Comments Add Comment

लुम्बिनी प्रदेशमा व्यावसायिक फूल खेती बढ्दै

प्रविधि र औजारको कमी

तिलोत्तमा–४ डिंगरनगरमा क्षितिज नमूना कृषक समूहले गरेको फूल खेती र समूहमा आवद्ध महिलाहरु ।

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा १० महिला मिलेर गत वर्ष ६ कट्ठामा सयपत्री फूल खेती शुरु गरे । क्षितिज नमूना कृषक समूहमा आवद्ध उनीहरुले त्यसबाट राम्रो आम्दानी लिए ।

फूल बेच्न बजारको समस्या भएन । तिहारमा धेरैले बारीमै आएर फूल किने । एउटा माला १५० रुपैयाँसम्ममा बिक्री भयो ।

पहिलो वर्ष नै राम्रो आम्दानी भएपछि उनीहरुले १५ कठ्ठामा फूल खेती गरेका छन् । समूहकी अध्यक्ष नवीना भण्डारीको अनुभवमा फूल खेतीमा धेरै लगानी चाहिदैन र सजिलो पनि छ । ‘बजारको समस्या पनि नभएकोले हामी उत्साहित भयौं’, उनी भन्छिन्, ‘अब अझै खेती बढाउँछौं ।’

लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा विभिन्न जातका फूल खेती विस्तार भएको छ । अरु बालीबाट भन्दा फूलबाट राम्रो आम्दानी हुने देखेपछि बाँकेदेखि पाल्पा–अर्घाखाँचीसम्मका किसान व्यवसायिक फूल खेतीमा लागेका छन् ।

क्षितिज नमूना कृषक समूहको पौरख देखेर तिलोत्तमामा अन्य महिला समूहले पनि फूलको व्यवसायिक खेती थालेका छन् । नगरपालिकाले नगरभित्र आयातीत र कृत्रिम माला प्रयोगमा रोक लगाएकाले फूल खेती फस्टाएको छ ।

उता पहाडी जिल्ला पाल्पाको रामपुरमा दिलबहादुर थापाले ‘हाम्रो आधुनिक कृषि फर्म’ खोलेर फूल खेती शुरु गरेको दुईवर्ष भयो । ‘अरु खेतीमा भन्दा फूलमा चार गुणा बढी आम्दानी हुँदो रहेछ’, उनी भन्छन्, ‘त्यसैले अहिले पाल्पाका ठाउँ–ठाउँमा व्यवसायिक फूल खेती हुन थालेको छ ।’

रुपन्देहीको गुप्ता नर्सरीले पाल्पाकै तानसेन नगरपालिका प्रभासस्थित रक्साहामा १३ रोपनी जग्गा भाडामा लिएर फूल खेती बिस्तार गरेको छ । पहाड र मधेशको फूल खेतीबाट वर्षमा १५ लाख रुपैयाँ हाराहारी आम्दानी हुन थालेको नर्सरी सञ्चालक राजेश गुप्ता बताउंछन् ।

उता, नेपालगञ्जकी बिन्दु चर्ती मगरले तीन वर्षअघि ६ कठ्ठाबाट शुरु गरेको फूल खेती एक बिघामा विस्तार गर्ने योजना बनाएकी छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघकी कार्यकारिणी सदस्य समेत रहेकी उनी भारतबाट आयात हुने फूल र मालामा कर र क्वारेन्टिन अनिवार्य गरिए नेपालभर फूलखेती सप्रने बताउँछिन् ।

अहिले नेपालभर फूलको खेती र उपभोग बढेको छ । लुम्बिनी प्रदेशका बाह्रै जिल्लामा विभिन्न जातका फूल खेती विस्तार भएको छ । अरु बालीबाट भन्दा फूलबाट राम्रो आम्दानी हुने देखेपछि बाँकेदेखि पाल्पा–अर्घाखाँचीसम्मका किसान व्यवसायिक फूल खेतीमा लागेका छन् ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा २४ जना किसानले एक हेक्टर भन्दा बढी जग्गामा व्यवसायिक फूल खेती गरेका छन् । सयभन्दा बढी कृषक समूह व्यवसायिक फूल खेतीमा छन् । बिरुवा रोपेको तीन महिनामै उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसानहरु फूल खेतीमा आकर्षित भएको निर्देशनालयका कृषि प्रसार अधिकृत अनिल बानियाँ बताउँछन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई वर्ष अघि पुष्प व्यवसाय प्रवद्र्धन सहयोग कार्यक्रम अन्तर्गत बाह्र वटै जिल्लाका एक–एक जना अगुवा किसानलाई एकहप्ते पुष्प खेती तालिम र ५ लाख रुपैयाँका दरले अनुदान दिएपछि व्यवसायिक फूल खेती बढेको निर्देशनालयकी बागबानी विकास अधिकृत सुनैना बराली बताउँछिन् ।

उनका अनुसार, लुम्बिनी प्रदेशको सबै क्षेत्रमा व्यवसायिक फूल खेतीको राम्रो सम्भावना छ । उनी भन्छिन्, ‘त्यसैले अबको तीन वर्षभित्र फूलमा आत्मनिर्भर भएर निर्यात गर्न सकिने गरी योजना बनेको छ ।’

उनका अनुसार, फूल खेती प्रवर्द्धनका लागि प्रदेशको चार उपमहानगरपालिकामा संकलन र बिक्री केन्द्र स्थापना हुन लागेको छ । प्रदेश सरकारले जग्गाको भाडा तिरिदिने, तालिम र अनुदान दिने जस्ता कार्यक्रम ल्याएको बरालीले बताइन् ।

पुष्प खेतीबाट माला र गुच्छा मात्र नभई सुगन्धित तेल, पफ्र्युम लगायत प्रशोधित वस्तु पनि उत्पादन र निर्यात गर्न सकिने भएकाले यो उदाउदो व्यवसाय भएको उनले बताइन् ।

पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष रमेश पाण्डे यो प्रदेशमा वार्षिक २५ करोड रुपैयाँको फूल कारोबार र करिब २० करोड लगानी भएको बताउँछन् । उनका अनुसार प्रदेशमा पुष्प खेतीमा करिब ५ हजार जनाले रोजगारी पाएका छन् ।

तिहारबाहेक विवाह, मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूल खेती गर्ने किसान पनि बढ्दै गएका पाण्डे बताउंछन् । नेपालमा वार्षिक २५ लाख मालाको माग र साढे २ अर्ब रुपैयाँको फूल कारोबार हुने अनुमान छ ।

‘लुम्बिनी प्रदेश फूल खेतीका लागि एकदमै उर्बर छ’, अध्यक्ष पाण्डे भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्विनी प्रदेशमा उत्पादित फूललाई बुद्ध ब्राण्डिङ गरी बौद्धमार्गीहरुमा निर्यात गर्न सकिने सम्भावना बलियो छ ।’

सरकारले किसानलाई उन्नत बिउ, मल, कृषि औजार, जग्गा, सहुलियत ब्याज दरमा ऋण, थोपा सिञ्चाइ, शीत भण्डार, ग्रीन हाउस लगायत प्रविधिमा सहयोग गर्नुपर्ने पुष्प व्यवसायीहरुको माग छ ।

शीत भण्डार नहुँदा उत्पादित फूल भण्डारण गर्न नपाएर नोक्सानी बेहोर्नुपरेको अध्यक्ष पाण्डे बताउँछन् । किसानले परम्परागत ढंगले फूल खेती गर्दा लागत बढी परेर भारतीय फूलसंग प्रतिस्पर्धा गर्न कठीन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment