+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रधानमन्त्रीज्यू, म बाबुराम निउरे

बाबुराम निउरे बाबुराम निउरे
२०७७ कात्तिक २० गते १६:३७

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू ! सामान्य तटस्थ नागरिकको आवाज तपाईंसमक्ष पुग्ने कुनै निश्चित नभए पनि आफूलाई लागेको हुटहुटी व्यक्त नगरी रहन सकिनँ ।

तपाईंका सल्लाहकारलगायतका अन्य सहयोगीहरूले आफूलाई कुनै फाइदा नहुनेखालका जनआवाजलाई तपाईंसमक्ष पुर्याउलान् जस्तो लाग्दैन । कुनै माध्यमबाट पुगिहालेछ भने एकचोटि हेरिदिनुहुनेछ, सुनिदिनुहुनेछ र मनन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, स्वास्थ्यको हिसाबले दोस्रोपटक पुनर्जीवन पाउनुभएको तपाईंलाई जतासुकै थिलोथिलो पारेको कोरोना भाइरसले आक्रमण नगरोस् भन्ने शुभेक्षा राख्दछु । हाम्रो देशमा तपाईंकै जस्तो स्वास्थ्य अवस्था भएका नागरिकहरू धेरै छन् ।

सम्पन्नवालाहरूले तपाईंले जस्तै आफ्नो उपचार गराई आ-आफ्नो काममा फर्किसके होलान्, आर्थिक अभावको कारणले उपचार गर्न नसकी कतिले ज्यान गुमाइसके होलान् र कति उपचारको पर्खाइमा छट्पटाइराखेका होलान् । तपाईं देशकै प्रमुख मान्छे भएकोले तपाईंको स्वास्थ्यको बारेमा धेरैलाई जानकारी छ । डाक्टरहरूले पनि तपाईंको स्वास्थ्यको लागि सकेसम्मको मेहनत गरिरहनुभएको छ ।

प्रधानमन्त्रीज्यू, अधिकांश राजनीतिकर्मीहरूले आफ्नो जिन्दगी देश र जनताको लागि संघर्षमै बिताएको सुनाउँछन् । यही कुरालाई आधार मान्ने हो भने, तपाईंको जिन्दगी पनि संघर्षमै बितेको हुनुपर्छ । जतिसुकै कठीन र संघर्षपूर्ण जीवनयापन गरे पनि शक्तिमा पुगेपछि आफ्ना आसेपासे बाहेकलाई केही परिवर्तन महसुस गराउन नसक्नेहरूको विगतको संघर्षले हाम्रो जीवनमा कुनै अर्थ राख्दैन ।

तपाईंको पुरानो संघर्षको इतिहास मैले खासै अध्ययन गरेको छैन । तर तपाईं यो देशको प्रधानमन्त्री बनिसकेपछिको संघर्षको बारेमा भने मलाई पनि मोटामोटी जानकारी छ । तपाईं पहिलोपटक प्रधानमन्त्री बन्दा देशमा उत्पन्न विषम परिस्थितिमा तपाईंको राष्ट्रियताप्रतिको चट्टानी अडानले साँच्चै नै देशकै लागि जन्मिनुभएको आभास धेरै नागरिकले गरेका थिए ।

तपाईं दोस्रोपटक कार्यकारी बनेपछि बनाएको सरकारको टिममा केहि आशालाग्दा व्यक्तिहरूले प्रवेश पाउदा साँच्चै अब देशमा केही हुन्छजस्तो लागेको थियो । तर त्यसबाट सोचेजस्तो प्रतिफल पाउन सकिएन । बरु दिनप्रतिदिन अन्यायको शासन बढ्दै गयो ।

राम्रो सुरूवात सँगसँगै केही कुरामा तपाईं चुकिसक्नुभएको थियो । उदाहरणको लागि, तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई भ्रष्टाचार गरेका छैनन् भनेर सहानुभूति प्रकट गर्नु, संचारमन्त्री गोकुल बास्कोटा तथा नेकपाकै अर्का नेता बिष्णु पौडेललाई पनि त्यस्तै शैलीमा बचाउ गर्न खोज्नु, तपाईंका सुरूवाती कमजोरी थिएजस्तो लाग्छ ।

तपाईंको ती व्यक्ति विशेषप्रति व्यक्त गरिएका सहानुभूतिले तपाईं भ्रष्टाचार निर्मुल पार्ने अभियानमा अडिग हुनुहुन्छ भन्ने कुरा बकवास लाग्न थाल्यो । ती अवस्थामा सम्बन्धीत निकायलाई निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको भए त्यसले छुट्टै खालको सन्देश दिने थियो । त्यही बीचमा विभिन्न बेमौसमी अध्यादेश पेश गर्नुले पनि हामी सर्बसाधारण जनतालाई आश्चर्य बनाएको थियो ।

मेरो व्यक्तिगत मूल्यांकनमा बहुदलीय व्यवस्था सुरू भएदेखि देशमा राज गरिरहेका ठूला दलहरूमध्येका कुनै पनि नेताको नेतृत्वमा देश परिवर्तनको आशा छैन तर तपाईं दोस्रोपटक प्रधानमन्त्री बनिसके पछिका सुरूवाती कदमले केही आशाको टुसो पलाएको थियो । थुप्रै गैरदलीय नागरिकहरू उत्साहित पनि थियौं । यही उत्साहले होला पाँच वर्षे सरकारलाई दुईजनाले पालो–पालो नेतृत्व गर्ने भन्ने कुरा पनि धेरैलाई मन परेको थिएन किनकि तपाईको विकल्पवालाको पनि हविगत र सम्भावना जाँचिसकिएको थियो ।

अहिले तपाईं धेरै नै लामो समयपछि देशको पाँच वर्षे स्थिर सरकारको मध्यतिर हुनुहुन्छ । सुरूमा साँढे दुई वर्ष भनेर दिइएको तपाईंको प्रधानमन्त्री पद अब पाँच वर्षे निश्चित भइसकेको छ । तर विगत केही समयदेखि सरकारका विभिन्न निर्णय तथा काम कारबाहीले आम नागरिकमाझ तपाईंप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन ल्याइदिएको छ ।

अधिकांश दलीय समर्थन राख्ने नागरिकहरूले त आफू इतरका राम्रा कुरालाई पनि नराम्रो देख्नु हाम्रो राजनैतिक संस्कार नै बनिसकेको छ । तर थुप्रै गैरदलीय तथा तटस्थ नागरिकहरूले पनि गुनासो गर्नुले साँच्चै केहि गल्ति–कमजोरी भयो कि एकपटक गम्भीर भएर सोचिदिनुहोला ।

सम्माननीय प्रधानमन्त्रीलाई चिठी लेख्नुको मुख्य कारण सँधै नकारात्मक कुरा र गालिमात्र गरेर पनि केहि अर्थ हुँदैन भन्ने बुझेर हो । तपाईंको विकल्पमा आउन सक्नेहरू मध्येबाट पनि कुनै आशा नभएकोले हो । विपक्षी दललगायत बाहिरबाट भुक्ने अन्य दलका सरकार चलाउन सम्भावित नेताहरूबाट समेत तपाईंबाट जत्तिको पनि आसा नभएकोले हो । आसा गरिएको मध्यको तपाईंबाट पनि समृद्धिको जग राखिएन भने देश अझै धेरै बर्ष पछि धकेलिन्छ भन्ने डरले हो ।

सम्माननीय प्रधानमन्त्रीज्यु ! देशको प्रधानमन्त्रीजस्तो पदको जिम्मेवारी पाउनु सामान्य कुरा होइन रहेछ । धेरै सक्षम र क्षमतावान् मान्छेहरूको लागि पनि कल्पनाको मात्र कुरा रहेछ यो । तपाईं त्यस्तो ठूलो जिम्मेवारीमा दोस्रोपटक कार्यरत हुनुहुन्छ । सायद तपाईंको भौतिक शरीरको अन्त्यपछि पनि तपाईंको फोटो भित्तामा त पक्कै टाँसिन्छ तर अझै पनि गम्भीर हुनुभयो भने आम नागरिकको मनमै टाँसिएर रहन पनि सम्भावना टरिसकेको छैन ।

एकजनाले मात्र चाहेर सबै कुरा सम्भव हुँदैन भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । तर एकजनाले मात्रै चाह्यो र त्यसमा लागिपर्यो भने धेरै कुरा सम्भव हुन्छ भन्ने पनि पढेको छु, देखेको छु र भोगेको छु । कसैको राम्रो कामलाई पनि नराम्रो बनाएर प्रचार गरिन्छ र कोहि नराम्रा कामलाई पनि राम्रो भनेर ढाकछोप गरिन्छ भन्नेबारे पनि जानकार छु । तर कोही विशेषको चित्त दुखेपनि सकेसम्म अधिकतम मान्छेको हित हुने कुरालाई प्राथामिकता दिनुपर्छ भन्ने कुरा सिकिरहेको छु ।

सम्माननीय प्रधानमन्त्रीज्यू, बेलाबेलामा प्रधानमन्त्रीको शैक्षिक योग्यताको विषयलाई जोडेर कार्यसम्पादनमा असफल भएको भनि विभिन्न सामाजिक सञ्जालमा गालिगलौज गरेको पनि देखिन्छ । तर, यो तर्कसंगत छैन र यसबाट केही विचलित हुनुपर्ने पनि छैन । ज्ञान र अनुभवको कुरामा म तपाईंको धेरै प्रसंशा गर्दछु । इतिहास, दृष्टान्त, उखान–टुक्का तथा सन्दर्भ अनुसारको कुनै पनि प्रश्नमा सहज तरिकाले उत्तर दिन सक्नुले तपाईंको अध्ययन र ज्ञानको गहिराइलाई चिनाउँछ ।

ज्ञान, अनुभव, विचार तथा सृजनाहरू विश्वविद्यालयको प्रमाण–पत्रधारीसँग मात्र सीमित हुन्छन् भन्ने साँघुरो सोचाइ हो । ज्ञानका लागि विद्यावारिधि नै गर्नुपर्छ र प्रमाण–पत्रधारीहरूले मात्रै समस्यालाई सही तरिकाले समाधान गर्न सक्छन् भन्ने भ्रम मैले त्यागिसकेको छु । तर सम्बन्धीत क्षेत्रका विज्ञसँगबाट निरन्तर सल्लाह–सुझाव लिन भने छोड्नु हुँदैन ।

विगत केही समयदेखि सरकारका विभिन्न निर्णयहरू विवादास्पद हुनु तपाईं एक्लैको कारणले नहुन पनि सक्छ । तर तपाईं स्वयम् प्रधानमन्त्री भएकोले सबै सरकारी निर्णय तथा काम कारबाहीप्रतिको जिम्मेवारी लिनुको विकल्प पनि तपाईंसँग छैन ।

एउटा तटस्थ नेपाली नागरिकको अपेक्षाअनुसार तपाईं कोही व्यक्ति विशेषको प्रभु तथा एउटा समूहको अध्यक्षभन्दा पनि एउटा देशको प्रधानमन्त्री अर्थात् सम्पूर्ण नेपालीहरूको अभिभावक हो । यस अर्थमा तपाईंलाई सहजताको लागि नियुक्त गरिएका सल्लाहकार लगायतका सहयोगीहरूको आवाजले मात्र तपाईंको कान भरिनु हुँदैन । सबै तीनकरोड नेपालीको गुनासो सुन्न नसके पनि अधिकांश नागरिकले भोगेको र उनीहरूले चाहेको प्रतिनिधि आवाज सुन्नुपर्ने जिम्मेवार व्यक्ति हो तपाईं ।

हामीले त आशा राख्छौं– तपाईंले आफ्ना अर्काका कार्यकर्ता देख्नुहुन्न र त्यो छुट्टाउनु पनि हुन्न । किनकि तपाईंको नजरमा सबै नेपाली नागरिक समान हुन्छन् । अझै पनि आफ्नो अर्काको मतलब नराख्ने र देशको हितको लागी कुनै सम्झौता नगर्ने नयाँ शैलीको पहिलो प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छौं हामी, तपाईंलाई ।

आजभोलि नेकपा विभाजनको समाचारको पनि कुरा आएको छ । सत्ताकै लाग्ने जुट्ने र फुट्नेहरूसँगबाट हामीलाई केहि आशा पनि छैन र कुनै मतलब पनि छैन । हामी त राष्ट्रिय सवाल तथा संकट समाधानको लागि सहमति भएको समाचारसँग मात्र मतलब राख्छौं । हामी तपाईंको दल विशेषको बैठकभन्दा पनि देशका विभिन्न योजना पारियोजनाहरूको कार्यसम्पादन र प्रगतिको, छलफलको समाचारको प्रतीक्षामा हुन्छौं । तपाईं साँच्चै नै यो देशको प्रधानमन्त्री हो भने हामी सर्वसाधारण नागरिकको अपेक्षामा पनि ध्यान दिनुहोला ।

सम्माननीय प्रधानमन्त्रीज्यू, भौतिक जिन्दगी अमर छैन क्षणभङ्गुर छ भन्ने कुरा मैले तपाईंलाई सम्झाइरहनु पर्दैन । तपाईं त झन् आफ्नो प्राकृतिक शरीरमा केहि फेरबदल गरेर बाँचिरहनु भएको मान्छे ! तपाईं अस्पतालमा पुनर्जीवन लिँदै गर्दा सयौं नेपाली नागरिक अस्पतालमा आफ्नो उपचार गराइराख्नुभएको थियो । ती सबै बिरामीहरूको चिन्ता उनकै पारिवारिक आफन्तहरूमा सीमित थियो । तर तपाईंको स्वास्थ्यको चिन्ता आम नागरिकमा व्याप्त थियो । तपाईंले आम नागरिकको त्यो चिन्तालाई पनि बिर्सन हुँदैन किनकि तपाईं सँगैका धेरै बिरामीहरूको पारिवारिक जिम्मेवारी थियो तर तपाईंलाई देशको ।

हामी त सोचेका छौं, तपाईंलाई प्रारब्धले देशकै लागि भनेर बचाइराख्नु भएको छ । अन्य तपाईंका सहकर्मी तथा समकक्षीसँग तुलना गर्दा पनि तपाईं त छोराछोरी लगायत आफ्नो पारिवारिक व्यवस्थापनको तनावमा पनि हुनुहुन्न । देशका सबै जनता तपाईंका आफ्ना सन्तान । तपाईं त जे–जे गर्नुहुन्छ देशकै लगि गर्नुहुन्छ । तपाईंले आर्जन गरेको सबै सम्पत्ति जनताको सम्पत्ति त्यसैले देशको सम्पत्ति !

तपाईंलाई आफ्नो शक्ति सन्तुलनको डरले मातहतका कतिपय मन्त्रीहरू तथा सहयोगी नेताहरूको कमजोरीलाई ढाकछोप गर्नुपरेको होला । तर के को डर, किन डर ? तपाईं बाँचुन्जेल शक्तिशाली रहिरहने सोच त पक्कै होइन होला । अहिले पाएको राष्ट्रिय जिम्मेवारीलाई समग्र राष्ट्रिय हितमा हाँक्न सक्नुभयो भने तपाईंका कोहि आसेपासेको मात्रको सहाराले अडिनुपर्ने आवश्यकता रहँदैन । राम्रो कामलाई आम जनताले साथ दिन्छन भन्ने कुरा तपाईंले भोगिसक्नु भएको छ। बाँकी रहेको कार्यकालमा देशको समृद्धिको यात्रामा कटिबद्ध भएर लाग्नु भयो भने मूर्तिको रूपमा मात्र भएपनि राष्ट्रप्रमुखको रूपमा ओली नै रहनुपर्छ भन्ने आवाज नआउला भन्न पनि सकिँदैन ।

सम्माननीय प्रधानमन्त्रीज्यू, अझै पनि समय छ । तपाईंले धेरै कुरा जान्नुभएको छ तर तपाईंले नजानेका पनि धेरै कुराहरू हुन सक्छन् । आफ्नो विज्ञताभन्दा बाहिरका कुरामा सम्बन्धीत क्षेत्रका विज्ञहरूसँग सल्लाह लिँदैमा तपाईंको उचाइ घट्दैन । आफ्ना समर्थक दल, बिपक्षी तथा अन्य तटस्थ विज्ञहरूबाट निरन्तर सल्लाह–सुझाव लिँदा पक्कै पनि बेफाइदा हुँदैन ।

हाम्रो देशमा हरेक क्षेत्रमा एकसेएक विज्ञहरू हुनुहुन्छ । नेपालमै हुर्केर समृद्धिको उच्चबिन्दुमा पुगिसकेका विश्वका विभिन्न देशहरूमा विज्ञको रूपमा कार्यरत थुप्रै नेपालीहरू हुनुहुन्छ । चाहनुभयो भने उहाँहरू पनि देशको उन्नतिको लागि सल्लाह–सुझाव र सहयोग गर्न हरपल तयार हुनुहुन्छ ।

तसर्थ आफ्ना निजि सल्लाहकारहरूले सँधै सही सल्लाह दिइरहन्छन् र उनीहरूको सुझाव पर्याप्त छ भन्ने कुराको भ्रम पनि त्यागिदिनुस् । उनीहरूलाई सामान्य सहजकर्ताको रूपमा मात्र प्रयोग गर्दा पनि हुन्छ । उनीहरूको सल्लाहमा केही स्वार्थ पाउनुभयो भने तुरुन्त हटाइदिनुस् । तपाईं साँच्चै नै उचाइमा रहिरहने हो भने आफ्ना कमीकमजोरी प्रति जनतासमक्ष माफी मागी समृद्धिको अभियानमा अब कुनै सम्झौता नगर्ने प्रण गरेर अघि बढ्नुस् । जनताले तपाईंको मूल्यांकन गर्ने यो नै एउटा अन्तिम अवसर हो ।

एक्लैले सबै काम गर्न पक्कै सम्भव हुँदैन तर हाम्रो सरकारको मूल्यांकन गर्ने परिपाटीअनुसार सबैले गरेका राम्रा–नराम्रा सबै कामको जस अपजस तपाईं एक्लैले लिनुपर्ने हुन्छ । यहाँनेर तपाईं कठोर ‘मोनिटर’ हुनुको विकल्प छैन । अब मान्छेलाई होइन उसको कामलाई माया र सम्मान गर्ने हो । काम गर्न नसक्नेलाई बोकि राखेर देशलाई डुबाउने कुरामा सम्झौता नगर्नुस् ।

अहिले प्राय:जसो मान्छेले भनेको सुनिन्छ ‘मान्छेले मात्र गरेर हुदैन हाम्रो प्रणाली नै खराब छ ।’ तर प्रणाली बनाउने मान्छेले हो र त्यो संचालन गर्ने पनि मान्छेले नै हो । हामीहरूले नै इमान्दारितापुर्वक जिम्मेवार भएर आ-आफ्नो काम गरे प्रणाली त स्वाभाविक चलिरहन्छ । त्यसैले सबै जिम्मेवार व्यक्तिहरूको कार्य सम्पादनमा कुनै पनि सम्झौता हुनुहुँदैन ।

हाम्रो शैक्षिक अभ्यासमा, हाँस्ने खेल्ने स्वतन्त्र उमेरका बालबालिकालाई हामीले एउटा कक्षाबाट अर्को कक्षामा लैजान एक बर्षमा तीनचार पटक लिइने परिक्षामा पास हुन बाध्य पार्छौं । कक्षामा नियमित धेरै टेस्टहरू दिइरहनुपर्छ । नियमित होमओर्क गरिरहनुपर्दछ । काम नगरे बालबालिकाले विभिन्न दण्ड भोग्नुपर्छ । तर व्यक्ति होइन, परिवार होइन, राष्ट्रकै विशेष जिम्मेवारी लिनेहरू बिना रिजल्ट (पटकपटक अनुत्तीर्ण हुँदा पनि) जिम्मेवारीमा रहिरहनु कतिसम्मको अशोभनीय कुरा हो तपाईं आफैं महसुस गर्नुस् ।

अब सम्माननीय प्रधानमन्त्रीले यस्तो खालको अन्यायपूर्ण अभ्यासलाई निरन्तरता दिनुहुने छैन भन्ने कुरामा विश्वस्त छु । त्यसैले सम्पूर्ण मन्त्रालयअन्तर्गत विभिन्न विभागका हरेक तहमा मन्त्री, सचिव र हाकिमदेखि, कार्यसम्पादनमा खटिने, नेपाल सरकारबाट पारिश्रमिक प्राप्त गर्ने हरेक कर्मचारीको नियमित दैनिक, पाक्षिक, मासिक मूल्यांकन सुरूवात गरिहाल्नुस् । आफ्नो-आफ्नो तह अनुसारको जिम्मेवारी लिनुपर्ने ‘व्हिप’ जारी गर्नुस् । कोही कसैको कारणले कार्यसम्पादनमा अवरोध भएको पत्ता लाग्नासाथ कारबाही गरिहाल्ने र त्यसको क्षतिपूर्ति समेत सम्बन्धित व्यक्तिबाट नै असुलउपर गर्न निर्देशन दिइहाल्नुस् । देशको समृद्धिको यात्रामा कार्य सम्पादनमा असफल हुनेहरूलाई छुट नभएको घोषणा गरिहाल्नुस् ।

कतिपय मानिसले तपाईंले गर्ने समृद्धिका कुरालाई हावा गफको रूपमा लिए । सायद जहाजको आविष्कार नगरून्जेल मानिसहरूले मान्छे पनि चराजस्तै आकासमा उड्ने कुरा गर्यो भने हावा कुरा नै भन्थे होला । मलाई त समृद्धिको कुरा सुन्दा पनि आनन्द आउँछ । यसो सोच्छु– पहिला सोचिन्छ अनि काम गरिन्छ । त्यसैले होला निर्वाचन अगाडि तपाईंले बाँडेका समृद्धिका नाराहरूदेखि मलाई अझै पनि रिस उठेको छैन । कतिपय कुराहरू काल्पनिकजस्ता भएपनि समृद्ध देशको सपना देख्ने तपाईंको सपना हामीले विपनामा पर्खिरहेका छौं।

उही बाबुराम निउरे, बागलुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?