Comments Add Comment

उपभोक्ता अधिकारकर्मीको थरिथरि अनुभव : हरियो परवर धोएपछि पहेँलो !

Photo Credit : Facebook
माधव तिमिल्सिना

९ कात्तिक, काठमाडौं । ०६१ सालमा देशभित्र राजनीतिक सरगर्मी उत्कर्षमा थियो । उत्तरी धादिङको सल्यानकोटबाट आईकम पास गरेर थप अध्ययनकालागि माधव तिमिल्सिना काठमाडौं पसे । भारतीय सेनाका अवकाशप्राप्त बुबाको कडा अनुशासनमा हुर्किएका माधव नेपालटारमा भाडाको कोठा लिएर बीबीएस पढ्न थाले ।

एक दिन डेरा नजिकैको किराना पसलमा उनले एक बोरा चामल किने । पैसा तिर्ने बितिक्कै बोरा उचालेर माधवले जोख्न खोजे, तर पसलेले उनलाई झपारे ।

‘बोरामा प्याक भएको चामल किन जोख्नुपर्यो, गाउँबाट झरेको मान्छे गाउँले नै स्वभाव रहेछ,’ यसो भन्दै पसलेले उनलाई खिसी उडाए । माधव रातो–पिरो भए । चामल जोख्न नदिई पसलेले आफैं उनको कोठासम्म पुर्याइदिए ।

व्यापारीबाट उपभोक्ता ठगिन्छन् भन्ने माधवले समाचार पढेका थिए । आईकम पढ्दा पाठ्यक्रममा पनि यो विषय समावेश थियो । आफूले किनेका हरेक वस्तुको गुणस्तर र तौलको सामान्य जाँच गर्ने तथा प्रश्न गर्ने चेत उनलाई थियो । तर, काठमाडौंमा नयाँ भएकाले उनले त्यस दिन पसलेसँग प्रतिवाद गर्न सकेनन् ।

माधव भन्छन्, ‘काठमाडौंजस्तो ठाउँमा झन् पसलेले दिएको सामानमा प्रश्नै नगरी पैसा तिरेर लैजाने प्रवित्ति रहेछ । अहिले पनि यो प्रवित्ति खासै फेरिएको छैन ।’

****

माधव एकदिन जुत्ता किन्न भनेर नयाँ बसपार्कको अगाडिपट्टि रहेको टहरोमा पुगे । उनका लागि काठमाडौंको बजार नौलो नै थियो । एउटा पसलमा छिरेर उनले जुत्ता हेरे । एउटा जुत्ता छाने । पसलेललाई जुत्ताको दाम सोध्दा १२ सय रुपैयाँ पर्ने बताए ।

माधवले अनुमान गरेभन्दा निकै महंगो रहेछ । उनले सुनेका थिए नयाँ बसपार्कमा सामान किन्दा निकै बार्गेनिङ गर्नुपर्छ । उनले लाज नामानी पसलेलाई सोधे, ‘पाँच सयमा आउँदैन ?’

पसलेले भने, ‘राति आउनू ।’

माधव अकमक्क परे ।

निर्दोष पारामा उनले सोधे, ‘राति कति बजे आउँ ?’

पसलेले झोक्किँदै भने, ‘राति चोर्न आइज भनेको ।’

माधव अमिलो मन लगाएर फर्किए ।

उनी भन्छन् ‘मसँग ७ सय जति पैसा थियो, पाँच सयको जुत्ता किनेर दुई सय पकेट खर्च राख्छु भन्ने थियो । तर, मूल्य जुत्ताकै १२ सय भनेपछि यत्तिकै फर्किएँ ।’

अनुगमनपछि पनि व्यवसायीको व्यवहारमा कुनै सुधार हुन्न । अहिलेको तरिकाले राजश्व उठ्ला, धेरै व्यवसायी कारकाबाहीमा पर्लान् तर  यसले हाम्रो चरित्रमा सुधार हुन्न । अनुगमन भइरहने, व्यवसायीले सरकारलाई चोर देख्ने, सरकार  र अभियन्ता व्यवसायीलाई चोर देख्ने भइरहन्छ

त्यसैको भोलिपल्ट बीबीएसको कक्षामा शिक्षकले मार्केटिङ पढाउँदा भनिरहेका थिए, ‘क्रेता भनेका बिक्रेताका भगवान हुन् ।’ माधवले त्यहीबेला जुत्ता र चामल किन्दाको कहानी शिक्षकलाई सुनाए । शिक्षकले माधवलाई भने ‘उपभोक्तालाई बिक्रेताले यस्तो व्यवहार गर्न पाउँदैनन् । भृकुटीमण्डपमा उपभोक्ता मञ्च नेपाल भन्ने अफिस छ, त्यहाँ गएर उजुरी गर्नुस् ।’

माधव साथीसँग भोलिपल्ट दिउँसो भृकुटीपण्डप गएर आफ्नो उजुरी टिपाए । त्यही उजुरी नै माधव स्वयम् उपभोक्ता अधिकारकर्मी बन्ने पहिलो खुड्किलो बन्यो ।

उपभोक्ता मञ्च नेपालका तत्कालीन अध्यक्ष हरेन्द्र बहादुर श्रेष्ठले माधवको उत्साह देखेपछि मञ्चको नगर कमिटी प्रवक्ताको जिम्मेवारी दिए । त्यसपछि माधवले सिजेएमसी एफएममा ‘उपभोक्ता जागरण’को कार्यक्रम चलाउन सुरु गरे भने स्वच्छ बजार कायम गर्ने अभियानमा खुलेर लागे । यो २०६२/६३ तिरको कुरा हो ।

त्यसबेला उनले बजार, उपभोक्ता अधिकार र नेपालीको अवस्थाबारे राम्रो ज्ञान बटुले । तर, पनि मञ्चमा नयाँ ढंगले काम गर्न भने नसकेको उनी बताउँछन् । त्यसैले २०६६ सालमा माधबले मञ्च छोडेर उपभोक्ता अधिकारबारे अनुसन्धान गर्ने उद्देश्यका साथ आफ्नै अध्यक्षतामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च गठन गरे ।

माधव उपभोक्ता अधिकारको क्षेत्रमा लागेको उनको बुबालाई सुरुमा पटक्कै मन परेको थिएन । भारतीय सेनाबाट रिटायर्ड बुबाको पेन्सन टन्नै आउने र अवकाशपछि पनि गाउँमा जजमान गर्ने भएकाले आर्थिक समस्या परिवारमा थिएन । छोराले पढाइमा मात्रै ध्यान केन्द्रित गरोस् र पढिसकेर राम्रो जागिर खावस् भन्ने उनको चाहना थियो ।

माधव पनि पढ्नमा तेज नै थिए । उनले पढ्न त पढे, तर जागिर खाएनन् । सँगैका साथीभाइ बैंकका हाकिम भइसक्दा छोरो भने उपभोक्ता अधिकार भन्दै हिँडेको बुबालाई पटक्कै मन पर्थेन ।

‘सँगैका साथी हाकिम भइसके, तँ भने अरुको अधिकारका लागि लडेरै बस्,’ भन्दै बुवाले निकै घुर्क्याउँथे । तर, बिस्तारै उनले घर–परिवारलाई सम्झाए ।

****

विगत १५ वर्षदेखि उनी उपभोक्ता अधिकारको क्षेत्रमा निरन्तर बोल्न, लेख्न र आवाज बुलन्द गर्न अग्रमोर्चामा छन् । उनी सयौंपटक बजार अनुगमनमा गएका छन् र थरिथरि अनुभव संगालेका छन् ।

कुलेश्वर, न्युरोड लगायतका क्षेत्रमा धेरैजसो अनुगमन हुने गर्छन् । त्यस क्षेत्रका मानिसहरु अनुगमन टोली एउटा पसलमा पसेपछि अरु सबै सटर बन्द गरेर भाग्ने गरेको माधव बताउँछन् । खास गरी, तरकारी, माछा, फलफूलमा यस्ता घटना बढि हुने उनको अनुभव छ ।

‘राज्यको कानुन अनुसार दर्ता भएर चलेका पसल/व्यवसायहरु अनुगमनसँग डराउनु किन पर्यो ? उनीहरुले सत्य काम गरेका छन् भने अनुगमन स्वीकार गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसरी व्यवसायीहरु भाग्दा उपभोक्तालाई झनै आशंका बढ्छ र व्यापारीहरु बदमास नै रहेछन् भन्ने पर्छ । यसरी भाग्नाले बजार अनुगमन राम्रोसँग हुन पाएको छैन ।’

बजार अनुगमनका काम पारदर्शी हुनुपर्छ भन्ने उनको मान्यता छ । उनी भन्छन्, ‘सरकारी अधिकारीहरुले सूचना लुकाउन चाहन्छन् । मैले सूचना दिएपछि उनीहरुको आलोचना हुन्छ भनेर मलाई पत्रकारको मान्छे भन्छन् ।’

पत्रकारसमेत सहभागी भएर अनुगमन हुन पर्छ भन्ने पनि उनको मान्यता छ । तर सरकारी अधिकारीले यस्तो नचाहने उनले बताए ।

‘सञ्चार माध्यमको मलाई साथ छ, तर  सरकारी अधिकारी यसलाई राम्रो ठान्दैनन् । विभागका महानिर्देशक नै मसँग रिसाएका पनि छन्,’ उनले सुनाए ।

माधवको भनाइमा सरकारले गलत गर्ने व्यवसायीलाई गर्ने कारबाही यस्तो हुनु पर्छकी त्यसपछि अरु त्यस्ता घटना नै नहुन् । तर, नेपालमा संख्या देखाउन र कोटा पुर्याउनका लागि मात्रै अनुगमन हुने गरेको उनले बताए ।

‘अनुगमनपछि पनि व्यवसायीको व्यवहारमा कुनै सुधार हुन्न । अहिलेको तरिकाले राजश्व उठ्ला, धेरै व्यवसायी कारबाहीमा पर्लान् तर  यसले हाम्रो चरित्रमा सुधार हुन्न । अनुगमन भइरहने, व्यवसायीले सरकारलाई चोर देख्ने, सरकार  र अभियन्ता व्यवसायीलाई चोर देख्ने भइरहन्छ,’ उनले भने ।

१५ बर्षका १० किस्सा : हरियो परवर जब पहेँलो भयो

बजार अनुगमनका क्रममा विभिन्नखाले परिस्थितिहरुको सामना गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ सोच्नै नसकिनेखालका ठगीका घटनाहरु पनि भेटिन्छन् । तिमल्सिनाले १० वटा किस्साहरु हामीलाई सुनाए–

हरियोे परवर पखालेपछि पहेंलो : पुरातत्व विभागमा काम गर्ने एकजना म्याडम बजारबाट ठगिएको घटना मेरो जीवनमा सदैव अविष्मरणीय लाग्छ । यो २०६६ सालको कुरा हो ।

उहाँले हाम्रो बालाजु अफिसको ल्याण्डलाइनमा फोन गरेर सुनाउनु भयो कि हरियो परबर धोएपछि पहेँलो भयो । हामीले पर्वर लिएर अफिस आउन भन्यौँ । उहाँहरु आउनुभयो । उजुरी लिएर म वाणिज्य विभाग गएँ । विभागले यो घटना जघन्य अपराध भएको ठहर गर्यो । त्यसपछि मसहितको टोली कालीमाटीको तरकारी बजारमा पर्बर खोज्न निस्कियौं ।

बजारमा पहिले नै पठाइएको तर पहेँलो भएर नबिकेको पर्वरलाई कालीमाटीमा एउटा ठूलोे ड्रममा हरियो रङ्ग घोलेर हरियो बनाइने गरेको रहस्य हामीले पत्ता लगायौँ । त्यतिबेला अहिलेको जस्तो ठाउँका ठाउँ जरिवाना गर्ने कानुन थिएन । आइन्दा यस्तो नगर्ने कागज गराएर विभागले छोड्यो ।

जिराको धुलोमा काठ र धानको ढुटो : दसैं नजिकिँदै गर्दा मसलाको व्यापार निकै बढ्छ । मानिसहरु शहरबाट गाउँ जाँदा मसला बोकेर जान्छन् । यहीबेलामा मौका छोप्न मसला व्यापारीहरुले खेलोफड्को गर्छन् ।

एकपटक दसैंताका हाम्रो कार्यालयमा एउटा सूचना आयो– पुष्पाञ्जली मसला उद्योगले काठ र धानको ढुटो राखेर तरकारीको पसला तयार गर्छ भन्ने । त्यो सूचनापछि विभाग र हाम्रो टोली अनुगमनमा गयो । ढुटो मिसाएको मसला निकै आकर्षक प्याकेट बनाएर धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा पठाईने गरेको पाईयो । ५, १०, १५ रुपैयाँ तथा योभन्दा माथिको निकै राम्रो प्याक बनाएर मसला बिक्री गर्ने गरेको हामीले फेला पार्यौं । हामीले उनीहरुलाई पक्रेर खाद्य प्रविधि तथा गुणस्तर नापतौल विभागलाई बुझायौँ ।

दिनभरि सिलिन्डर बोकियो : सरकारको नियमानुसार एक सिलिण्डरमा १४.२ किलो ग्यास हुन्छ । तर सामाखुसीमा ११ किलोको ग्यास भेटियो । विशेष सूचनाको आधारमा हामी त्यहाँ गएका थियौँ । एउटा गोदाममा धेरै सिलिण्डर हामीले दुईदेखि एक किलोसम्म कम तौल भएको सिलिण्डर फेला पार्यौँ । हामीलाई देखेपछि सबै मान्छे भागे वाणिज्य विभागबाट पनि सानो टोली थियो । सिलिण्डर जफत गर्नु पर्ने भयो । हामीले दिनभरि सिलिण्डर काँधमा हालेर बोक्यौँ ।

खसी भनेर बाख्राको मासु : २०६७ सालमा सुन्धारास्थित तत्कालीन हुलाक कार्यालयको ठीक पछाडि  खसीको भनेर बाख्राको मासु बिक्री गरिरहेको सूचना अयो । वाणिज्यको टोलीसहित हामीले विशेष अप्रेसन गर्यौँ । बाख्राको मासु बिक्री गरेको सप्रमाण मान्छे फेला पारेर हामीले विभागलाई बुझायौँ । विभागले उनीहरुलाई कारबाहीको दायरामा ल्यायो ।

सिलिण्डरबाटै ग्यास चोरी : सिलिण्डरमा ग्यास कम हुने कुरा त सुनेका थियौँ । तर, सिलिण्डरबाटै ग्यास चोरी भएको हामीले फेला पार्यौँ । नेपाल आयल निगमले बिक्रीका लागि प्रतिबन्ध गरेको सानो सिलिण्डर भर्न १४.२ किलोको ठूलो सिलिण्डरबाट ग्यास चोरी गरेको हामीले बालाजुमा फेला पार्यौँ । उनीहरुलाई रङ्गेहात पक्रिएर कारवाही गरायौँ ।

अभावमा ग्यासको कालोबजारी : नाकाबन्दीका कारण बजामा ग्यासको चरम अभाव थियो । क्षेत्रपाटीको एउटा पसलले आफ्नो गोदामभन्दा भित्र ठूलो परिमाणमा ग्यास लुकाएको सूचना आयो । चिनेको मान्छेमार्फत जाँदा तीन–चार सय बढी तिर्ने बित्तिक्कै ग्यास बिक्री गर्ने गरेको पाइएपछि छापा हानेर सबै ग्यास बरामद गरियो । त्यसरी बिक्री गर्नेलाई पक्राउ गरे पछि धेरै ठूलो राजनीतिक दबाब पनि आयो । तर पछि ठुलो कारबाही भने भएन ।

चनाजस्तै ढुंगा : बालाजुको एउटा खुद्रा पसलमा अनौठो तथ्य फेला पर्यो । चना, केराउ र गेडागुडीसहितको खुद्रा सामान बिक्री गर्ने पसलमा चनाजस्तै ढुंगा भेटिए । चना आकारका ढुंगा र चना सराबरी भेटिएको सम्भवतः यो पहिलो घटना थियो । एक किलो चना किन्दा झण्डै आधन किलो ढुंगा आउने अवस्था थियो । त्यो घटनामा संलग्नलाई पनि वाणिज्यले कारबाहीको दायरामा ल्यायो ।

चिनीको मूल्य स्वाट्टै घट्यो : बजारमा दालको मूल्य बढेको विषयलाई लिएर आक्रोश बढेको थियो । शंकरदेव क्याम्पस अगाडि एउटा पसलमा हाम्रो टोली पुग्यो । पसलेले मेरो अनुहार चिनेका रहेछन् । मलाई देख्नासाथ दाल र चिनीको मूल्य स्वाट्टै घटाइयो । बजारमा १८० मा रुपैयाँमा किनमेल भइरहेको दाल पसलेले १२० रुपैयाँ मूल्य भन्यो । बजारमा ९० रुपैयाँमा बिक्री भईरहेको चिनीको मूल्य ६५ रुपैयाँ भन्यो । एकै पटक सस्तोमा सामानको मूल्य बताए पछि ग्राहकको भिड लाग्यो पसलमा भएको दाल र चिनी एकै छिनमा सकियो ।

कालीमाटीमा तीन घण्टा थुनियो : वाणिज्य विभागसँग तरकारीको अनुगमन गर्न हामी दुई वर्ष पहिले कालीमाटी गएका थियौँ । बजार अनुगमनमा गएको टोलीलाई व्यापारीहरुले थुनिदिए । तीन घण्टासम्म हामीलाई व्यापारीले कालीमाटीमा थुनेका थिए । पछि हामीलाई प्रहरीले आएर उद्धार गर्यो ।

उपभोक्ता ठगिने चार क्षेत्र

उपभोक्ता चारवटा वस्तु तथा सेवामा धेरै ठगिएका छन् । पहिला हो खाद्यान्न । खाद्यान्नको गुणस्तर, नापतौल र मूल्यमा गम्भिर समस्या छ । सरकारले खाद्यान्नको नमूना बजारबाट लिएर परीक्षण गर्ने गरेकै छैन । उपभोक्ता ठगिएको दोस्रो वस्तु माछा, मासु, तरकारी र फलफूल हो । यसको गुणस्तर, नापतौल र मूल्यमा उपभोक्ता सधैँ ठगिने गरेका छन् उनीहरु सचेत हुनुपर्छ ।

यस्तै सेवाको क्षेत्रमा भने अस्पताल, विद्युत, इन्टरनेट, टेलिफोन, सार्वजनिक सवारीमा उपभोक्ता ठगिएका छन् । सेवाको मूल्य, गुणस्तर र परिणाममा उपभोक्ता बेस्सरी ठगिएका छन् । यस्तै  लत्ताकपडा पनि उपभोक्ता ठगिएको अर्को क्षेत्र हो । यहाँ लत्ताकपडाको मूल्य नै यकिन छैन, कपडाको गुणस्तरको विषय पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment