Comments Add Comment

हारपछि माउरिन्हो भन्छन्- ११ जना खेलाडी प्रतिस्थापन गर्न चाहन्थेँ

Photo Credit : GETTY IMAGES

काठमाडौं । टोटनह्यामका म्यानेजर जोसे माउरिन्होले यूरोपा लिगमा रोयल एन्टवेर्पविरुद्ध खेल्दा आफ्पनो टिममा सबै ११ खेलाडी परिवर्तन गर्न चाहेको बताएका छन् । सो म्याचमा आफ्नो टिम पराजयको हकदार भएको उनको टिप्पणी छ ।

उक्त म्याचमा रोयलले १–० को नतिजा निकाल्दै टोटेनह्यामलाई स्तब्ध पारेको थियो । पहिलो हाफमै रोयलले अग्रता लिएपछि माउरिन्होले गियोभानी लो सेल्सो, स्टेभन बर्गविज्न, कार्लोस भिनिसियस र डेले अलीलाई मध्यान्तरपछि प्रतिस्थापन गरेका थिए । उनीहरुलाई पछ्याउँदै गारेथ बेल पनि मैदानबाट निस्किए । तर, यी पाँच खलाडीको स्थानमा आएका पियरे इमिले होजबर्ग, एरिक लामेला, लुकास मोउरा, सोन हेउङ मिन र हेरि केनले खेलको नतिजामा कुनै फेरबदल ल्याउन सकेनन् ।

बेल्जियममा भोगेको नमिठो हारको पृष्ठभूमिमा माउरिन्होले आगामी महत्वपूर्ण म्याचहरुमा किनारा पारिएका खेलाडीहरुले कुनै गुनासो गर्ने ठाउँ नरहेको बताए ।

‘वास्तवमा म ५ जना होइन, ११ जनालाई नै परिवर्तन गर्न चाहन्थेँ । तर, यसको सबै दोष म आफैंलाई दिन्छु । मैले नै सुरुवाती ११ जना खेलाडीको छनोट गरेको थिएँ । मध्यान्तरमा मैले आफ्नो गल्ति सुधार्ने प्रयास गरेँ । तर, त्यो पर्याप्त भएन । पहिलो हाफको मानसिकताले दोस्रो हाफमा पनि हामीलाई असर गर्यो ।’

उनी थप्छन्, ‘पहिलो हाफमा खेल निकै सजिलो थियो । दोस्रो हाफमा हामीले सुधार त गर्यौं तर उनीहरुले विल्कुल फरक तरिकाले खेले । यो धेरै कठिन भयो । अन्त्यमा एन्टवेर्प जेको हकदार थियो, त्यो पायो । हामी जेको हकदार थियौं त्यो पायौं ।’

‘यो सही नतिजा थियो । राम्रो टिमले जित्यो र खराब टिमले हार्‍यो । मलाई अनौठो लागेन ।’

माउरिन्होले आइतबार ब्रिग्टोन र होभ एबियोनविरुद्ध हुने प्रिमियर लिगको ग्रुप जे भिडन्तअगाडि टिममा पाँचवटा बदलाव गरेका छन् ।

कुनै खेलाडी टिममा नियमित बन्न सक्ने सम्भावनाका विषयमा प्रश्न गरिँदा उनले जवाफ दिए, ‘तपाईंलाई थाहा छ, हाम्रो बेस्ट ११ के हो भनेर । तपाईंलाई जे थाहा छ, त्यो मलाई पनि थाहा छ र सबैलाई थाहा छ । हामीसँग धेरै राम्रा खेलाडीहरुसहितको ठूलो स्क्वाड छ । उनीहरुलाई अवसर दिने मेरो दायित्व हो । बढीभन्दा बढी उपलब्धी हासिल गर्न खोज्नु उनीहरुको दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment