 
																			१० कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ्ग) ले महान चाड बडादशैंलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गरेका छन् ।
विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोरोना महामारीका कारण यस वर्षको दशैं विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति पुनले जो जहाँ छ त्यही अवस्थामा घरमै बसेर दशैं मनाउने विश्वास व्यक्त गरेका छन् ।
देशमा कोरोनाको संक्रमण र मृत्युदर दुवै निरन्तर बढिरहेको र आगामी दिनमा संक्रमण अझै बढ्ने सम्भावनाले आफूलाई अत्यन्त चिन्तित बनाएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले चाडपर्व तथा अन्य समयमा स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा विशेष आग्रह गरेका छन् ।
दशैंका बेलामा पनि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा सबैमा सम्मान व्यक्त गर्दै उनले पर्वका समयमा अस्पतालको शय्या तथा आइसोलेशनमा रहेका संक्रमित छिट्टै कोरोनामुक्त हुने र उनीहरुको आगामी दशैँ उल्लासमय हुने अपेक्षा गरेका छन् ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे तापनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय संक्रमितले उपचार अभाव भोग्नुपरिरहेको खबर आउनु दुःखद् भएको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोनाका कारण स्वास्थ्य अवस्था जटिल भएकाको उचित उपचारको प्रबन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले तीनै तहका सरकार र आमनागरिकको प्रयासले कोरोना भाइरस नियन्त्रणमा आउने र आगामी चाडपर्व विगत वर्षमा जस्तै उल्लासमय वातावरणमा मनाउन पाउने अवस्थाको अपेक्षासमेत गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4