
१९ कात्तिक, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको ल्याबमा कार्यरत एक कर्मचारीको कारोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालको ल्याबमा फर्मासिस्ट पदमा कार्यरत २८ वर्षीय युवकको बुधबार बिहान ११ बजेतिर मृत्यु भएको हो । उनमा गत कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएपछि उनी अस्पताल अन्तर्गत साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएका थिए । उनको आइसोलेसन केन्द्रमै मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
उनले आइसोलेसन केन्द्रभित्र उपचार गराउनेमध्ये यो नै पहिलो मृत्यु भएको बताए ।
डा. झाका अनुसार युवकमा अन्य कुनै रोग थिएन । कोरोना पोजेटिभ देखिएपनि त्यस्तो कुनै लक्षण पनि देखा नपरेको उनको भनाइ छ ।
लक्षण देखा नपरे पनि उनी आइसोलेसनमा भर्ना भएका थिए,’ डा. झाले भने, ‘बिहान अन्य दिन झैं खाजा र चिया खाएर बसिरहेको बखत अचानक उनको मृत्यु भएको हो ।’
मृतक राजविराज वडा नम्बर-२ का बासिन्दा हुन् । उनको शव व्यवस्थापनको तयारी भइरहेको डा. झाले बताए ।
योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रतिक्रिया 4