Comments Add Comment

डिजिटल दशैं

नेपालीहरुको महान चाड बडादशैं मान्न देशका शहरी क्षेत्रबाट मानिसहरु यसवर्ष गाँउघरमा झरेका छैनन्, सडकमा यतायातको भिडभाड छैन, नयाँ कपडा, खाने कुरा खासै किनिएन, नवरात्रीमा मठ–मन्दिरमा श्रद्धालुहरुको घुँइचो देखिएन, मिष्ठान परिकारहरु कमै बने, घरहरु रङ्गले पोतिएका छैनन्, पिंगहरु सरर.. हुँइकेका छैनन्, लङ्गुरबुर्जाका गोटीहरु घोलिएका छैनन् । घर–घरमा जमराहरु कमै राखिए । २०७७ सालको दशैं कोरोना महामारीका कारणले उल्लासपूर्ण छैन् । जो–जो जहाँ बसेका छन् तेही आ–आफ्नै किसिमले दशैं चाडलाई मनाईरहेका छन् । बरु यसवर्षको दशैंमा प्रविधिको प्रयोग भने अधिकतम् हुन पुग्यो ।

अघिल्लो वर्षसम्म शुभकामना आदनप्रदान गर्न सन्देश पठाउन मात्र प्रविधिको प्रयोग गर्ने गरेको भएतापनि यसवर्ष डिजिटलबाटै दशैं मनाउन नेपालीहरु व्यस्त भई दशैंलाई नौलो रुपमा मनाए । पहिला विदेशमा भएका सन्तानलाई सामाजिक संजालबाटै टीका, आर्शिबाद व्यक्त गरेको भएतापनि यसवर्ष भने देशभित्रै, एउटै शहरमा पनि टीका, आशिर्बाद दिन सामाजिक सञ्जालको अत्यधिक प्रयोग हुन पुग्यो । प्रविधिको विकासको उपलब्धिले हात हातमा भएको मोवाइल फोनले डिजिटलबाट दशैं मनाउन सहज भयो । कसै–कसैले त जुम, गुगल मिट जस्ता सामाजिक संजालबाटै सामुहिक रुपमै दशैंलाई हर्षोल्लास साथ मनाए । पुरुषलाई आयु द्रोण सूते… महिलालाई जयन्ति मंङ्गलाकाली…दशैं मन्त्रसहित आर्शिबाद मेसेन्जर, ह्वाट्सएप, भाइबर जस्ता सामाजिक संचालबाट बडाले सानालाई दिँदा यसवर्ष रोचक अनुभव महशुस हुन पुग्यो ।

भर्चुअल माध्यमको प्रयोग गरी सामाजिक सञ्जालबाट लगाइएको टीका र आर्शिबाद तेतिबेला वास्तविक लाग्दथ्यो जतिबेला आफ्नो बैंक खातामा डिजिटलबाटै दक्षिणा आउथ्यो । सामाजिक संजालबाट लागाइएको टीका र आर्शिबादसँगै खातामा दक्षिणा आएको सन्देश मोवाइलमा टिङ टिङ… भएर बज्दा जहाँबाट पनि दशैं मनाउन सकिने देखियो । डिजिटलबाट दशैं दक्षिणा भुक्तानी गर्न बैंकहरुले ग्राहकवर्गलाई आकर्षण गर्न विभिन्न क्यासब्याक योजनाहरु सार्वजनिक गरेका छन् । बैंकरुको मोबाइल बैंकिङ्ग प्रयोग गरी रिमार्कसमा  ‘दक्षिणा’ लेखी रकम ट्रान्सफर गरेमा दक्षिणा रकमको दश प्रतिशत वा एक सय रुपैंया थप गरिदिने देखि तीन सय रुपैंया क्यासब्याक दिनेसम्म योजनाहरु ल्याएका छन् । यसैगरी बैंकको कार्ड प्रयोग गरी बैंककै पोस मेसिनमा स्वाप गरी रकम भुक्तानी गरेमा भुक्तानी गर्ने रकमको १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म ब्यासब्याक हुने योजनाहरु प्रति ग्राहकहरु आकर्षित भएको देखियो । मोबाइल बैंकिङ्गबाट बैंक खातामा रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने बैंकहरुको घोषणाले नागरिकले मोवाइल बैंकिङ्ग राम्रै उपभोग गरे ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डिजिटल कारोबार गर्नेहरुको संख्या बढेको छ । गत भदौ मसान्तसम्ममा एक करोड १३ लाखभन्दा बढी ग्राहकहरुले बैंकबाट मोवाइल बैंकिङ्ग सेवा, १० लाख ३१ हजार भन्दा बढीले इन्टरनेट बैंकिङ्ग सेवा, बैंकहरुबाट ७५ लाख कार्डहरु जारी भैसेकेको राष्ट्र बैंकले जनाएको छ । यसले नेपाली नागरिकहरु डिजिटल बैंकिङ्ग कारोबारतर्फ अगाडि बढिरहेको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्र ३७ खर्ब ४४ अर्ब रुपैंयाभन्दा बढी रकम डिजिटल माध्यमाट कारोबार भएको राष्ट्र बैंकको प्रतिवेदनबाट थाहा भएको छ । यसले के इङ्गित गर्छ भने विस्तारै नेपाली अर्थतन्त्रको कारोबार डिजिटलतर्फ गईरहेको छ । जसले अनौपचारिक अर्थतन्त्र निरुत्साहित भई औपचारिक अर्थतन्त्रको रुपमा रुपान्तरण भएको भान हुन्छ ।

कोरोना महामारीमा सरकारले गरेको लकडाउनको समयमा भर्चुअल माध्यमको रुपमा रहेको डिजिटल प्रणाली राम्रैसँग प्रयोगमा आयो । मानिसहरुले अनलाइनबाट मिटिङ्ग, प्रोग्रम संचालन, कक्षा सञ्चालन, तालिम दिने कार्यमा डिजिटल प्रणालीलाई राम्रैसंग उपभोग गरे । लकडाउनमा सहज प्रयोग गरिएको भर्चुअल माध्यमको फलस्वरुप यसवर्षको दशैंलाई डिजिटल रुपमा प्रयोग गर्न थप सहयोग पुग्न गयो ।

अन्तराष्ट्रिय स्तरको ज्ञान आर्जन गर्न, तालिम दिन, कक्षा संचालन गर्न, मिटिङ्ग गर्न मात्र प्रयोग भैरहेको डिजिटल प्रणाली प्रयोगको साँघुरो घेरा अब स्वदेशकै एउटै शहरभित्र पनि सहजै प्रयोग गर्न सकिने गरी फराकिलो भैसकेको छ । यसले काममा समय र लागत त कम गर्छ नै कार्यमा उत्पादकत्व पनि बृद्धि हुने विज्ञहरु बताउँछन् ।

सांस्कृतिक रुपमा मनाउने चाडपर्वमा समेत प्रविधिको सहजै प्रयोग हुन थालिसकेपछि अब कुनै पनि कार्य वा विषयमा प्रविधिको प्रयोग नहोला भन्न नसकिने भयो ।  परम्परागत किसिमबाट मनाईने चाडपर्वहरु मनाउँदाको आनन्द डिजिटलबाटै मनाउँदा अवश्य नहोला तर यस्ता महामारी र नभ्याउने अवस्थामा चाडपर्वहरु विकल्पको रुपमा मनाउँदासम्म ठीकै होला । महामारीको समयमा विकल्प माध्यमको रुपमा मनाइएका चार्डपर्वहरुको अन्तर्यः र महत्वलाई बुझेर मनाउँ । विषम परिस्थितिमा सहजताका लागि अपनाइएका प्रविधिका कारणले चाडपर्वहरुका सांस्कृतिक महत्वलाई घट्न नदिउँ ।

(यहाँ व्यक्त विचारहरु लेखकका निजी हुन । उप्रेती राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी हुन )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment