काठमाडौं । च्याम्पियन्स लिगमा युभेन्टसलाई हराएर बार्सिलोनाले पिचमा उथलपुथलका लागि राम्रो प्रतिक्रिया दिएको मिडफिल्डर सार्गी रोबेर्टोले बताएका छन् ।
स्पेनिस जाइन्टले आइतबार ला लिगामा रियल मड्रिडसँग ३-१ को हार व्यहारेको थियो भने बुधबार क्लबका अध्यक्ष जोसप मारियो बार्टोमेउले राजीनामा दिएका थिए ।
त्यही रात बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा इटालियन च्याम्पियन युभेन्टसलाई २-० ले हराएको छ ।
खेलको १४औं मिनेटमा लिओनल मेस्सीको पासमा उस्मान डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफको अन्त्यतिर युभेन्टस १० खेलाडीमा सिमित हुनुपुग्यो । उसका डिमिरल दोहोरो पहेँलको कार्ड पाएर बाहिरिए ।
अतिरिक्त समयमा एन्सु फातीलाई फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
जितपछि रोबर्टोले भनेका छन्, ‘हामीले क्लबमा उथलपुथलको सबैभन्दा राम्रो प्रतिक्रिया दिन सक्छौं ।’
मानिसहरुले धेरै कुरा गरेको भए पनि बार्सिलेाना टिमले जित चाहेको उनले बताएका छन् ।
जतिबेला च्याम्पियन्स लिगको समूह विभाजन भएको थियो, बार्सिलोना र युभेन्टस समूह जीमा परेपछि फुटबल समर्थकहरुले यसलाई मेस्सी र रोनाल्डोले खेल हेर्ने अवसरका रुपमा समेत लिएका थिए । रोनाल्डो रियल मड्रिड छाडेर युभेन्टस गएपछि दुई स्टार फुटबलर आमनेसामने भएका थिएनन् ।
तर कोरोना संक्रमण पुष्टि भएका कारण युभेन्टसको घरेलु मैदानमा भएको यो खेलमा रोनाल्डो मैदान उत्रन पाएनन् ।
प्रतिक्रिया 4