Comments Add Comment

डेमोक्रेटिक पार्टीको त्यो उत्साह, बाइडनले पाएको यो मत

१९ कात्तिक, काठमाडौं । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प देशभित्रै अलोकप्रिय भएको, अन्तर्राष्ट्रिय छवि धुमलिएको र मत सर्वेक्षणहरु पनि आफू अनुकूल देखिएकाले यस पटक ठूलो अन्तरले निर्वाचन जित्ने अपेक्षा डेमोक्रेटिक पार्टीको थियो ।

अर्काेतर्फ यस पटक डेमोक्रेटिक पार्टीले उम्मेदवार पनि एक ढिक्का भएर छनोट गरेको थियो ।

लामो राजनीतिक यात्रा र विदेश नीतिमा लामो अनुभव जो बाइडनका पार्टीका लागि ‘प्लस प्वाइन्ट’ थिए । कोभिड–१९ नियन्त्रणमा लापरबाही र जलवायु परिवर्तनलगायतका विषयमा ट्रम्पको अडानले पनि डेमोक्रेटिक पार्टीलाई उत्साहित बनाएको थियो ।

यति मात्र होइन, विश्वका प्रभावशाली मिडियाले पनि बाइडनको उम्मेदवारीको समर्थन गरेका थिए ।

तर जारी मतगणनाले के प्रष्ट भएको छ भने डेमोक्रेटिक पार्टीले सोचे जस्तो बाइडनको सहज जित सम्भव छैन । २०१६ मा भन्दा कडा टक्कर भने दिएका छन् ।

फक्स न्यूजका अनुसार हालसम्म बाइडनले २२५ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २१३ ।

जित हारका लागि महत्वपूर्ण मानिएको टेक्सास र फ्लोरिडामा फेरि ट्रम्पले नै बाजी मारेका छन् । फ्लोरिडामा बाइडनले जित हात पारेको भए ट्रम्पलाई निकै ठूलो धक्का लाग्ने थियो । तर, बाइडनले फ्लोरिडामा ट्रम्पलाई रोक्न सकेनन् ।

जर्जिया, नर्थ क्यारोलिना, पेन्सिलभानिया, मिसिगन र विन्स्कोन्सिनको नतिजा आउन बाँकी छ । त्यहाँ पनि ट्रम्प अगाडि छन् र सन् २०१६ मा पनि उनले नै जितेका थिए ।

बाइडनले १० इलेक्टोरल भोट भएको एरिजोनाबाहेक सन् २०१६ मा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित हासिल गरेको राज्यमा मात्र जित वा अग्रता लिएका छन् । जबकी २०१६ को निर्वाचनमा ट्रम्पले ३०६ इलेक्टोरल भोट पाएका थिए र राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट भए पुग्छ ।

त्यसैले अघिल्लो निर्वाचनमा जितेका धेरैभन्दा धेरै राज्यलाई आफ्नो पक्षमा पार्न सक्नु ट्रम्पको सफलता हो । मतगणना भइरहको राज्यहरुमा लिएको अग्रता कायम रह्यो भने उनी फेरि राष्ट्रपति बन्ने छन् । तर नर्थ क्यारोलिना, पेन्सिलभानिया लगायतका राज्यमा गणना हुन बाँकी भोटमा पनि पोष्टलमार्फत आएको मतले बाइडनलाई ह्वाइट हाउसमा नपुर्‍याउला पनि भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment