Comments Add Comment

वातावरणमैत्री भान्सा

इन्टेरियर डिजाइनर अर्चना शाह भन्छिन्, ‘भान्सामा धेरैजसो समय गृहणीले विताउँछन् । भान्साको समय भनेको साँझ र विहान हो । भान्सामा अलि उज्यालो रंग, चहकिलो बिजुली उपयुक्त हुन्छ । भान्साको साजसज्जा यस्तो हुनुपर्छ, जसले गृहणीलाई अकर्षित गर्न सकोस् ।’

शहका अनुसार भान्सामा जसले काम गर्छ, उनको लागि अनुकुल होस् । उनीहरु भान्सामै रमाउन सकोस् । भान्सा सफा, खुला, उज्यालो हुनुपर्छ । यही कुरालाई ध्यानमा राखेर भान्साको आन्तरिक सज्जा तयार गरिन्छ ।

भान्सा, अर्थात सम्पूर्ण परिवारको स्वास्थ्यको स्रोत । भान्सामा कस्तो खानेकुरा पाक्छ, परिवारको स्वास्थ्य त्यसैमा निर्भर हुन्छ । तर, हामी भान्साको सरसफाईमा त्यती ख्याल गर्दैनौं । भान्सा, जहाँ गृहणीले अधिकांश समय विताउनुपर्छ । हामीले खानेकुरा खाने थलो पनि त्यही हो ।

परिवारको स्वास्थ्य भान्सामा निर्भर हुन्छ भने भान्साको वातावरण पनि ख्याल नगर्ने ?

भान्सा खुला होस्, जहाँ ताजा हावा आउजाउ गर्न सक्छ । भान्सामा किरा, माकुरा, झिंगा, साङ्लाको संक्रमण नहोस् । भान्सा सुकिलो होस्, जहाँ जीवाणु फैलन सक्दैन । भाँडावर्तन सफा होस् । भान्सामा राखिएका खानेकुरा शुद्ध होस् । विद्युतिय उपकरणलाई पनि सही ढंगले प्रयोग गर्न सकियोस् ।

भान्सामा काम गर्नेको स्वास्थ्य राम्रो होस् । भान्सामा खानेकुरा खाइरहँदा मन प्रफुल्ल होस् । यस्तो पो भान्सा होस् ।

भान्साको वातावरण सफा एवं स्वच्छ बनाउनुपर्छ । यसका लागि भान्साको झ्याल ठूलो अर्थात फराकिलो राख्नुपर्छ, जहाँबाट सजिलै बाहिरको ताजा हावा प्रवेश गर्न सक्छ । भान्साको झ्यालको सम्मुखमा करेसाबारी वा बगैंचा बनाउन सकियो भने अरु काइदा हुन्छ । यसले गर्दा भान्सामा काम गरिरहँदा पनि बाहिरको दृश्यबाट आनन्द लिन सकिन्छ । पर्यावरणिय फाइदा त छँदैछ ।

भान्सामा पनि इनडोर प्लान्ट सजाउन सकिन्छ । यसले भान्साको आन्तरिक सज्जामा त शोभा बढाउँछ नै भान्साको स्वच्छतामा पनि भूमिका खेल्छ । झट्ट हेर्दा पनि सितलता अनुभूत हुन्छ ।

धेरैजसोले बैठक कोठा, सयन कोठालाई जति महत्वकासाथ सजाउने गर्छन्, भान्साका लागि भने उति महत्व दिइरहेका हुँदैनन् । अझ भान्सालाई त विभिन्न सामाग्रीहरु थन्को लगाउने भण्डार जस्तै बनाइन्छ । पुराना एवं थोत्रा, काम नलाग्ने सामाग्रीहरु भान्सामा थुप्रो लगाउने गर्छन् । यसले भान्साको सौन्दर्य बिगार्ने मात्र होइन, भान्साको स्वच्छतामा पनि असर गर्छ । त्यसैले अनावश्यक सामाग्रीहरु थन्को लगाउने ठाउँको रुपमा भान्सालाई प्रयोग नगरौं ।

दैनिक उपभोग्य खानेकुराहरु भान्सामा नै राख्ने गरिन्छ । दाल, चामल, तेल, नुन, मरमसला, तरकारी, फलफूल आदि । यी खानेकुराहरुलाई सही ढंगले व्यवस्थापन गर्न सकिएमा भान्सा आकर्षक देखिन्छ । साथसाथै यि खानेकुराको गुणस्तर पनि कायम रहन्छ । त्यसैले चामललाई कस्तो ठाउँमा राख्ने, तेल कसरी राख्ने, तरकारी कहाँ राख्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

सबै किसिमका खानेकुरा एकै ठाउँ र उस्तै ढंगले राख्दा त्यो नराम्रो देखिने मात्र होइन, खानेकुराको शुद्धता पनि कायम रहँदैन । पुरानो भइसकेको वा प्रयोग गर्न नमिल्ने खानेकुराहरु भान्सामा राख्न हुँदैन ।

प्राय भाँडावर्तन धोइ–पखालेर त्यतीकै राख्ने गरिन्छ । हामीले प्रयोग गर्ने भाँडावर्तन ओसिलो हुन्छ । यसरी भाँडावर्तनलाई ओसिलो राख्दा त्यहाँ जीवाणु फैलने भय हुन्छ ।

सकेसम्म त यस्तो भाँडावर्तन प्रयोग गर्नुपर्छ जो स्वास्थ्यमैत्री होस् । खाना पकाउनका लागि फलामको भाँडावर्तन एकदमै उपयोगी हुन्छ । पानी राख्नका लागि तामाको भाँडो उपयोगी हुन्छ ।

हामी सजिलोका लागि प्लाष्टिकको भाँडावर्तन प्रयोग गर्छौं । सकेसम्म भान्साबाट प्लाष्टिकजन्य भाँडावर्तन हटाउनुपर्छ ।

भान्सामा दिनहुँ फोहोर मैला निस्कने गर्छ । सागसब्जी काट्दा, केलाउँदा त्यसका बोक्रा निस्कन्छ । चिया पकाइसकेपछि त्यसको पत्ती, तरकारीको बोक्रा आदि जस्ता फोहोरलाई सही व्यवस्थापन गर्न सकिएमा राम्रो हुन्छ । व्यवस्थापन गर्न सकिएन भने त्यही फोहोरले भान्सालाई दुषित बनाउँछ ।

भान्सामा आउने जैविक फोहोरलाई छुटै राख्नुपर्छ । यसलाई करेसाबारीमा मलको लागि प्रयोग गर्न सकिन्छ । अन्य फोहोर मिल्काउने डस्बिनमा जैविक फोहोर राख्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment