Comments Add Comment

सुन्दै ऐठन हुने विभेदको पाटो

`तिमीले पनि यस्तै ज्यादती त भोगेकी छैनौँ ? एउटै पार्टीबाट जितेको हुनाले यसरी तोडफोडमै उत्रिनुपर्ने अवस्था सम्भवत: आ´को छैन होला, कि कसो?´

मोबाइलको म्यासेन्जरमा टिङ्टिङ आवाज आयो । म्यासेज साथीको थियो।पर्वको समय भए पनि कोरोनाभित्रको पर्व भएकाले व्यस्तता अलि कमै थियो । अन्य समयको तुलनामा पाहुनाहरुको चाप शून्य जस्तै थियो।फुर्सदै थियो । त्यसैले तत्काल म्यासेज हेरें ।

म्यासेजसँगै एउटा भिडियो लिङ्क पनि थियो । उसले यसअघि पनि उपयोगी सन्दर्भ सामग्री, उत्कृष्ट आर्टिकलहरु मलाई सेयर गर्थिन् । अर्थहीन विषयवस्तु उनीबाट मसम्म आउँदै आउँदैनन् भन्ने कुरामा म ढुक्क थिएँ । त्यस कारण पनि उसले पठाएको उक्त म्यासेज देखेपछि मैले तत्काल लिङ्क खोलेर पुरै पढें । सँगै रहेको भिडियो पुरै हेरें ।

लिङ्कको मेरो रिप्लाइको अपेक्षाले होला, उसले मलाई थप साङ्केतिक म्यासेज पठाइरहिन् लगातार प्रश्नवाचक चिन्हमात्र लेखेर । म निरुत्तर चुपचाप टिङ्टिङ आवाज सुन्दै प्रश्नवाचक चिन्हसँगै घोत्लिइरहेँ ।  मलाई साथीको अपेक्षा इग्नोर भन्ने कुरातिर भन्दा पनि लिङकभित्रको घटना र विषय प्रसङ्गले बाहिर निस्कनै दिएन ।

पक्कै पनि यतिबेला आम पाठकको मनमा ठूलै हुटहुटी हुर्किसकेको छ । खास मेरी साथीको म्यासेजभित्रको खास कुरा के रहेछ त भनेर ।

केही दिनअघि एउटा विषयले निकै चर्चा पायो । चर्चाकी प्रमुख पात्र हुन् नेपालकै कुनै एक नगरपालिकाकी जनमतप्राप्त उपमेयर अर्थात् जनताकी प्रतिनिधि । कात्तिकको पहिलो सातातिर भएको उक्त घटनाक्रम भवन उद्घाटनसँग जोडिएको थियो । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा शिलालेखमा प्रमुख लगायत केही जनप्रतिनिधिहरुको नाम उल्लेख भयो । तर, उपमेयरको नाम कहीँ कतै उल्लेख भएन । उपमेयरले समयमै पटक पटक अनुरोध गर्दा पनि अपमानजनक ढंगले आफ्नो नाम कतै उल्लेख नभएपछि उद्घाटन कार्यक्रममा विद्रोह गरिन् ।

सहनको अर्को नाम हो महिला र त कुनै दल र आफू आवद्ध संस्थाको मर्यादामा आँच नआओस् भनेर यस्ता गोप्य गर्तभित्र छोपिराखेका थुप्रै अत्याचारका अँगेनाहरुमा पिरो धुवाँ पुतपुताई रहेको छन् । महिलाहरुमा सहनशीलताको छानो निकै अग्लो हुने भएकै कारण पनि आफ्नो कारण कुनै विवाद र कलहको जन्म नहोस् भनेर अधिकांश हिंसात्मक घटना बाहिर नै आउदैनन् । जसले अहमवादी पुरुषहरुको जीवन रक्षा त गरेको छ ।

उपमेयरले उद्घाटन गर्न भित्तामा ज्वाइन गरेर राखिएको शिलालेखअर्थात् शिलापत्रमा कुनै कडा वस्तुले पटकपटक हिर्काइन्, आक्रोश खन्याइन् । भित्ताभरि भुईंभरि आफ्नै मुड्कीले घरीघरी हानिन् । एक्लै नारा लगाएर बेथिति विरुद्ध कडा आवाजले मूर्दावाद मात्र भनिनन्, उक्त कदम गलत भएको असह्य विमति राखिन् ।

अपमानको आगोले पोलेर उनलाई झन अक्रोशित बनाइरह्यो। जे होस् उनले आफूले अपमान भएकै कारण विद्रोह गरिरहिन् । घटनाक्रम र घटनासँग जोडिएका तर्कहरुले आम महिला जनप्रतिनिधिहरुको मथिंगल हल्लाइदियो । महिलाको भूमिकामाथि कति फितलो निर्णय र विश्लेषण गरिदिन्छ हाम्रो समाज अहिले पनि।सही समयमा सही कुराको उठान नगरे त्यो अत्याचार दमन हुँदै कुसंस्कारको रुपमा विकास हुन पुग्छ ।

घटनाले छाडेका असर प्रभावबारे क्रिया प्रतिक्रियाहरु मिश्रित आए कतिपयको राय थियो‘उपमेयरले मर्यादाको ख्याल गरिनन् । कतिपयको भनाइ थियो -उपमेयरको आक्रोश अनुचित होइन । विरोधको शैली ठिक नभएपनि विमति आवश्यक थियो ।

सुन्दा सामान्य लागेपनी स्थानीय सरकारको दोश्रो बरियतामा रहेकी उपमेयरले किन यो स्टेजमा पुग्नु पर्यो त । उपमेयर आफैँ न्यायपालिकाको नेतृत्व गर्ने मान्छे । अरुलाई न्याय दिने मान्छे आफैँ अन्यायमा पर्दाको आक्रोश हुनुपर्छ-यस प्रकारका थुप्रै टिप्पणीहरु पनि उठे ।

सुन्दै ऐठन हुने विभेदको पाटो त यो छ कि, पालिकास्तरमा कुनै पनि योजना सञ्चालन गर्नुपूर्व उक्त योजना सञ्चालन गरिनु आवश्यक हो होइन, योजनाका लागि लगानी के कति आवश्यक हो, योजनाबाट लाभान्वित बर्ग समुदायको अवस्था के कस्तो छ ? प्रतिफलसँग सम्बन्धित सबै कुराको निर्णायक ठहरसहित योजना तर्जुमा गर्ने अधिकार उपप्रमुख संयोजक हुने समितिको हो । कार्यन्वयनपछि स्टिमेट अनुरुप काम भयो भएन, विनियोजित रकम पूरापूर सदुपयोग भयो भएन । निर्माण सामग्री गुणस्तरीय प्रयोग भयो भएन ।

अनुगमन मूल्याङ्कन गर्ने पूर्ण अधिकार उपाध्यक्ष उपमेयरहरुको छ । एउटा योजना सुरुदेखि सम्पन्नहुँदासम्म पुग्दा पटकपटक निगरानी गर्ने प्रमुख रोलसहितको अधिकारसम्पन्न प्रतिनिधि अन्तमा किनाराकृत हुनुपर्दा दु:ख लाग्नु, अपमान महशुस हुनु सान्दर्भिक कुरा हो ।

व्यक्तिगत लगानी बाहेक सरकारी बजेटमार्फत बनेका संरचना राज्यका सम्पत्ति हुन् । जहाँ सामूहिक जस नै शोभनीय हुन्छ भन्ने बुझाई गलत हुँदै होइन । त्यसैले त गणतान्त्रिक मुलुकको संवैधानिक मूल्यमान्यता मर्यादाको उपहास र अपमान भइरहँदा न्याय खोज्नु अनौठो होइन ।

महिलाहरुले प्रमुखको नेतृत्व गरेका ठाउँमा यस्तो विवाद शून्यजस्तै छन् । छन् अपवादका रूपमा केही दिलदार पुरुष लिडरहरु पनि यी बाहेक अधिकांश पुरुष नेतृत्व तिक्तताको कुरुप झोला बोकेर हिँडेको छ । यी सबै विभेद महिला भएकै कारण भइरहँदा अझ दु:ख लाग्नु स्वभाविक हो । एउटा भुल्न नहुने कुरा, सार्वजनिक महत्त्व बोकेका क्रियाकलाप किन महिलाको उपस्थितिभित्र पर्दैनन् ? कार्यसम्पादनमा त्रुटि भए सुधारक पनि बन्न सिक्नुपर्छ अवसर दिनुपर्छ असल नेतृत्वले ।

यो घटना एउटा प्रतिनिधि घटनाको रुपमा मात्र उल्लेख गर्दैछु । नेतृत्वमा पुगेका महिलाहरुको विभेद र अत्याचारको पर्दा मात्र खोल्ने हो भने अनेक कुरुप दृश्यहरु छन् । त्यहाँभित्र जो सामान्य आँखाले देख्न हेर्नसमेत सक्दैन, सुनेर विश्वास गर्न मुश्किल हुन्छ भने कल्पना गरौं, सहन कति कठिन होला। कति ठाउँमा काम गर्ने क्षमता भएका महिलाहरुलाई संविधान र कानुनले निर्देशित गरेका विषयमा समेत निषेध गरिएको छ ।

अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिएको छ । सूचनाको अधिकारबाट बन्चित गरी अनिवार्य जानकारी हुनुपर्ने तथ्यहरुबाट बेखबर बनाइएको छ । कानुनतः स्थानीय तहमा बजेट निर्माण गर्ने अधिकार उपाध्यक्ष उपप्रमुखहरुलाई छ । औँलामा गन्न सकिने संख्या बाहेकका उपाध्यक्ष उपप्रमुखहरुलाई बजेट कहाँ, कुन कुनामा, कतिबेला,कसले बनाउँछ पत्तै दिइँदैन । यसलाई लालच भन्ने कि आशक्ति ? ज्यादती भन्ने कि मनोमानी ?

सरम पनि इमानको एक हिस्सा हो । आफ्ना लाचारी कार्यप्रति समयानुकूल सर्माउन मात्र सिके पनि पुरुष जमात कति सहयोगी कति भद्र, कति उदार लाग्थ्यो होला महिलाका लागि ।एकात्मक पुरुष वर्चस्वको कुटिल अभ्यास पार गर्न महिलाहरुले अब विभेदको दिवार भत्काउन जरुरी छ । विभेदले किचिएका महिलाहरुले अत्याचारको पर्दा च्यात्न आवश्यक छ । आजको समयमा महिलामुक्ति नै मानवमुक्तिको पूर्वशर्त हो र सपना हो ।

सहनको अर्को नाम हो महिला र त कुनै दल र आफू आवद्ध संस्थाको मर्यादामा आँच नआओस् भनेर यस्ता गोप्य गर्तभित्र छोपिराखेका थुप्रै अत्याचारका अँगेनाहरुमा पिरो धुवाँ पुतपुताई रहेको छन् । महिलाहरुमा सहनशीलताको छानो निकै अग्लो हुने भएकै कारण पनि आफ्नो कारण कुनै विवाद र कलहको जन्म नहोस् भनेर अधिकांश हिंसात्मक घटना बाहिर नै आउदैनन् । जसले अहमवादी पुरुषहरुको जीवन रक्षा त गरेको छ ।

तर, महिलाहरुको शक्ति झन्झन् कमजोर बनाउँदै गएको छ । यसले पनि पुरुषहरुको लाचारपनमा थप बल मिलेको छ । समृद्धिको बाटोमा हिंड्दै गर्दा यस्ता वेवास्ताहरुले महिलाहरुमा भएको तागतसमेत चोइटाउने काम भएको छ ।

अहिले पनि कामकाजी र नेतृत्वमा पुगेका महिलासमेत यस्ता घोर हिंसाभित्र छन् । अपमान,तिरस्कार र कहालीलाग्दो शोषणभित्र छन् । अन्यायमा परेका महिलाहरुलाई न्याय दिन नेतृत्वमा पुगेका महिला जनप्रतिनिधिहरुको त अवस्था यो छ भने सर्वसाधारण महिलाको अवस्था कस्तो होला एक होइन एकसाथ हजार प्रश्न उठ्न सक्छन् । उत्तर कहाँ छ ? यो अत्यन्तै सोचनीय विषय हो ।

महिलाको सामाजिक स्थानबाट मात्र महिलाको सामाजिक प्रगति मापन गर्न सकिन्छ भन्ने दर्शन कण्ठ गर्ने पुरुष भासणवाजहरु कार्यनयनको तहमा पुगेपछि यसरी मनोवादी आलोकमा पौडिइरहने प्रवृत्तिले परिवर्तन र समृद्धि सम्भव छैन । पक्कै पनि मुलुकले महिला बिनाको समृद्धि चाहेको होइन ए हुनुहुँदैन पनि।अत्याचार एक निश्चित बिन्दुमा पुगिसकेपछि दमनमा रुपान्तरण हुन्छ । यसलाई अन्य भयावह रुप ग्रहण गर्नुअघि व्यवस्थापनतर्फ लाग्नु अपरिहार्य छ ।

म्याडम क्युरीले एक प्रसङ्गमा भनेकी छन्- हरेक व्यक्तिलाई सुधार नगरी एक सुन्दर संसार निर्माण हुनसक्दैन।त्यसका लागि पहिले आफूलाई सुधार गर्दै विभेदकारी सोचहरु सुधार गर्नु आजको आवश्यकता हो । अर्को कुरा सामाजिक सांस्कृतिक राजनैतिक परिवर्तनका निम्ति दलहरुको स्कुलिङ मजबुद बन्न जरुरी छ । आफ्नो दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिका एकेक गतिविधिहरुको हिसाबकिताबहरु सम्बन्धित दलसँग हुनुपर्छ । जनप्रतिनिधिका हरेक कार्यशैली सम्बन्धित दलका सम्पत्ति हुन्।इमानदार मर्यादित व्यक्तिबाट मात्र कुशल नेतृत्व सम्भव छ ।

हरेक महिला आफ्नो ठाउँमा र पुरुष पुरुषको ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । कुनैपनि पुरुषले आफू पुरुष हुनुको अर्थ महिलामाथि दमन र एकलौटी शासन गर्नु हो भन्ने धारणा गलत र पश्चगामी धारणा हो । यो विभेदलाई हामी बाँच्दै गरेको समाजले निर्माण गरेको हो । प्रकृतिले होइन।सुरुमा प्रकृतिले अनाम भेदको सिडी बनाएर पुरुष जमात समाजको नामबाट भेदलाई खाटी विभेदमा परिणत गरिरहेको छ । आखिर यो कहिलेसम्म ?

अन्तमा, सरम पनि इमानको एक हिस्सा हो । आफ्ना लाचारी कार्यप्रति समयानुकूल सर्माउन मात्र सिके पनि पुरुष जमात कति सहयोगी कति भद्र, कति उदार लाग्थ्यो होला महिलाका लागि ।एकात्मक पुरुष वर्चस्वको कुटिल अभ्यास पार गर्न महिलाहरुले अब विभेदको दिवार भत्काउन जरुरी छ । विभेदले किचिएका महिलाहरुले अत्याचारको पर्दा च्यात्न आवश्यक छ । आजको समयमा महिलामुक्ति नै मानवमुक्तिको पूर्वशर्त हो र सपना हो ।

(लेखक पराजुली मोरङ, बेलबारी नगरपालिकाकी उपमेयर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment