Comments Add Comment

‘पाठेघर’ र ‘वीर्य जमीन’ को झट्का

करिब आधा वर्ष कोभिड १९ ले थल्याइरहेका बेला मलाई आफ्ना व्यक्तिगत पुस्तकालयमा थन्किएका किताबहरू पढ्ने मौका मिल्यो । केही कविता, उपन्यास र निबन्ध पढ्न बाँकी नै थिए ।

किताबका चाङबाट उठाउँछु सशक्त कवि बादल चाम्लिङको कविता कृति ‘पाठेघर’ । हामी पाठकलाई पुरातात्विक रचना ज्ञानका लागि र अर्गानिक मोर्डन रचना ज्ञान र आनन्दका लागि आवश्यक पर्दोरहेछ ।

यसरी यस कोभिड महामारीको बन्दाबन्दीका क्रममा किताब पढ्दै गर्दा मैले पढेँ दुई आधुनिक कविता कृति बादल चाम्लिङका ‘पाठेघर’ २०७४ र ‘वीर्य जमीन’ २०७७ ।

उनको ‘पाठेघर’ कवितासङ्ग्रहमा ३८ कविता समेटिएका छन् । कविता हृदयग्राही छन् । उनका सबै कविता अडिई अडिइकन पढ्न हौस्याउँछन् ।

बालकलाई जिम्मेवार नठान्ने हाम्रो पुरानो चिन्तनलाई बादल फाटेझैँ उघारिदिन्छ । जब बालक कविता पढ्दै थिएँ, म नुहेँ ।

तपाईँ खुट्टाले हिँड्नुहुन्छ नि

एउटा बालक

चुनौतिका रङ्गीन किरणहरूप्रतिको

जवाफदेहिताले हिँड्छ ।

(बालक)

नाइजेरियन कवि चिमामान्डा अदिचि भन्छिन्- कुनै कुरालाई एकतर्फी मात्र बुझ्यो भने त्यो एकदमै अपरिपक्व हुन्छ । बादलका कविताले त्यो बोध गराएका छन् ।

देश, गाउँ, पहाड, गुराँस, पेशा, आरोप, प्रेम, सम्मान, परिवार, फूल, पात, समानता, मानवता, संस्कृति सबैलाई उनले कवितामा उनेको शिल्प परिपक्क देखिन्छ । उनका कविताका विषयमा केही भन्न बस्ता उनी पहिलो सङ्ग्रहकी कवि, सत्तरीको दसककी कवि भनी भनी दुरुत्साहन गर्नुभन्दा उनी अन्तर्यमा कविता सोचिरहने, लेख्ने र परिष्कार गरिरहने, पाइताला दह्रा भए पनि बाटो पर्खेर बस्न सक्ने धीरताकी पर्याय कवि भन्ने पुष्टि हुन्छ ।

उनका कविताले दसकौँ लेखेर दसौँ कृति प्रकाशन गरिसकेकाहरूसँग राम्ररी कुम जोड्न सक्छन् । उनका कविताका भाव र विचारले गम्भीर चिन्तनको परिचय दिन्छन् ।

अङ्ग्रेजी भाषाकी अध्येता, नेपाली भाषाकी लेखक तथा अध्येता, सांस्कृतिक रूपमा किराँत संस्कृतिबाट अभिप्रेरित कवि बादल चाम्लिङको ‘वीर्य जमीन’ सङ्ग्रहमा ४० वटा कविता छन् ।

उनी कविताको सम्मोहनमा छिन् । उनका कवितामा आवरण छैन । उनका कविताले बहुल अर्थको अतिशय पीडा भोगाउँदैनन् । देश, जीवन, समाज र लैङ्गिक चिन्तनमा उनका कविताले विचरण गरेका छन् ।

मैले बादललाई भौतिकरुपमा भेटेकी छु । अल्पभाषी बादल कृतिका साथ आउनलाई केही समय गम्भीर मौनतामा बसिन् । पछिल्लो समय कविताको बाटो समातेर सांसारिक चलायमान चरित्रका दह्रो पाइला लिएर उभिन आएकी कवि हुन् उनी ।

मेरो अनुपस्थितिमा

कुनै फूलप्रति प्रेम जम्यो भने

सुख भेट बनेर बाँचिरहोस्

विधिसङ्गत

पिरतीमा रुझेर टक्टकिनु त आखिर

मसित नै हो ।

(पाठेघर)

पाकेको निबारोको फल अभेगतिर नझरोस् लाग्छ

बिउ अन्न जथाभावी नपोखियोस् हुन्छ

निर्जीव वस्तुको त हिफाजत गर्नुपर्छ

धुलोमा लडिरहेको छ खोस्टाको पिरा भने उठाउनु पर्छ

एक बाला धान ब्याडमा पर्यो भने

चिट्ठामा जीवन पर्न सक्छ

यस्तो विवेक मान्छेभन्दा अरु कसले देखाउन सक्छ ?

(वीर्य जमीन)

यहाँ दुई कविताका अंशहरू लिइएको छ । दुई कविताका अंश दुईवटा कवितासङ्ग्रहका शीर्षक रहेका कविताका अंश हुन् । कवि बादलका दुई वर्षको अन्तरालमा प्रकाशित यी दुई काव्यकृति पढेपछि एउटा कविका काव्यिक र समाजशास्त्रीय मनमा उठेका विचारहरू देख्न पाइन्छ ।

जीवन योजनाको प्रतिफल हो । जीवन चिठ्ठामा पाउनु कुनै सुन्दर कर्म होइन । मानिसले निर्जीव वस्तुको समेत ख्याल गर्नुपर्छ, जस्तो कि झरेका अन्नका दाना, खोस्टाका पिरा उठाएर राख्नुपर्छ भने मानिसमा विवेक हुन्छ, जीवन त उसले झर्नु अघि समेट्नुपर्छ भन्छिन् ।

मानिसको विवेक वीर्य र जमीनमा अर्थात् लैङ्गिक र यौनिक विवेकहीनतामा गुम्न पुगेकाले मानवको जीवन सामाजिकबाट विपर्यास हुन थालेको देख्छिन् कवि बादल ।

हुन त बादल भेटघाटका क्रममा एकदम शान्त देखिन्छिन् । भय र अगोचर योजनाले थिचिएकीजस्ती पनि देखिन्छिन् । तर, उनी मानिसको जीवन र समाजको चरित्रभित्र काव्यकोलाजमा गहिरो अनुसन्धान गरिरहेकी पाइन्छिन् । उनका यी कविताकृतिका आधारमा हेर्दा समाजको क्यानभासमा सजिलै काव्यिक चित्र र रङ संयोजन गर्न सक्ने कवि हुन् यिनी ।

क्षमा, सहनशीलता र त्यागमा नारीको व्यवहारलाई उनका कविताले प्राथमिकता दिएका छन् । बादलका कविताका हरफहरू पढ्दै जाँदा अग्रज बङ्गाली लेखिका महाश्वेतादेवीका कविताका हरफले यतिखेर स्पर्श गर्न आइपुगे ।

तिमी आइपुग्यौ

ढोका खुल्ला छ, भित्र आऊ

एकैछिन पर्ख

ढोकानेर पाउदान छ

आफ्ना अहम् टक्टक्याएर आऊ ।

(सुनो, इतना मुस्किल भी नहीँ है जीना)

असमानताको जड अहम र अविवेकी विचार हो । महाश्वेता देवी त्यसलाई भित्रसम्म आउन नदिए जीवन मुस्किल छैन भन्छिन् । बादल भन्छिन्, ‘आखिर टक्टकिनु त मसित नै हो’ ।

महाश्वेता देवीको अहम बाहिरै टक्टक्याएर घर आउने आग्रहले गतिशीलता प्रदान गरेको छ । । यहाँ समानता र क्षमा दुई कुरा आएका छन् । महाश्वेता देवी समानताको पक्षधर हुन्, बादल क्षमाकी महत्तम आमा नारी हुन् । घरमा आएर टक्टकिनु नै समाजको नियमितता हो जुन कवि बादलले पहिला गरेका गल्तीलाई क्षमा दिएर नैतिकरुपमा पश्चात्तापको परिधिबाट सहज भई घर आउने वातावरण बनाएकी छन् ।

बादलको कविताको अन्तर्यमा पुरुषले आफूले गरेका भुल र अहमले घरमा दुःखको बीजारोपण नगरोस् भन्ने नै देखिन्छ । कहिलेकाहिँ क्षमा पनि अपराध बन्न पुग्छ । अथवा क्षमाले विकास र परिवर्तनको गतिशीलतालाई रोकिदिन्छ ।

उनका दुबै कवितासङ्ग्रहका कविताको भाष्य किनारीकृत लयतिर साङ्केतिक छ । क्यानभासमा उतारिएको चित्र र त्यसको नाम ‘बोक्सी’ कविता होस् वा सहनशीला नारीको पर्याय ‘ब्ल्याक होल’ अथवा भूमिपुत्रको उचाइमाथि समय सभ्यताले दिएकोे परिचयमा अस्तित्व खोज्नुपर्ने वाध्यताको परिचायक कविता ‘भू-दिउल’ केही दृष्टान्त हुन् ‘विर्य जमीन’ कवितासङ्ग्रहबाट ।

कविको हृदयको तलाउमा बारबार कोप्पाले दिएको आशिर्वादसँग दक्षिणा बिम्ब पौडन्छ । सँगै आउँछ भुमेपाथी पनि । दक्षिणा र भुमेपाथीले यीनको स्वाभाविक बाल्यकाल सम्झाउँछ कि यीनको आशय किनाराले अभिभूत चेतना भन्ने विषयमा पाठक द्विविधामा पर्नु आवश्यक छैन ।

दक्षिणा र भुमेपाथीको गहिरो संवेदना र दोस्रो स्पेस अर्थात् अस्तित्वको स्थानको पाश्र्व यसले बोकेको छ । जीवनको पाठशालामा सिकिने अमेट दोस्रो स्पेस अर्थात् छोरी अर्काको घर जाने जात, अर्थात् गोजीखर्च होइन पेवाको जिलोको स्थापत्य यहाँ पाइन्छ । (पहिलो स्पेस हुँदो हो त यहाँ जग्गाको धनीपूर्जामै उसको नाम हुनुपर्ने हो ।)

किराँत संस्कृति भन्छ : मातृशक्तिको नेतृत्वमा हुर्केको हो किराँत जाती । कवि बादलका कवितामा आमा घर फर्किने ठेगाना हुन् बाका लागि । यहाँसम्म त ठिक छ तर उनको संस्कृतिमा आर्य पितृसत्ता सुइत्त पसिहाल्छ । बा दुःखजिलो गरेर घरको अर्थशास्त्र बलियो बनाउने नायक भएर आइपुग्छन् । दसैँ यीनको पि्रय पर्व बन्छ । यिनी कवितामा सहअस्तित्वको विचारमा रमाउँछिन् । पाठकका हृदयका आँखाले खोज्छ यिनका कवितामा उँधौली, उभौली, मुन्धुम, च्याब्रुङ आदि पनि । अलिकति त भेटिन्छ ‘वीर्य जमीन’ भित्रको ‘भू-दिउल’ कविताभित्र । एउटा संस्कृतिले नमानेको कुरा अर्को संस्कृतिको पवित्र वस्तु हुन्छ । यसलाई सम्मानित बनाउने काम संस्कृति कर्मीको मात्रै होइन ।

रक्सी, जाँडको पवित्रताले किरात संस्कृतिमा महत्वपूर्ण भूमिका खेल्छ तर यसलाई अपमानको मानसले थिलथिलो बनाइएको छ । ‘भू-दिउल’ कविताभित्रको एउटा अंश हेरौँ, यसले निजत्वको गहिराइमा छोएको छ ।

‘पकाएको अन्नमा छ्यास्स मर्चा मोल्न पाए

जाँड मगमगाउँदै उठ्छ

मदिरामध्येको शालीन रूप यसको हुन्छ ।’

खानलाई मीठो भएर मात्रै यो शालीन भएको होइन, यो त द्यौतालाई चढाउन पाएर पो यसको बासना मगमगाउँदै उठेको हो त । यसका लागि कविलाई धन्यवाद दिनुपर्छ ।

उनको हृदासनको जीवन र जीवनको लय -आदर्श, अस्तित्व र चेतनाले निर्देशित गरेको छ । बादल आफूमा निलो बग्ने नदी किनारमा उभिएकी एक्लो बुट्यान महसुस गर्छिन् । उनको काव्यिक चिन्तनले हृदयको उडानलाई गति दिन्छ ।

उनले चाहेको जीवन र जगत् अग्रगामी आदर्शको चेतले भरिएको छ । तर समाज, घर, परिवार, निरन्तर चलिरहेको समाजशास्त्रका प्रतिनायकका रूपमा उभिएर होइन, बरू यसैभित्र बसेर यसैलाई समेटेर, सुधारेर, सभ्य र सौम्य जीवनको कामना गर्छिन् । उनको पाठेघरभित्रको ‘दृश्यमा उनी’ कविताले आत्म सम्मोहनको स्थिति पैदा गरिदिएको छ अर्थात् कविले जीवनको सरलताका लागि उभ्याएको भरोसा । घरेलु तुनबुन गर्ने उनको दृश्य बानी, बाल्यकालमै छोडीजाने काखे छोराको सम्झना र व्यथा, छिमेक र चिनारूले दिने वचनप्रहार, काव्यिक चिन्तनको गहिराइमा डुब्न मन पराउने उनको भावलयबाट बाँचिरहेकी उनी देख्नमा समुद्रको सतह हुन्, कविताका भाव र विचारका लागि उनी समुद्रको गहिराइ ।

कवि बादलले कवितासङ्ग्रहका नाम र कविता रचनाका लागि छनौट गरेका शीर्षक ‘पाठेघर’ र ‘विर्य जमीन’ का विषयमा पाठकमा आश्चर्य देखिन्छ । कहिलेकहीँ पाठकहरू सिमोन द बोउवाको ‘द सेकेण्ड सेक्स’ किन्नेबेला वरिपरि हेर्ने र पढ्ने बेलामा गाता लाएर पढ्ने गरेको पनि सुनेकै हो । जतिजति समाज शिक्षित हुँदै गएको छ र राज्यको तथ्याङ्कमा शिक्षाको दर उच्च गतिमा बढिरहेको छ त्यति त्यति समाजमा लैङ्गिक र यौनिक अपराध बढिरहेका छन् ।

मिश्र वैजयन्ती

अपराध समाजको मनोविज्ञान हो । कवि बादलले यही समाजको मनोविज्ञानलाई लक्षित गरेर समाजको सुधारका लागि राखेकी छन् यी कृतिहरूका नाम ‘पाठेघर’ र ‘विर्य जमीन’ । लैङ्गिक चेतना र यसका विषमता काव्यकृतिका शीर्षकगत आशय हुन् । कृति नपढी काव्यकृतिका शीर्षकसँग पाठकले आत्तिनुपर्ने अवस्था पनि होला तर यसको गहिराइमा पुग्न यसलाई अध्ययन गर्नु आवश्यक ठान्छु ।

आर्थिक, सामाजिक, भाषिक, राजनैतिक, विद्युतीय तरङ्गको उपभोग, पूँजी विकासको उत्पादन र मानिसमा यसको पहँुचले समाजको मनोविज्ञानलाई निर्धारण गर्छन् । यस मनोविज्ञानमा शक्तिको पहुँच र कानुनको निरिहता प्रस्तुत भएर देखिने समाजको स्वरुप भयावह हुन्छ । कविताले त्यता सङ्केत गरेका छन् ।

जो सपना देख्तैन, त्यो अगाडि जाँदैन । होला सपनाको यात्रा कहिले सुस्त र कहिले गतिमान हुन्छ । बादलका कवितामा समानता, समता, बहुलता, मौलिकताको आवाज पाइन्छ । पहाडका कान्ला, हरियाली, मौलिक व्यवहार, आत्मियता उनका कवितामा सहज भएर आउँछन् ।

वीर्य जमीन सङ्ग्रहको ‘औँसी र पूर्ने बजार’ कविता पढिरहँदा औँसी र पूर्नेको बजार जाँदाको दृश्य लहर लहर भएर आँखामा दौडिआउँछन् । माटो बोल्नु, कान्लाले धाप मार्नु, भान्साले पाहुनाको पदचाप सुन्नेबित्तिकै भान्साको निम्तो दिनु, करेसाबारीको फलफूल बिनापैसा अघाउँजी खान दिनु, घँगारुका काँडाले कपालको लट्टा कपाल कोरिदिनु जस्ता बिम्बले गाउँ र खास गरी प्रकृति पनि मानवीय व्यवहार गर्ने पहाड गाउँको उनको काव्यिक चिन्तनद्वारा गाउँमा आमाको काख मिल्छ भन्छिन् र विपर्यासमा सहरको मर्दै गएको अमानवीय चेतनालाई प्रहार गर्छिन् । उनको सपनामा महत्तम मानवता आउँछ ।

मानिस समाज र समूहमा बसेर पनि पृथक बाँच्न चाहन्छ । एक एक मानिसमा आˆना आˆना सपना हुन्छन् । सपनाका लागि सपना देख्नु एकदम गम्भीर विषय हो । त्यही गम्भीर र गहिरो कर्म हो कविता लेख्नु । कविता लेख्नेहरूको एकाकीपनले सपनाको सामिप्यतामा लैजान्छ ।

काव्यिक विचारहरू तरल भएका बेला मानिसमा एक किसिमको गहिराई र एक्लो ऐकान्तिकताको आवश्यकता पर्छ । कवि बादलले जीवन र सपनाको साम्यता कतिको अनुभव गरेकी छन् त्यो त मलाई थाहा छैन तर उनका कविताले सपनाको बाटो समातेका छन् । बादलका कविता लेख्ने तरिकालाई कविताको भारले गहिरो चिन्तनमा लिएर गएझैँ लान्छ ।

बीसौँ शताब्दीका चर्चित कवि बुकोस्कीको नो लिडर्स प्लीज कविताले भनेझैँ बादललाई ऐकान्तिकता नै सपनाको गुरु अथवा शिक्षक बन्न सक्छ । आˆनो सपनाको कोलम्बस उनी आफैँ हुन् । पाठेघर कवितासङ्ग्रहभित्रका आकृति, आमा, मेरो गाउँ, बालक, दृश्यमा उनी जस्ता कविताले उनको सपनाको मार्गचित्र प्रशस्त गर्ने रेखाङ्कन गरेका छन् ।

कवि चाम्लिङले देशप्रेम विषयमा उठाएका प्रश्नहरू चुनौतिपूर्ण छन् । अल्पसङ्ख्यक र महिलाहरूलाई सधैँ दोस्रेा स्थानमा राखिने सरकारी राष्ट्रियता बद्लिएको छैन । टिनको बाकसमा शिक्षाको सर्टिफिकेट थन्क्याएर वैदेशिक रोजगारमा जानेका विषयमा राज्य सोच्दैन । खासमा सरकारले जनताको तर्फबाट सोच्न अझै केही युग पर्खनुपर्ने सङ्केत उनका कवितामा पाइन्छ ।

‘मेरो देशमा म पिँजडाको सुगा बनेँ ‘ उनको विद्रोह यो हो । यहाँ सरोकारवालालाई सुनाउन कि त बम पड्काउनुपर्छ कि त गोजीको आवाज हुनुपर्छ । स्वाभिमान र अस्तित्वको तावेदारी गर्नु भनेको विन्द्रावनको बन्चरोजस्तै हो । उनका कवितामा ‘नागरिकमा सांस्कृतिक पीडा जन्मिनु, आˆनै घरेलु घुर्यान नहुनु ‘ भनी शब्द गर्जन भइरहेको पाइन्छ ।

गर्जेर, थर्केर, भत्केर, फेरि निर्माण गरेर फेरि पनि चाहेको समाज भनेको समानान्तर जीवन बँचाइको समाज नै हो । मानव समाजको उच्चाभाष यसैमा निहित छ भन्ने उनका कविताका आशयमार्फत् उनको परिचय पाउन सकिन्छ ।

‘तिमीले जितेपछि वीरता पोखाउने ठाउँ

मेरो फुलबारी

मैले जितेपछि वैभव पोख्ने ठाउँ

तिम्रो भन्ज्याङ चौतारी

आखिर दौडपछि जसले जिते पनि

हाम्रो जितको उचाइ समानान्तर ।’

(समानान्तर जित -वीर्य जमीनबाट)

र, यसरी कवि बादलका कवितामा वेगवान शान्ति पाइन्छ ।

द्रौपदी र सवाल्टर्नको साम्यता

द एसेन्सियल गिन्सवर्ग किताबभित्र सम्पादक माइकलले दिएको गिन्सवर्गको परिचयले मलाई गुगल र युट्युवमा भेटेर पारेको भन्दा बढी सम्वेदननमा पार्‍यो । त्यसपछि सोचे- उत्खननका लागि मानिस मग्न हुन आफूलाई पगाल्छ । समाज भन्छ- ऊ बहुलायो ।

किताबका थाकमा आधाउधि छामछुम पढेको महाकाव्य महाभारत पनि छ र एकसरो पढेको सल्मान रुसदीको जोसेफ एन्टन पनि छ । महाभारत महाकाव्यको चिन्तन किन दोहोरिरहन्छ ? महाभारतमा त्यस्तो के छ ? यसलाई आधार मानेर धेरैले उपकथा, उपकाव्य लेखेका छन् । विनोदप्रसाद धितालले ‘योजनागन्धा’ उपन्यास लेखेका थिए ।

अहिले उपन्यासकार कुमार भट्टराईले ‘अश्वत्थामा’ उपन्यास लेखेका छन् । महाभारतमा थिचिएको, हेपिएको र आफू भएर बाँच्न नपाएकाहरूको प्रतिनिधि पात्र अश्वत्थामा पात्रले जीवनको तीन भाग बढी दुर्योधनको बढाइँ गरेरै सकेको छ ।

अँध्यारो भएको होइन, पारेको हो महाभारतका लेखकले भन्ने आशय बुझ्नु अश्वत्थामा उपन्यासको उद्देश्य भएको भन्ने बुझ्छु म । इतिहास, कथा र पुरातात्विक महाकाव्यहरूमा पनि लेखकको आग्रह हुन्छ जस्तो कि अश्वत्थामामा पनि छ । त्यसो भए लेखनमा आग्रह आउँछ ।

प्रसिद्ध भरतीय लेखिका प्रतिभा रायको महाभारतकै पात्र द्रौपदीलाई आधार मानी लेखिएको उपन्यास ‘द्रौपदी’ पहिल्यै पढेकी थिएँ, फेरि समात्न मन लाग्यो । त्यसको ठीक अघिल्लो दिन डिजिटल पेपरका रुपमा गायत्री स्पीवाकको ‘क्यान द सवाल्टर्न स्पिक ?’ दोहोर्याएकी थिएँ ।

खोइ किन हो कुन्नि, मलाई सजिलो गरी अक्षर र समाजलाई समदृश्यमा हेर्न कठिन हुन्छ । धेरै कुराको असाम्यताले अत्याउँछ । स्पिवाकको सवाल्टर्न विषयक पाठले समाजभित्रका चरित्रलाई हेर्न हौस्याउँछ ।

‘द्रौपदी’ उपन्यासमा द्रौपदीको व्यक्ति र राजनीतिक जीवन तहसनहस छ । द्रौपदी सवाल्टर्न हो कि होइन भन्ने मलाई बारम्बार घोच्न थालेको थियो । पाँच विद्वान, कुटिल, चलाख, बहादुर, दैवीसंरक्षण प्राप्त पाण्डवलाई बेलाबखत सल्लाह, सुझाव दिने ऊ विद्वान पनि हो तर द्रौपदी जीवनभर पितृसत्ता शक्तिको वेदीमा तरबारमुनि हुनुको अर्थ शक्तिको आश्चर्यपूर्ण प्रदर्शन, त्यो हो ।

यसर्थ मुखरहरू पनि निमुखा हुन्छन्, सवाल्टर्न र शिक्षा परस्पर प्रमाणित गर्ने वस्तु होइनन्, यस्तो ठान्छु – द्रौपदी र सवाल्टर्नको साम्यता म भेट्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment