
११ कात्तिक, काठमाडौं । आगामी पाँच वर्षको आर्थिक र सामाजिक विकासमा कस्तो नीति लिने र अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा योजना बनाउन चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक शुरु भएको छ ।
सो पार्टीको केन्द्रीय समितिको पाँचौं प्लेनरी सेसन सोमबारदेखि बेइजिङमा शुरु भएको छ । बैठक चार दिनसम्म चल्ने छ ।
भारत र अमेरिकासँग बढ्दो द्वन्द्व र कोभिड–१९ का कारण विश्व नै आक्रान्त भइरहेको समयमा बस्न लागेको सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।
अर्काेतर्फ अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा सो बैठक हुन गइरहेको छ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बाइडन दुवैले चीनप्रति आक्रामक हुने छनक दिइसकेका छन् ।
सो बैठकले आगामी सन् २०३५ सम्मको भिजनसमेत तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उदाउँदो शक्ति चीनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरुसमेत सो बैठकले तय गर्नेछ ।
सो बैठकले पार्टीको मामिलामा केन्द्रीय समितिलाई अझ धेरै अधिकार दिने र त्यसमार्फत चिनियाँ राष्ट्रपति सी चिनफिङ अझै शक्तिशाली हुने बताइएको छ ।
प्रतिक्रिया 4