+
+

उद्योग वाणिज्य महासंघको चुनावको वैधानिकतामाथि प्रश्न उठाउँदै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ४ गते १८:३८

४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको पदको वैधानिकता माथि नै प्रश्न उठाउदै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

राणा नेतृत्वको समितिको पदावधी २८ चैत २०७६ मै सकिएको र वैधानिक व्यवस्था अनुसार राणा अवैधानिक अध्यक्ष रहेको उजुरीमा दावी गरिएको छ ।

महासंघका प्रदेश २ का अध्यक्ष शिवशंकर शाह हिराले दिएको उजुरीमा पदावधी सकिएपछिको कार्यसमितिले गरेको निर्णय मान्य नहुने भन्दै मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुने साधारणसभा तथा निर्वाचन रोक्न समेत माग गरिएको छ ।

चैत २८ गते पदावधी सकिएसँगै राणा नेतृत्वको कार्यसमिति स्वतः पदमुक्त भइसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरेर निर्वाचन गर्नुपर्ने प्रदेश अध्यक्ष शाहले दावी गरेका छन् ।

उनले उजुरीमा भनेका छन्, ‘२८ चैतमै पदावधी सकिएको समितिले गरेका निर्णयहरु सबै अवैध हुन्, अब तदर्थ समिति गठन गरी पुनः निर्वाचन मिति तय गरिनुपर्छ ।’

राष्ट्रिय निर्देशन ऐन, २०१८ अनुसार दर्ता भएका कारण अवैधानिक तरिकाले महासंघ अघि बढे सरकारले हस्तक्षेप गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले भने उजुरीका विषयमा निर्णय हुन बाँकी रहेको बताएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उक्त उजुरीका विषयमा के गर्ने भन्ने विषयमा छलफल भएपछि मात्र बोल्ने बताए ।

उजुरीकर्ता साहले आउँदो साधारणसभामा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष किशोर प्रधानलाई सहयोग गर्ने अनलाइनखबरसँग बताएका थिए ।

वरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्याशी चन्द्र ढकाल पक्षका एक व्यवसायीले चुनाव हार्ने डरले प्रधान पक्षले उजुरी दिएको हुनसक्ने जिकिर गरे । ‘उजुरी त पर्‍यो तर यसको कुनै अर्थ छैन, यो त केवल चुनाव हार्ने भयमात्रै हो’ ती व्यापारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?