Comments Add Comment

अपराध अनुसन्धानमा प्रहरीको सहयोगी लैला

३० कात्तिक, विराटनगर । असोज पहिलो साता सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीय बालिकका मीना राईको घरमै हत्या भयो । आमाबुबा छिमेकीको घरमा धामी हेर्न गएको अवस्थामा उनको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले १ नम्बर प्रदेश प्रहरी कुकुर शाखा धरानबाट ट्र्याकिङ डग लैलालाई घटनास्थलसम्म लग्यो । प्रहरी र स्थानीयको शंका छिमेकी १६ वर्षीय बालकमाथि थियो । १ नम्बर प्रदेश प्रहरी कुकुर शाखा धरानबाट ट्याकिङ डग लैला घटनास्थलबाट बाटो पैल्याउँदै १६ वर्षीय युवककै घर पुग्यो । पक्राउ परेका युवकले हत्या गरेको स्वीकार गरे ।

२९ असोजमा इलामको माई नगरपालिका–१ का ४६ वर्षीय पुष्पलाल राईको शव भेटियो । प्रहरीले अनुसन्धानका लागि ट्याकिङ डग लैलालाई लग्यो र उनजकै मद्दतबाट स्थानीय ४५ वर्षीय पदमबहादुर राई पक्राउ परेका छन् ।

गत वर्ष कात्तिक तेस्रो साता उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा १३ वर्षीय एन्जिला  खड्काको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटियो । जंगलमा शव भेटिएकाले अनुसन्धानका लागि १ नम्बर प्रदेश प्रहरी कुकुर शाखा धरानका इन्चार्ज सई दयानन्द श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पुग्यो । साथमा ट्र्याकिङ डग लैला पनि थियो । घटना स्थल पुगेको लैला घटनास्थलबाट करिब १ किलोमिटर टाढा रहेको घरमा पुगेर रोकियो ।

लैलाले स्थानीय प्रहरीलाई पनि शंका लागेको व्यक्तिको घरलाई संकेत गरेपछि शंकास्पद पाँचजना पक्राउ परे, जसमध्ये दुईजनाले बलात्कारपछि हत्या गरेको स्वीकार गरे ।

लैला प्रदेश १ मा रहेको अब्बल ट्र्याकिङ डग हो, जसले प्रहरीलाई थुप्रै घटनाको अनुसन्धानमा सघाएको छ ।

नेपाल प्रहरीको केनाइन महाशाखा र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको मातहतमा रहने कुकुर शाखा धरानमा तालिम प्राप्त कुकुर राखिएको छ । ट्रयाकरमा २, बिस्फोटक पदार्थमा ३, लागुऔषधमा ३ र रेस्क्युमा एउटा दक्ष कुकुर छन् ।

जर्मन सेफर्ड, लाब्राडोर र गोल्डेन रिट्रिभर जातका कुकुरमध्ये बिस्फोटक पदार्थ बिधाको ज्याक र लागुऔषको बिधाको लुना र लुसी विराटनगर विमानस्थलमा छन् ।

२०४७ मा स्थापना भएको कुकुर शाखामा प्रहरी नायब निरीक्षकको कमाण्डमा ९ जना प्रहरी कार्यरत छन् । अनुभवी प्रहरीले त्यहाँ राखिएका कुकुरहरुलाई दैनिक तालिम, सरसफाई, खानपान र फिल्डमा लैजाने गर्छन् ।

गम्भीर प्रकृतिको घटनाहरुमा अपराधी पहिचान गर्न ट्र्याकिङ डग प्रयोग हुने सई दयानन्द श्रेष्ठले बताए । मानिसभन्दा ५ गुना बढी सुध्ने शक्ति भएका तालिमप्राप्त कुकुरले घटना भएको २४ घण्टाभित्रै अनुसन्धानमा खटाउँदा कम्तीमा ८६ प्रतिशतसम्म सफलता प्राप्त गर्न सक्ने प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रदेश १ मा लैला, पिकु, लुना, लुसी र ज्याकसहित बिस्फोटक पदार्थ बिधाका सिमा र पिड्की, लागुऔषध बिधामा सिना र रेस्क्यु बिधामा एक्सभेना नाम गरेका कुकुर छन् । ९ वटै कुकुरलाई ‘डग ह्यान्डलर’ कुकुर हेर्ने प्रहरीले बिहान आधा घण्टा पिटी खेलाउछन् । खाजापछि विषयगत तालिम दिइन्छ । १० बजे खाना दिइन्छ । कुकुरलाई दैनिक तालिम दिइन्छ ।

एउटा कुकुरलाई एक जनाले ह्यान्डल गर्ने श्रेष्ठले बताए । उनका अनुसार कुकुरलाई जसले तालिम दियो, उसैले मात्र प्रयोग गर्नसक्छ ।

दैनिक तालिमका क्रममा कुकुरहरुलाई लागुऔषध र बिस्फोटक पदार्थ जस्ता कुरा लुकाइन्छ र खोज्न लगाइन्छ । ह्यान्डलरले तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । ट्रयाकिङ विधामा कुकुरलाई दक्ष हुन एक वर्ष लाग्छ । अन्य विधामा भने ६ महिनामा तयार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment