्न स्रोतबाट थाहा पाइन्छ ।

नेपालमा नोट

नोट नेपालमा सन् १९४५ मा पहिलोपटक वस्तु विनिमयका लागि कागजको नोट जारी भयो, जसमा हस्ताक्षर गर्ने खजाञ्ची थिए जनकराज पण्डित । त्यो बेला नेपालले एकै पटक मोरु पाँच, मोरु १० र मोरु १०० का ६ लाख ४० हजार प्रति नोट छापेको थियो ।

इन्डियन सेक्युरिटी प्रेसमा छापिएका ७३×१२६ मिलिमिटर(मिमि)को मोरु ५ का नोटका अग्रभागमा राजा त्रिभुवनको तस्वीर थियो भने पछिल्लो भागमा जंगलमा डुलिरहेको बाघको । मोरु १० को ८२×१४६ मिमि साइजको नोटमा त्रिभुवन र गुह्येश्वरी मन्दिरको फोटो राखिएको थियो ।

मोरु एक सय रूपैयाँको नोटमा भने राजा त्रिभुवन र पशुपतिनाथको मन्दिर राखिएको थियो भने यसको आकार १०८÷१७१ मिलिमिटरको थियो ।

त्यसको तीन वर्षपछि मुलुकी खानाका खचाञ्ची फेरिएर जनकराजको ठाउँमा भरतराज पण्डित आए । उनको पालामा पनि मोरु ५, १० र १०० का नोटहरू जारी भए । नोटमा खैरो र नीलो रंग प्रयोग भयो, अरू सबै पुरानै कायम रह्यो ।

भरतराजपछि मुलुकी खानाको खजाञ्ची बनेका नरेन्द्रराज पण्डितले ‘नेपाल सर्कार’ परिवर्तन गरेर ‘नेपाल सरकार’ बनाए । उनकै पालामा प्रकाशित भएको मोरु एकको नोटमा राजाको फोटो राखिएन । सबै दरका नोटमा ‘… पाउने छ’ को साटो ‘…पाइने छ’ लेखियो ।

खजाञ्ची नरेन्द्रराज पण्डितकै पालामा मोरु एक सयको नोटमा गैँडाको फोटो राखियो ।

राष्ट्र बैंक स्थापनापछिका नोटहरू

१४ वैशाख २०१३ मा स्थापित नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर राणा बने । उनको हस्ताक्षर भएको पहिलो नोट १९ फेब्रुअरी १९६० देखि बजारमा आएको थियो ।

त्यो बेला पनि मोरु १, ५, १० र १०० कै नोट छापिए तर सबै दरका नोटका आकार–प्रकार र बान्की परिवर्तन गरेर । गभर्नर राणाको हस्ताक्षर भएको ६४×१०२ मिलिमिटरको मोरु १ को नोटमा राजाको साटो कलशको तस्वीर थियो ।

मोरु ५, १० र १०० मा भने फेरि राजा महेन्द्र शाहको फोटो राखिएको थियो । ती नोटका बीचमा स्वयम्भु र पछाडिपट्टि सगरमाथाको फोटो राखिएको थियो । मोरु १० बढी कलात्मक थियो । त्यसमा दन्त्य ‘स’को साटो तालव्य ‘श’ प्रयोग गरियो ।

मोरु १०० लाई भने हरियो र माटो रंगको बनाइयो । एकापट्टि गैँडा र अर्कोेपट्टि पशुपति मन्दिर र राजाको फोटो राखियो । नेपाल सरकारको साटो नेपाल राष्ट्र बैंकको नाममा नोट जारी हुन थालेको पनि गभर्नर राणाकै पालादेखि हो । राष्ट्र बैंकको जमानत (धरौटी) भने नेपाल सरकार बस्न थाल्यो ।

राणापछि लक्ष्मीनाथ गौतम गभर्नर बने । त्यतिबेलासम्म श्री ५ को सरकार भन्ने चलन सुरु भइसकेको थियो । मोरुलाई रुपैयाँ नै भन्न थालियो । ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने ठाउँमा ‘श्री ५ को सरकारको जमानत प्राप्त…’ भन्ने वाक्यांश उल्लेख गरियो ।

गौतमपछि गभर्नर बनेका प्रद्युम्न लाल राजभण्डारीको पालामा एक सयको नोटमा मोरु हटाएर रुपैयाँ लेखियो । त्यसपछि गभर्नर बनेका भेषबहादुर थापाको पालामा रु.५ को एक करोड, रु.१० को ७० लाख र एक सय रुपैयाँको ५ लाख थान नोट जारी भए ।

त्यसपछिका गभर्नर डा. यादवप्रसाद पन्तका पालामा रु.१, ५, १० र सयका तीन करोड थान नोट छापिएर बजारमा आए । पन्तकै पालामा सन् १९७३ मा जारी एक रुपैयाँको नोटमा भने पिङ खेलिरहेको तस्वीर राखियो । त्यसमा राजा, पाटनको तुसाहिटीको एउटा मूर्ति, धान फलेको खेत र हिमालयको तस्वीर पनि राखिएको थियो ।

त्यस्तै, रु.१० को नोटमा सिंहदरबार र १०० को नोटमा राजा महेन्द्र, ल्होत्से हिमाल, भक्तपुरको न्यातपोल मन्दिर र पचपन्न झ्याले दरबारको फोटो राखिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार त्यसबेला रु.१० र १०० का ३० लाख प्रति नोट छापिएका थिए ।

पहिलो पटक ५०० रुपैयाँको नोट प्रकाशित भएको पनि गभर्नर पन्तकै पालामा हो । सन् १९६८ मा जारी भएको ५०० को नोटको अघिल्लोपट्टि अमादब्लम र त्याङ्बोचे गुम्बा र पछिल्लोपट्टि जोडी बाघको तस्वीर थियो । त्यसबेला ७०×१६० मिलिको एक लाख थान ५०० रुपैयाँको नोट जारी भएको थियो ।

त्यसको एक वर्षपछि १९६९ मा नेपालमा एक हजारको नोट पनि प्रचलनमा आयो । गभर्नर डा. पन्तकै हस्ताक्षर भएको सो नोटको अघिल्लो भागमा राजा महेन्द्र, स्वयम्भु र हारती मन्दिरको तस्वीर राखियो भने पछिल्लो भागमा ग्रामीण बस्ती र हिमालको दृश्य देखाइएको छ ।

यसरी बजारको माग अनुसार नोट छपाइको सिलसिला चलिरहेको छ । यो क्रममा एक र दुई रुपैंयाको नोट छपाइ भने बन्द भइसकेको छ ।

केही दुर्लभ नोट : कसले ल्यायो, कसरी हरायो ?

नेपाल राष्ट्र बैंकले रु. २५ र २५० को नोट पनि जारी गरेको धेरैको सम्झनामा होला । त्यस्तै डाँफेको चित्र अंकित अरूभन्दा फरक खालको ५० रुपैयाँको हरियो नोट पनि आएको थियो ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार १०० रुपैयाँसम्मका नोट औसतमा साढे २ वर्षमा थोत्रा हुन्छन् र ती नोटलाई प्रक्रिया पूरा गरेर जलाउने गरिन्छ । ५०० र एक हजार रुपैयाँको नोट भने साढे तीन वर्षमा पुराना भएको मानिन्छ ।

दुई दशकभन्दाअघि गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको पालामा जारी भएका २५ र २५० रुपैयाँको नोट अहिले दुर्लभ बनेका छन् । राजा वीरेन्द्र राजगद्दीमा बसेको २५ वर्ष पूरा भएको अवसरमा निकालिएका ती नोटमध्ये २५० का ५ लाख र २५ रुपैयाँका ४ करोड प्रति नोट छापिएका थिए ।

रु.५० को हरियो नोट चाहिँ गभर्नर विद्यानाथ भट्टराईको पालामा २००६ अप्रिलमा ल्याइएको थियो । नेपाल राष्ट्र बैंक ५० वर्ष पुगेको उपलक्ष्यमा बडा साजसज्जाका साथ २ करोड प्रति रु.५० कै नोट छापिएको थियो । ७०×१४२ मि.मिको त्यो नोटमा राजा ज्ञानेन्द्र, अशोकस्तम्भ र डाँफेको तस्वीर राखिएको थियो ।

नेपालमा प्रचलनमा आएको १० रुपैयाँ दरका पोलिमर नोट भने छपाईको क्रममा भएको कमिशन प्रकरणका कारण धेरै विवादित बन्यो । सन् १९९७–१९९९ बीचमा जारी यो नोट अहिले बजारमा यदाकदामात्रै पाइन्छ । यो नोटको छपाइमा अनियमितता भएको भनेर यसले धेरै चर्चा पाए पनि अहिले यसका आरोपीहरूले सफाइ पाइसकेका छन् ।

हरायो दुई रुपैयाँ पनि

एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको नोटमध्ये दुई रुपैयाँको नोटमा धेरै गभर्नरहरूले चासो दिएनन् । गभर्नर कल्याणविक्रम अधिकारीको पालामा सन् १९९१ मा दुई रुपैयाँको नोट पहिलोपटक जारी भएको थियो ।

पहिलो पटक ३ करोड थान छापिएको सो नोटमा राजा वीरेन्द्र र बज्रयोगिनी मन्दिरको तस्वीर अंकित थियो । अधिकारीपछि गणेशबहादुर थापाको समयमा ३ करोड, हरिशंकर त्रिपाठीको पालामा ६ करोड, सत्येन्द्रप्यारा श्रेष्ठको पालामा १३ करोड र दीपेन्द्र पुरुष ढकालको पालामा २ करोड थान दुई रुपैंयाका नोट छापिएका थिए । त्यसपछि पनि केही समय दुई रुपैयाँको नोट छापिँदै गए । पटक–पटक छापिँदा पनि यसको डिजाइनमा परिवर्तन गरिएन ।

पुराना नोटको व्यवस्थापन कसरी ?

सधैंभरि नयाँ नयाँ नोट बजारमा आइरहन्छ । च्यातिएका र थोत्रा नोटहरू कताकतैबाहेक किन पाइँदैन त ?
नेपाल राष्ट्र बैंकले बजार विनिमयको चक्रबाट एकपटक राष्ट्र बैंकमा पुगेको यस्ता च्यातिएका, झुत्रा नोटहरू राष्ट्र बैंकमा नै व्यवस्थापन गर्ने गर्छ ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार १०० रुपैयाँसम्मका नोट औसतमा साढे २ वर्षमा थोत्रा हुन्छन् र ती नोटलाई प्रक्रिया पूरा गरेर जलाउने गरिन्छ । ५०० र एक हजार रुपैयाँको नोट भने साढे तीन वर्षमा पुराना भएको मानिन्छ ।

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखा र सातवटै प्रदेशमा रहेका कार्यालयमा संकलन भएको नोटलाई पहिले संकलन गर्ने गरिन्छ । त्यसमध्ये बजारमा पठाउन मिल्नेलाई छुट्टै राखिन्छ र त्यसलाई बजारमा पठाउने गरिन्छ ।

बजारमा पठाउन नमिल्ने नोटलाई नेपाली सेनाको उच्च सुरक्षा सतर्कता सहित राष्ट्र बैंकको आफ्नै भट्टीमा जलाउने गरिन्छ । कति दरका कति प्रति नोट जलाइयो ? भन्ने विवरण पनि राख्ने गरिन्छ ।

दशैंमा कस्ता नोटको माग बढी ?

नेपालमा सबभन्दा धेरै जनसंख्याले मनाउने चाड दशैं आउँदैछ । दशैंमा नयाँ नोटले बिषेश महत्व पाउने गरेको छ । दशैंका लागि नयाँ नोट साट्न बैंकमा भिड लाग्ने गरेको छ । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार दशैं–तिहारमा विशेषतः ५, १० र २० रुपैयाँका नोटको माग बढी हुन्छ । नयाँ नोटको स्टक पनि छ, तर यस वर्ष कोरोना भाइरसको महामारीमा भिड बढाएर नोट वितरण गर्ने सम्भावना कम भएको बताए ।

राष्ट्र बैंकले आगामी तीन वर्षको कारोबारदेखि चाडबाडसम्मको आवश्यकता विश्लेषण गरेर नयाँ नोट छाप्न ग्लोबल टेण्डर आह्वान गर्छ । छनोट भएको कम्पनीले तीन वर्षको लागि तोकिएका दरका नोटहरू छापेर राष्ट्र बैंकलाई बुझाउँछ ।

मुद्रा व्यवस्थापन विभागका प्रमुख नेपालका अनुसार, वर्ष कम्तीमा दुई वा सोभन्दा धेरै पटक पनि नोटहरू ल्याइन्छ । ‘कति नोट ल्याइयो भन्ने हामीसँग तथ्यांक हुँदैन । कति नोट बजारमा जारी गरियो ? भन्ने तथ्यांक मात्रै हामीसँग हुन्छ ।’ नेपालले अनलाइनखबरसँग भने ।

विशेष समारोहमा जारी सिक्का

एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको नोटको बारेमा त धेरैलाई जानकारी नै छ । तर ६००, ३००, २००, एक हजार आदि सिक्का पनि राष्ट्र बैंकले जारी गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ ।

यस्ता सिक्काहरू खासै प्रचलनमा त आएनन् । तर पनि राष्ट्र बैंकको इतिहासमा यी सिक्काहरूको स्थान पनि विशेष छ ।
रत्न राज्यलक्ष्मीको जन्मजयन्तीको उपलक्ष्यमा २०४५ सालमा ६०० रुपैयाँको सिक्का जारी गरिएको थियो । त्यतिबेला जम्मा १५००० थान सिक्का छापिएकोले यो बजारमा पठाइएन ।

राष्ट्र बैंकले कतिपय विशेष अवसरमा विशेष सिक्का निकाल्ने गर्छ । जस्तो– २०४१ सालमा महालेखा परीक्षकको रजत जयन्तीको अवसरमा २४ रुपैयाँको १५ हजारवटा सिक्का जारी भयो । त्यसमा २५ प्रतिशत चाँदी, ४० प्रतिशत तामा र ३५ प्रतिशत अरू धातुको मिश्रण थियो ।

सोही साल नेपाल परिवार नियोजन संघको रजत जयन्तीको अवसरमा ५ रुपैयाँ र ५० पैसाको सिक्का र राष्ट्रिय जनसंख्या वर्ष २०४१ को सिक्का जारी गरियो । २०४२ सालमा पनि सामाजिक सेवा दिवस र अन्तर्राष्ट्रिय युवा वर्ष विशेष सिक्का जारी भएको थियो ।

पञ्चायतको रजत जयन्तीको अवसरमा २०४२ सालमा ५० हजार वटा २५ रुपैयाँको सिक्का जारी गरिएको थियो । त्यस्तै, २०४३ सालमा १५औं विश्व बौद्ध सम्मेलनको अवसरमा पाँच रुपैयाँको एक लाख प्रति सिक्का जारी गरिएको थियो ।

२०४७ अघि र पछि पनि विभिन्न अवसरमा सिक्का जारी गर्ने क्रम अहिलेसम्म पनि जारी छ । अघिल्लो वर्षमात्रै ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका तीन किसिमको सिक्कामा शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का जारी गरेको थियो ।

तेस्रो सार्क शिखर सम्मेलन २०४३ सालमा नेपालमा भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकले रु ३०० रुपैयाँ र पाँच रुपैयाँको सिक्का जारी गरेको थियो ।

यसबाहेक नेपाल बैंक लिमिटेडको स्वर्ण जयन्तीको अवसरमा २०४४ सालमा नै ५०० रुपैयाँको सिक्का सार्वजनिक भयो । २०४७ सालमा संविधान जारी भएको सम्झनामा समेत रु ३०० को सिक्का जारी भएको थियो । सो सिक्का २५००० थान मात्रै छपाइएको राष्ट्र बैंकले जनाएको छ ।

यस्ता सिक्काहरू बजारमा विनिमयको लागि नभई पछिसम्मको स्मरणको लागि मात्रै छाप्ने गरिएको राष्ट्रबैंकका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment