Comments Add Comment

खतिवडालाई सांसदहरूको प्रश्न : किन अमेरिका जान खोज्नु भएको ?

२७ कात्तिक, काठमाडौं । गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे ।

अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका उनले त्यही बेलामा अमेरिकाका लागि राजदूतमा सिफारिस भए ।   बिहीबार खतिवडालाई संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूले विभिन्न प्रश्न गरे ।

सांसदहरूको प्रश्न थियो–अमेरिका नगइ देशमै बस्छु भन्न किन सक्नुभएन ?’ नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले खतिवडाले नेपालमै बसेर केही गर्छु भन्ने सोच्नुपर्ने बताए । ‘देश कोरोना भाइरसको चपेटामा परिरहेका बेला तपाईंले अमेरिका जान्न भन्न सक्नु पर्दथ्यो’ प्रधानले भने ।

खतिवडालाई बौद्धिक व्यक्तिको संज्ञा दिदै पूर्वरक्षामन्त्री समेत रहेका सांसद प्रधानले भने, ‘कोभिडको बेला तपाई जस्तो ज्ञान भएको मान्छेको आवश्यकता देशलाई छ, तपाईंको ज्ञान, सीप र क्षमता कोरोना नियन्त्रणमा लगाउनु पर्ने थियो, तपाईले प्रधानमन्त्रीको सल्लाहकार भएर काम गर्न सक्नु हुने थियो ।’

अर्का सांसद राजेन्द्र श्रेष्ठले त एकै व्यक्तिले सधै पदमा आसिन भइरहनु गलत भएको उनले बताए । समावेशी र समानुपातिक केहि नभएको, सधै पदमा बसिरहनु पर्ने किन ? भनेर सांसद श्रेष्ठले प्रश्न गरे । उनले संसदीय समितिमा परेका उजुरीहरूको पनि स्पष्ट जवाफ दिन माग गरे ।

‘तपाईको कार्यकालमा राष्ट्र बैंक सरकारको मतियार बन्यो, बैंक घोटाला काण्डमा निर्दोष मान्छे पनि तपाईकै कार्यकालमा फसेको भन्ने उजुरी छ’ उनले भने, ‘तपाईं गभर्नर भएकै बेला राष्ट्र बैंकमा कमजोरी भए । संघीयता कार्यान्वयनका सन्दर्भमा पनि तपाईको कमजोरी देखियो ।’

सांसद् श्रेष्ठले अर्थमन्त्री हुँदा कोरोना नियन्त्रणका लागि राम्रो बजेट ल्याउन पनि नसकेको भन्दै खतिवडाको आलोचना गरे । ‘तपाईले ल्याएको बजेट कोभिड केन्द्रित हुन सकेन, स्वास्थ्यमा १० प्रतिशत बजेट पनि आउन सकेन’ उनले भने, ‘तपाईले ल्याएको बजेट कार्यान्वयनका लागि भूमिका खेल्छु पनि भन्न सक्नु हुन्थ्यो, किन अमेरिका जान खोज्नु भएको ?’ उनले खतिवडालाई आफू अमेरिका जाने आउने गरिरहेका कारण पनि मरिहत्ते गर्न नहुने बताए ।

सांसद जितेन्द्र नारायण देवले प्रधान र श्रेष्ठको भनाइमा समर्थन जनाए । अहिले प्रधानमन्त्रीलाई खतिवडाको आवश्यकता भएको भन्दै देवले अमेरिका जान्न भन्न खतिवडाले सक्नु पर्ने बताए । प्रधानमन्त्रीले पनि सिफारिस गर्ने निर्णय गर्नु गलत भएको उनले बताए ।

‘दूरगामी सोच्नु भएन प्रधानमन्त्रीले विचार गर्नुपर्थ्‍यो, प्रधानमन्त्रीले तपाईका लागि लक्ष्मण रेखा काटेर पनि बोल्नुभयो’ उनले भने, ‘तपाई मेरो पुरानो मित्र हो, तपाईको बारेमा धेरै जान्दछु अहिले प्रधानमन्त्रीका लागि तपाईको आवश्यकता थियो । मलाई राजदूत पद चाहिँदैन नेपालमै बस्छु भन्न सक्नुपर्थ्यो ।’

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले नेपाललाई मागिखाने देशको रुपमा नचिनाउन आग्रह गरिन् । ‘माछा मारेर दिने कि जाल दिएर माछा मार्न लगाउने ?’ उनले भनिन्, ‘सुनको कचौरा लिएर भिख माग्ने देश नेपाल भनेर सुन्नुपर्छ, यसरी माग्नु भएन ।’

सांसद सुरेन्द्र पाण्डेले त एनसेललाई कर तिर्नबाट जोगाउन भूमिका खेलेको जस्तो देखिएको भन्दै यसबारे प्रष्ट पार्न भने । ‘सर्वाेच्चको आदेशको विपक्षमा एनसेल ठूलो अदालतमा गएको छ तर तपाईंले प्रतिवाद नदिने भन्ने भएको छ रे ?’ उनले भने, ‘यदि यस्तो हो भने देशलाई अर्बौ घाटा लाग्छ, यसबारे प्रष्ट पार्नुपर्‍यो ।’

खतिवडाले अर्थमन्त्रीको पदभार ग्रहण पछि जारी गरेको श्वेतपत्रका विषयमा पनि पाण्डेले औला उठाए । त्यसबेला आर्थिक वृद्धिदर राम्रो हुँदा पनि अर्थतन्त्र डामाडोल भएको श्वेत पत्र जारी भएको भन्दै उनले अहिलेको अवस्था के हो त उसो भए भनेर प्रश्न गरे ।

पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले क्यापिटल मर्चेन्ट बैंक घोटाला काण्डमा पनि निर्दोष फसेको भन्दै यस विषयमा पनि प्रष्ट पार्न भने । पाण्डेले अर्थमन्त्री हुँदा पारित गराउन नसकेको एमसीसीमा अब तपाईको के भूमिका खेल्नुहुन्छ ? भनेर समेत प्रश्न गरे ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबेला ल्याएको श्वेतपत्रका कारण खतिवडाको तपाईंको विश्वसनीयता गुमेको बताए । एनसेललाई जोगाउन पनि भूमिका शंकास्पद देखिएको भन्दै उनले खतिवडालाई आफ्नो भूमिका प्रष्ट पार्न भने ।

‘एनसेलले हालेको मुद्दाका बारेमा हामीले प्रतिनिधि नपठाउदा हामील मुद्दा हार्छौ, हार्दा ठूलदो नोक्सानी देशलाई हुन्छ’ पूर्व अर्थमन्त्रीसमेत रहेका कार्कीले भने, ‘तपाईंको भूमिका छ कि छैन ?’ एमसीसी पारित गराउनु पर्ने आवश्यकता रहेको भन्दै उनले यसमा अब तपाईंको भूमिका के हुन्छ ? भनेर पनि सोधे ।

जिम्मेवारी निभाएको हुँ, पद माग्न गएको होइनः डा. खतिवडा

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै खतिवडाले आफूलाई अमेरिका जानु बस्नु कुनै नयाँ कुरा नभएको बताए । उनले सरकारले जिम्मेवारी दिन लागेका कारण जिम्मेवारी पूरा गर्न मात्रै चाहेको बताए । खतिवडाले आफ्ना लागि अमेरिका स्वर्ग नभएको बताए । उनले मलाई राजदूत बनाइदिनोस् भनेर कसैसँग नमागेको पनि दावी गरे ।

उनले अहिले मात्रै होइन पहिला पाएका नियुक्तिहरुमा पनि मलाई नियुक्त गरिदिनुस् नभनेको बताए । ‘म थोरै बोल्ने धेरै काम गर्ने मान्छे हो, बजेट पनि मैले पहिलो वर्ष यही भएर छोटो बनाएँ तर आलोचना भए पछि बढाउनु पर्‍यो’ उनले भने, ‘मेरो बढुवामा मैले आग्रह गरे होला तर राजनीतिक नियुक्तिमा मैले मलाई नियुक्ति दिनुपर्‍यो भनेर मागेको छैन ।’

घोटाला काण्डमा आफ्नो संलग्नताबारे प्रश्न उठेपछि खतिवडाले ती सबै गलत भएको बताए । ‘व्यक्तिगत कमजोरी होलान् नैतिक र आर्थिक कमजोरी छैनन्’ उनले भने । मर्चेन्ट बैंक घोटाला काण्डमा निर्दोष व्यक्ति फसेको हुनसक्ने भने उनले स्वीकार गरे । तर व्यवहारिक नभई कानूनी हिसाबले हेर्नु परेकाले आफूले केहि गर्न नसकेको उनले बताए ।

एमसीसीका विषयमा उठेका प्रश्नहरुमा भने उनले अब पहिलेको भन्दा अलि फरक भूमिका हुने बताए । अर्थमन्त्री हुँदा आफूले पारित गर्न प्रयास गरेको बताएका उनले अब भने पहिलेकै जस्तो अवस्था नहुने बताए । पहिले आफैले गरेपनि अब भने परराष्ट्र मन्त्रालयले जे निर्देशन दिन्छ आफूले त्योमात्रै गर्नसक्ने बताए । एमसीसीका प्रतिनिधिहरू भने अहिले पनि आफ्नो नियमित सम्पर्कमा रहेको भन्दै उनले केहि अस्पष्ट विषयमा छलफल हुने बताए ।

यो पनि पढ्नुहोस प्रस्तावित राजदूत डा. खतिवडा भन्छन् : एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment