News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले कतार विश्वकप र युरो कपको सिकाइपछि टोली पहिलेभन्दा परिपक्व र अनुभवी भएको बताए ।
- उनले कतार विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनासँगको हार पीडादायी भए पनि त्यसले टोलीलाई मानसिक रूपमा बलियो बन्न सिकाएको उल्लेख गरे ।
- कप्तान भान डाइकले बलियो टोली र खेलाडीहरूको सही संयोजनका कारण नेदरल्यान्ड्स पहिलो पटक विश्वकप उपाधि जित्न सक्षम रहेको दाबी गरे ।
१८ जेठ, काठमाडौं । नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइकले कतार विश्वकप २०२२ को निराशा र युरोकप २०२४ को प्रगतिपछि टोली अहिले पहिलेभन्दा धेरै परिपक्व, आत्मविश्वासी र अनुभवी भएको बताएका छन् ।
फिफा विश्वकप २०२६ अघि फिफासँग कुरा गर्दै लिभरपुलका सेन्टर–ब्याक भान डाइकले कतार विश्वकपको क्वार्टरफाइनलमा पछि पराजित भएको अर्जेन्टिनासँगको पीडादायी हार सम्झिँदै भनेका छन् कि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता केवल उत्कृष्ट व्यक्तिगत खेलाडीले मात्र सम्भव हुँदैन, टोलीको सन्तुलन र मानसिक मजबुती पनि आवश्यक हुन्छ ।
उनका अनुसार यही अनुभव र सिकाइका आधारमा अहिलेको पुस्ताले नेदरल्यान्ड्सलाई पहिलो विश्वकप उपाधि दिलाउने सम्भावना राख्छ ।
फिफाले लिएको अन्तर्वार्ताको अनुवादित अंश हेरौं ।
तपाईंका लागि व्यक्तिगत रूपमा विश्वकपको अर्थ के हो ?
कतारमा खेलिएको विश्वकप मेरो लागि निकै विशेष थियो, किनभने त्यो मेरो पहिलो फाइनल (नकआउट) थियो । विश्वकप संसारभर कति लोकप्रिय छ भन्ने त्यतिबेला थाहा भयो । मैले च्याम्पियन्स लिगका धेरै फाइनल खेलेको छु, जुन पनि विश्वभर हेर्ने गरिन्छ, तर विश्वकपको पहिलो खेल नै अत्यन्त विशेष अनुभव थियो जसले मलाई गर्व महसुस गरायो ।
के अब तपाईं फरक अनुभूतिका साथ यो विश्वकप सुरु गर्दै हुनुहुन्छ ?
तपाईंले खेलिसकेका फाइनलका अनुभवहरू, व्यक्तिगत र टोली दुवै रूपमा साथ लिएर आउनुहुन्छ । आशा छ त्यसलाई प्रयोग गरेर सफल हुन सकिन्छ । फाइनलमा केवल उत्कृष्ट खेलाडी हुनु मात्र पर्याप्त हुँदैन । सफल हुन धेरै तत्वहरू आवश्यक हुन्छन् । त्यसैले हामी अघि बढ्छौं, तर सबैभन्दा महत्वपूर्ण कुरा रमाइलो गर्नु पनि हो, किनभने यो आफ्नो देश प्रतिनिधित्व गर्ने सर्वोच्च क्षण हो । म यसको प्रतीक्षा गरिरहेको छु ।
तपाईं कप्तान हुनुहुन्छ, टोलीभित्र तपाईंको जिम्मेवारी के हो ?
यो केवल नेदरल्यान्ड्स टोलीमा मात्र होइन, क्लबमा पनि कप्तान भएको कारण यो मेरो लागि सामान्य कुरा हो । मेरो दृष्टिकोण सधैं खेलअघि र खेलपछि टोलीको उत्कृष्ट प्रदर्शनमा केन्द्रित हुन्छ । अन्ततः लक्ष्य जित्नु हो । यो मेरो लागि स्वाभाविक कुरा हो, तर राम्रो लाग्छ ।
२०२२ कतार विश्वकपको अर्जेन्टिनासँगको क्वार्टरफाइनललाई फर्केर हेर्दा ?
त्यो धेरै तीव्र खेल थियो । उत्कृष्ट राष्ट्रविरुद्ध थियो, जसले अन्त्यसम्म संघर्ष गर्यो । हामीले शानदार पुनरागमन गर्यौं, त्यस बेला हामीसँग गति पनि थियो र सायद अझै अगाडि बढ्नुपर्ने थियो । तर अहिले सोच्दा भन्न सजिलो हुन्छ । उनीहरू अघि बढे र अन्ततः विश्वकप पनि जिते, त्यसैले हामी विश्व विजेतासँग मात्र हार्यौँ भनेर भन्न सकिन्छ । त्यो खेल लामो समयसम्म सम्झिएको छु ।
त्यस खेलबाट तपाईंले के सिक्नुभयो ?
कुनै एउटा विशेष कुरा होइन, तर त्यो एउटा अनुभव हो । यस्ता खेलहरू, यस्ता क्षणहरू तपाईंले सँगै लिएर जानुहुन्छ । कसरी लडेर फर्कियौं भन्ने कुरा सम्झिन्छु । २–२ बनाउँदा हामीले गरेको उत्सव, कर्नर झण्डामा मनाएको क्षण, र त्यसबाट आएको फ्रि-किक गोल—यी सबै निकै सुन्दर सम्झनाहरू हुन् ।

विश्वकपअघि पेनाल्टी शूटआउटको तयारी कति गर्नुहुन्छ ?
हामी सधैं अभ्यास गर्छौं, त्यतिबेला पनि गरिरहेका थियौं । पेनाल्टीबारे सधैं छलफल हुन्छ । तर हरेक दिन अभ्यास गर्दा पनि सफलता ग्यारेन्टी हुँदैन । अर्जेन्टिनाविरुद्धको खेलअघि पनि मैले प्रशिक्षणमा सबै पेनाल्टी गोल गरेको थिएँ, तर खेलमा मिस भयो। त्यो कठिन क्षण हो, तर फुटबल त्यस्तै हो । हामी अभ्यास जारी राख्छौं र सम्भव भए ९० मिनेटमै जित्ने प्रयास गर्छौं ।
सन् १९७४, १९७८ र २०१० का नजिकका क्षणहरू हेर्नुभएको छ ?
२०१० मैले पक्का हेरेको थिएँ ।अरू समय म त्यति जन्मिएको पनि थिइनँ । २०१० शानदार विश्वकप थियो तर नेदरल्यान्ड्सका लागि अन्त्य दुखद रह्यो । आर्जेन रोबेनको अवसर र कासियासको बचाउ हामीले अझै सम्झन्छौं । सानो देश भएर पनि हामीले राम्रो प्रदर्शन गरेका छौं, तर हामी त्यो उपाधि जित्न चाहन्छौं ।
तपाईं र टोलीमाथि समर्थकहरूको अपेक्षाबारे के भन्नुहुन्छ ?
अपेक्षा सधैं हुन्छ । अहिलेको समयमा मानिसहरू सधैं आफ्नो विचार व्यक्त गर्छन्। तर हामीले बाहिरी कुरामा धेरै ध्यान दिनु हुँदैन । हामीले योजनाअनुसार एक भएर अघि बढ्नुपर्छ ।
समर्थकबाट ऊर्जा मिल्छ ?
हो, मिल्छ । यो धेरै महत्वपूर्ण कुरा हो । कतारमा अर्जेन्टिनाविरुद्ध खेल्दा जस्तै अनुभव थियो, जहाँ वातावरण निकै ठूलो थियो । त्यसैले समर्थकको समर्थन अत्यन्त आवश्यक हुन्छ । आशा छ अमेरिका गएर पनि हामीलाई धेरै समर्थन मिल्नेछ ।
व्यक्तिगत रूपमा कप्तान भएर विश्वकप जित्नुको अर्थ के हुनेछ ?
त्यो अद्भुत हुनेछ । तर हामी अझै धेरै काम गर्न बाँकी छ । म अहिले नै मेरो करियरमा र नेदरल्यान्ड्स टोलीसँग गरेको योगदानमा गर्व गर्छु । मानिसहरूले मलाई कसरी सम्झन्छन् भन्ने उनीहरूको कुरा हो ।
यो समूहलाई किन विश्वकप जित्न सक्ने विश्वास छ ?
धेरै खेलाडीहरूले युरो २०२४ खेले, जुन उनीहरूको लागि ठूलो अनुभव थियो । अहिले धेरै खेलाडी आफ्नो उत्कृष्ट उमेरमा छन् । धेरैजसो च्याम्पियन्स लिग स्तरमा खेलिरहेका छन् । तर अन्ततः कुरा खेलाडी होइन, टोली हो । सही संयोजन आवश्यक हुन्छ ।
के तपाईंहरू विश्वकप जित्न सक्नुहुन्छ ?
हामीसँग बलियो र एकताबद्ध समूह छ । म यस समूहमा विश्वास गर्छु । तर भाग्य पनि चाहिन्छ, केही खेलाडीहरूको विशेष प्रदर्शन चाहिन्छ, चोट नलाग्नु पनि आवश्यक छ । यी सबै मिल्दा हामी केही विशेष गर्न सक्छौं भन्ने मलाई विश्वास छ ।
प्रतिक्रिया 4