+
+

पर्सामा सशस्त्रका तीन बीओपी थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते १८:१९
पर्साको ठोरो गाउँपालिका-३ ब्रम्हनगरमा स्थापना गरिएको सशस्त्रको बीओपी ।

२३ कात्तिक, वीरगञ्ज । सीमा क्षेत्रको सुरक्षाका लागि पर्सामा सशस्त्र प्रहरीले थप तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । ठोरी गाउँपालिकाकाको ब्रम्हनगर, जिराभवानी गाउँपालिकाको महादेवपट्टी र छिपहरमाईको गाउँपालिकाको सम्भौतामा बीओपी स्थापना गरिएको हो ।

तीन वटै बीओपीको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कृष्णभक्त ब्रम्हाचार्य, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र सम्बन्धित गाउँपालिकाका अध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली खटाइएको हुन्छ । उनीहरुले सीमा रक्षा तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, त्यस क्षेत्रको शान्ति सुव्यवस्था स्थापनाका लागि काम गर्छन् । यसअघि जिल्लामा सशस्त्र प्रहरीको १० वटा बीओपी थिए ।

छिपहरमाइको मिर्जापुरमा बीओपी स्थापनाका लागि स्वीकृत भएकोमा स्थान अभावका कारण सम्भौतामा अस्थायी रुपमा पोष्ट स्थापना गरिएको छ । पाँच वटा बीओपी थप्ने स्वीकृति मिलेकोमा जग्गा र भवनको अभावका कारण तीन वटा मात्रै स्थापना भएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए ।

‘पर्सामा पहिलो चरणमा पाँचवटा बीओपी स्थापना गर्ने स्वीकृति मिलेको थियो । तीन वटा आइतबार स्थापना भएका छन् । बाँकी दुई वटाका लागि पनि जग्गा र भवन खोज्दैछौं,’ सशस्त्र प्रहरी उपरीक्षक खड्काले भने, ‘उपयुक्त ठाउँमा जग्गा पाउन मुश्किल हुने रहेछ । ’

दोस्रो र तेस्रो चरणका लागि पर्सामा थप १० वटा बीओपी प्रस्तावित छन् । ठोरीको ब्रम्हानगरमा बीओपी उद्घाटन गर्दै डीआइजी ब्रम्हाचार्यले बीओपी स्थापनापछि सीमा क्षेत्रमा हुने लागूपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रणमा आउने दाबी गरे । सशस्त्र प्रहरीलाई शान्ति सुरक्षा स्थापनामा नागरिक सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

‘भारतसँग खुल्ला सीमा भएकोले भन्सार छलेर मालसमान ल्याउने, वन पैदावारको तस्करी, चेलीबेटी बेचबिखन, लागूऔषध, हातहतियार ओसारपसार, लुटपाट, सीमा अतिक्रमण सीमा अपराध तथा सीमा विवाद जस्ता गहन समस्याहरू आउने गरेको छ,’ डीआईजी ब्रहचार्यले भने, ‘ बीओपीले यी समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बीओपी स्थापनापछि सीमा क्षेत्रमा क्रस बोर्डर क्राइम, तस्करी, अवैध धन्दा नियन्त्रणमा आउने र समाज सभ्य बन्ने दाबी गरे ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बीओपी स्थापनाले सिमावर्ती क्षेत्रका स्थानीयलाई सास्ती हुने भ्रम नपाल्न आग्रह गरे ।

जिल्लाको पश्चिममा पर्ने ठोरी गाउँपालिकामा मात्रै सशस्त्र प्रहरीको बीओपी संख्या ३ पुगेको छ । यसअघि ठोरी २ र ५ मा सशस्त्र बीओपी स्थापना भएका थिए ।

स्थानीय मानबहादुर श्रेष्ठ र मान कुमारी श्रेष्ठले बीओपी स्थापनाका लागि दुई कठ्ठा जग्गा दान गरेका थिए । नेपाल भारत सीमा क्षेत्रबाट ७ सय मिटर उत्तरतर्फ पर्ने ढुङ्गे बजारमा बीओपी स्थापनाको तयारी छ ।

स्थानीय जनप्रतिनिधीसँग समन्वय गरेर बाँकी सार्वजनिक जग्गा उपभोग गर्ने तयारी छ ।तत्कालका लागि वडा–३ स्थित सामुदायिक भवनमा सशस्त्र प्रहरी बसेका छन् ।

जिराभवानी गाउँपालिकामा पनि जिराभवानी मन्दिरको सार्वजनिक भवनमा सशस्त्र प्रहरीलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?