Comments Add Comment

कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु

२० कात्तिक, विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ ।विराटनगरमा होम आइसोलेसनमा बसेका एकजना र अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको हो । मृतकमा मुटुसम्बन्धि रोगको पुरानै समस्या थियो । श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उनको बुधबार दिउँसो कोरोना परीक्षण गरिएकोमा साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि बित्न नपाउँदै बुधबार राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए ।

विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको बिहीबार बिहान ८ बजेतिर मृत्यु भएको छ । उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका संक्रमितको बिहीबार मृत्यु भएको हो । मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या थियो ।

विराटनगरकै नोबेल शिक्षण अस्पतालमा सिराहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार फोक्सोको पुरानै समस्या रहेका वृद्धलाई श्वासप्रश्वासमा समस्या भएकोभन्दै उपचारका लागि भदौ १७ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धको उपचारका क्रममा बिहीबार बिहान ३ बजेतिर आइसोलेसनमै मृत्यु भएको हो ।

नोबेलमा इटहरी उपमहानगरपालिका –१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको दाहालले बताए । मृतकमा दमको पुरानै समस्या थियो ।

इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका उनको पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment