Comments Add Comment

ओलीमाथि प्रचण्डले लगाएको आरोपको जवाफ संसद र सडकबाट माग्छौं : गगन थापा

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप अब नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रचण्डले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनमा ओलीमाथि लगाएका आरोप राष्ट्रिय सरोकारको विषय भएको बताएका हुन् ।

‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रुपमा लिने भूल कम्तीमा प्रतिपक्षले गर्नेछैन’ थापाले भनेका छन् ।

थापाले प्रचण्डले आफ्नै पार्टीका तर्फबाट बनेका प्रधानमन्त्रीको सन्दर्भमा उठाएका एकएक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने पनि बताएका छन् ।

सरकारमाथि नेकपाकै अध्यक्ष प्रचण्डले उठाएका प्रश्न नेकपाभित्रको कुरा मिल्दैमा अब फिर्ता नहुने पनि उनले बताएका छन् ।

‘…प्रधानमन्त्री ओलीको अर्थात् नेकपाको एकल नेतृत्वको सरकार सञ्चालन गर्दा देखिएको अनियमितता, भ्रष्टाचार, अपराध, कुशासन लगायतमा नेकपाको अध्यक्षले आफ्नो पार्टीको प्रम र सरकारको बारेमा जे ठहर गर्नुभएको छ अब दुई अध्यक्षको मन-मुटु मिल्दैमा, गुटहरू जोड्दैमा, कोही आएर रातारात मिलाइदिँदैमा अनि एक भयौँ भनेर हात मिलाउँदैमा, आत्म आलोचना गर्दैमा अनि प्रस्ताव फिर्ता लिँदैमा सकिने विषय होइनन्, सकिँदैनन् । यस्ता विषय बैठकमा मन पखालेर पखालिँदैन, अव बिर्सौँ भनेर बिर्सिइँदैन । यी सार्वजनिक चासो र राष्ट्रिय सरोकारका विषय हुन् र यी विषयको उत्तर आरोपीले दिनुपर्छ, आरोप लगाउनेले दिनुपर्छ, प्रधानमन्त्रीले दिनुपर्छ, नेकपाले दिनुपर्छ’ थापाले भनेका छन् ।

उनले भारतीय गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरूले चिनिया राजदूतसँग गरेको भेटघाट समेतका बारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने बताएका छन् ।

गत शुक्रबार सचिवालय समितिमा प्रतिवेदन पेस गर्दै नेकपा अध्यक्ष प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा गम्भीर त्रुटि गरेको भन्दै विभिन्न आरोप लगाएका थिए ।

उनले वाइड बडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ्स सँगको अपारदर्शी र शंकास्पद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नु पूर्व गोप्य राख्नुपर्ने करको दर रेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेको आरोप ओलीमाथि लगाएका थिए ।

त्यस्तै कोरोना महामारी विरुद्ध राष्ट्रिय एकताको साथ अगाडि बढ्नु पर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर ओलीले राजनीतिक विवाद सिर्जना गरेको, कानुनसम्मतको विपद् व्यवस्थापनको राज्य संयन्त्रलाई निष्क्रिय तुल्याएको, राष्ट्रियतासंग सम्बन्धित विभिन्न विषयमा अनेक पटक फितलो देखिएको, विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीति संग मेल नखाने व्यवहार देखाएको जस्ता आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment